१८ वर्षमै परिवार नियोजन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
१८ वर्षमै परिवार नियोजन !

सारांश

  • काठमाडौं, ११ फागुन- १३ वर्षमा बिहे, १४ वर्षमा पहिलो र १७ मा दोस्रो सन्तान- कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ ।
  • तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् ।
  •  आजको नयाँ पत्रिका दैनिकमा डोटीबाट कर्ण चन्दले खबर लेखेका छन् ।

काठमाडौं, ११ फागुन- १३ वर्षमा बिहे, १४ वर्षमा पहिलो र १७ मा दोस्रो सन्तान- कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ । तर, डोटीकी एक किशोरीले १८ वर्षमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन् । आजको नयाँ पत्रिका दैनिकमा डोटीबाट कर्ण चन्दले खबर लेखेका छन् ।

बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले ६ फागुनमा बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले उनकै गाउँमा शिविर चलाएको थियो ।

१३ वर्षमै उनको विवाह भएको थियो । १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएको उनले बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ उनले भनिन् ।

सानै उमेरमा बिहे गर्नुहुँदैन भन्ने थाहा नभएको उनले बताइन् । आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भएको उनले सुनाइन् । ‘सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो,’ मनीषाले भनिन्, ‘धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनेर समयमै बन्ध्याकरण गरेकी हुँ ।’

सानै उमेरमा बन्ध्याकरणका लागि आएको देख्दा जिल्ल परेको जिल्ला अस्पताल डोटीका डा. गिरिश अवस्थीले बताए । ‘सुरुमा त आफन्तको बन्ध्याकरणका लागि साथमा आउनुभएको होला जस्तो लागेको थियो,’ डा. अवस्थीले भने, ‘उहाँले आफ्नै बन्ध्याकरण गराउन आएको बताएपछि अचम्म लाग्यो ।’

बन्ध्याकरण गर्नेमा महिला धेरै
डोटीमा सञ्चालन गरिएको शिविरमा बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला धेरै रहेको अस्पतालको तथ्यांक छ । जिल्लाका १२ स्थानमा भएको शिविरमा एक सय ५९ महिला तथा ६५ पुरुषले स्थायी बन्ध्याकरण गरेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर कपिलदेव जोशीले बताए । बन्ध्याकरण गर्ने अधिकांश महिला ३० देखि ३५ वर्षको रहेको उनले बताए ।

पुरुषहरू इच्छा नदेखाउने भएकाले महिलाले बन्ध्याकरण गर्ने गरेको उनको भनाइ छ । शिविरमा आएका महिलाका भनाइ उद्धृत गर्दै जोशीले भने, ‘श्रीमान् भारतमा काम गर्न जाने र बलियो काम गर्नुपर्ने भएका कारण बन्ध्याकरण गर्न मान्नुहुन्न, त्यसैले हामी आएका हौँ भन्ने गरेका छन् ।’

२० वर्षमुनिका एक हजार गर्भवती
डोटीमा २० वर्षमुनिका एक हजार १६ जना महिला गर्भवती रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । गत वर्ष तीन हजार सात सय ३६ जना महिला गर्भवती भएका थिए ।

सानै उमेरमा विवाह गरेका उनीहरूका स्वास्थ्य समस्याको जोखिम उच्च रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सतिश विष्टले बताए । उनले भने, ‘बालविवाह ठूलो चुनौतीका रूपमा रहेको छ ।’ यसले महिलाको स्वास्थ्यमा मात्रै नभएर सामाजिक तथा आर्थिक रूपमा पनि असर पारिरहेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?