एममालेमा राष्ट्रपति छान्न चुनाव भयाे भने कस्काे पक्षमा कती मत?
सारांश
- काठमाडाै,२२ फागुन ।
- आज ४ बजे बस्ने सत्तारुढ एमालेको स्थायी समिति बैठकले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने भएपछि नेताहरुबीच दौडधुप तीब्र बनेको छ।
- राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पक्षमा पहल बढाएका छन्।
काठमाडाै,२२ फागुन । आज ४ बजे बस्ने सत्तारुढ एमालेको स्थायी समिति बैठकले राष्ट्रपतिको उम्मेदवार चयन गर्ने भएपछि नेताहरुबीच दौडधुप तीब्र बनेको छ। राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पक्षमा पहल बढाएका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिमा भण्डारीलाई नै निरन्तरता दिने पक्षमा रहँदा पनि बरिष्ठ नेता खनाल पछि हटेका छैनन्। अघिल्लो पटक भण्डारी एमालेबाट सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार चयन भएकी थिइन भने यसपाली अन्तिम समयसम्म पनि नेताहरु दुई समूहमा बाँडिएका छन्।
सार्वजनिक रुपमै आफू राष्ट्रपतिका लागि इच्छुक रहेको बताइरहेका खनालले आफ्नो नाम राष्ट्रपतिमा प्रस्ताव गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका छन्। केही दिनअघि एसियाली राजनीतिक पार्टीहरूको संगठन आइक्यापसम्बन्धी छलफल गर्न बालुवाटार पुगेका बेला खनालले ओलीसँग यस्तो आग्रह गरेका थिए।
‘पार्टी महाधिवेशनका बेला पनि एक प्रकारको भद्र सहमति भएकै हो, मैले अघिल्लो पटक तपाईंलाई केही भनिनँ, यसपटक तपाईंले नै राष्ट्रपतिमा मेरो नाम प्रस्ताव गर्नूस्’, बालुवाटार स्रोतका अनुसार खनालले यस्तो आग्रह गर्दा अध्यक्ष ओलीले केही जवाफ फर्काएनन्।
आइतबार साँझ खनाल र उपाध्यक्ष वामदेव गौतमबीच खनाल निवास डल्लूमा दुई घण्टा छलफल भएको थियो। महाधिवेशनमा ओलीलाई अध्यक्ष जिताउन सक्रियतापूर्वक लागेका गौतम अहिले उनीसँग असन्तुष्ट छन्।
यसपटक माधव नेपालले खनालको नाम प्रस्ताव गरेर मतदान हुने स्थिति आएमा आफूले सघाउने बचन गौतमले खनाललाई दोहोर्याएको स्रोतहरूले बताएका छन्।
‘मैले तपाईंलाई पहिला पनि सहयोग गरेको हुँ, यसपटक पनि गर्छु तर, तपाईंको नाम म प्रस्ताव गर्दिनँ’, गौतमले खनाललाई भने, ‘माधव कमरेडले मतदानमा लैजाने स्थिति बनाउनुभएछ भने म समर्थन गर्छु।’
राष्ट्रपतिका बारेमा के गर्ने भन्नेबारेमा खासै मुख नखालेका बरिष्ठ नेता नेपालमाथि दोहोरो दबाब परेको छ। अध्यक्ष ओलीले भण्डारीलाई सहयोग गर्न आग्रह गरेका छन् भने खनाल पक्षधर नेताहरुले खनाललाई सहयोग गर्न दबाब दिइरहेका छन्।
पार्टीको भावी नेतृत्वमा आउने इच्छा पालेर बसेका नेपालले भने दुबै पक्षलाई केही भनेका छैनन्।
गत महाधिवेशनमा आफू निकट नेता कार्यकर्तालाई नेपालको टीमबाट उम्मेदवार बनाएपछि अन्तिम समयमा ‘तटस्थ’ बस्ने भन्दै राष्ट्रपतिकै लोभमा ओलीलाई सघाएको भन्दै खनालसँग नेपाल सन्तुष्ट छैनन्।
नेपाल निकट एक नेताले भने, ‘त्यसैले पनि उहाँले मुख खोल्नुभएको छैन।’
प्रदेशका मुख्यमन्त्रीमा ओली समूहले एकलौटी गरेपछि आत्तिएका नेपाल समूहका नेताहरुले आपसमा एकजुट हुने प्रयास पनि गरेका छन्। विगतमा खनालसँग चिढिएका भीम आचार्यदेखि महासचिव ईश्वर पोखरेलसँग लहसिएका गोकर्ण विष्टसमेत ‘टीम बलियो भएन भने केही नहुने रहेछ’ भन्दै सक्रिय बनेको नेपाल समूहका एक नेताले बताए।
यसका लागि जीवनराम श्रेष्ठ, गरिमा शाह, ममता गिरी, जयन्ती राई, माधव अर्याल, सुरेन्द्र मानन्धर, रचना खड्कालगायतका युवा नेताहरुले पहल गरेको बताइन्छ।
२२ सदस्यीय एमालेको स्थायी समितिमा मतदान भएमा झलनाथ खनालको पक्षमा बहुमत अर्थात् १२ मत जुट्ने सम्भावना छ। तर त्यसका लागि नेपाल, गौतम र खनाल मिल्नु पर्नेछ। गौतम र उनी निकट किरण गुरुङले साथ दिएमा अध्यक्ष ओली अल्पमतमा पर्नेछन्।
तर राष्ट्रपतिको विषयअमतदानमा नलगेरै टुंग्याउने प्रयास भइरहेको छ।
भण्डारीका पक्षमा अध्यक्ष ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, सुवास नेम्वाङ, मुुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डल छन् भने खनालका पक्षमा खनालसहित माधव नेपाल, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र किरण गुरुङ उभिने संभावना छ।
उता शीतल निवासबाट विद्या भण्डारीले पनि आफ्नो निरन्तरताका लागि सक्रियता बढाएकी छन्। उनले उपाध्यक्ष गौतमलाई उनी निकट नेताहरुमार्फत प्रभावित पार्ने कोसिस गरिरहेकी छन् भने कोटेश्वरमा पनि नियमित रुपमा दूतहरु पठाइरहेकी छन्।
राष्ट्रपतिमा भण्डारीलाई सर्वसम्मत उम्मेदवार बनाउन उपमहासचिव विष्णु पौडेल सक्रियतापूर्वक लागेका छन्। उनले यसबीचमा माधव नेपाल र वामदेव गौतमसँग भेटेर छलफल गरेका छन्।
एमालेसँग पार्टी एकताको अन्तिम चरणमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन्। एमालेभित्रको समूहगत चलखेलमा चासो नदिएजस्तो देखिएपनि अन्तिम समयमा दाहालले भण्डारीको पक्षमा पहल बढाउन सक्नेछन्।
बामदेव गौतमसँग राम्रो सम्बन्ध भएका दाहालको प्रयास भण्डारी र ओलीका लागि अन्तिम अस्त्र हुन सक्नेछ। त्यसैले खनालको तीब्र इच्छाका बाबजुद एमाले स्थायी समितिले भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने संभावना बलियो छ।
नेपालखबर बाट ।
Shyam Tamang Tamang
Arko lai pani diuna palo kasto saskar hou hamro ekalkate