प्रहरीले जाजरकोटमा भेटायो बन्दुक र गोली, किन राखिए अवैध हतियार ?
सारांश
- जाजरकोट, १८ फागुन ।
- जनीचाँदे गाउँपालिका– ११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहीबार जुनीचाँदे गाउँपालिका– ११ कोर्ताङका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले ३ थान, भरुवा बन्दुक दुई नाले १ थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान तथा गोली बरामद गरिएको हो ।
जाजरकोट, १८ फागुन । जनीचाँदे गाउँपालिका– ११ कोताङमा प्रहरीले ९ थान बन्दुक र ३१ राउन्ड गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बिहीबार जुनीचाँदे गाउँपालिका– ११ कोर्ताङका चन्द्रबहादुर शाही र उनका छोरा नेत्रबहादुर शाहीको घरमा लुकाइराखेको अवस्थामा भरुवा बन्दुक एक नाले ३ थान, भरुवा बन्दुक दुई नाले १ थान, बाह्रबोर बन्दुक २ थान र एयर गन सानो ठूलो गरी ३ थान तथा गोली बरामद गरिएको हो ।
शाहीको घरमा बन्दुक तथा गोली लुकाइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दा उक्त हतियार र गोली एवं जंगली जनावरका छाला अंगसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक भावेस रिमालले बताए । उनका अनुसार प्रहरीले हतियारसँगै ३१ राउन्ड गोली र विभिन्न विस्फोटक पदार्थसमेत बरामद गरेको छ ।
प्रहरीका अनुसार ८ थान डेटोनेटर, पटकामा प्रयोग गरिने केप १५ बट्टा, २ केजी बारुद र जंगली जनावरको छाला ३ थान, सिङ ११ थान र नङ र दाँत २२ थान पनि बरामद गरिएको छ ।
शाहीका बाबुछोरा दुबैलाई प्रहरी नियन्त्रणमा राखेर हातहतियार तथा खरखजनाअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको प्रहरी प्रमुख रिमालले बताए । कुन प्रयोजनका लागि ती हतियार राखिएका थिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको भए तापनि चोरी शिकार गर्नका लागि हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया