युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
युएईमा मनोज गजुरेलको चर्तिकला, किन यस्तो गरे ? (भिडियो)

सारांश

  • युएई, माघ २० ।
  • बिहीबार साँझको समयमा नेपालीहरुको चहलपहल बढ्दै थियो ।
  • आबुधाबी मुसफास्थित अल अहलिया अस्पतालको सभाहलमा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले देशको वर्तमान राजनीतिलाई कविताबाट व्यंग्य गरे ।

युएई, माघ २० । बिहीबार साँझको समयमा नेपालीहरुको चहलपहल बढ्दै थियो । आबुधाबी मुसफास्थित अल अहलिया अस्पतालको सभाहलमा सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले देशको वर्तमान राजनीतिलाई कविताबाट व्यंग्य गरे ।

उनको कवितामा रमाइरहेका सहभागीका बीचमा उद्घोषकले योग गुरु रामदेवलाई स्टेज बोलाए । यहाँ कार्यरत नेपालीलाई योगका बारेमा जानकारी गराउन रामदेवको भेषमा स्टेजमा थिए, कलाकार मनोज गजुरेल ।

रामदेवलाई प्रश्न सोध्ने पत्रकारको भूमिकामा देखिएका गायक प्रकाश पौडेलले युएईमा रहेका नेपालीका बारेमा प्रश्न गर्दा गजुरेलले चोटिलो व्यंग्य गरे । उनले हुण्डी कारोबार, भिजिट भिषामा ल्याएर अलपत्र पार्ने गिरोहदेखि दूताबासका कर्मचारीलाई व्यंग्य गर्न भ्याए ।

त्यो बेला कार्यक्रम हलमै थिए, राजदुत सागरप्रसाद फुयाल, श्रम परामर्शदाता भेषराज कार्की र श्रम सहचारी मोतिराम भूषाल ।

त्यस्तै, नागरिक कवि अर्जुन पराजुलीले चोटिला कविता सुनाएका थिए । डा. रवीन्द्र पाण्डेले परदेशमा खानपानका कारण स्वास्थ्यमा हुने समस्या र सचेत रहने उपायका बारेमा चर्चा गरे ।

विदेशमा कार्यरत श्रमशील नेपालीहरुप्रति समर्पित सिस्नोपानी नेपालको ‘दुईथोपा हाँसो’ हास्यव्यंग्य यात्रा लिएर उक्त टोली युएई आएको हो ।

यहाँ कार्यरत श्रमिक नेपालीहरुका क्याम्पमा गएर मनोरञ्जन, स्वास्थ्य र नेपालीबीचको सद्भावलाई निःशुल्क हास्यव्यंग्ययबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्यका साथ कलाकार मनोज गजुरेल, सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, महासचिव टंक आचार्य, नागरिक कवि अर्जुन पराजुली र डा. रवीन्द्र पाण्डेको टोली अहिले युएईमा छ ।

नेपाली राजदूताबास आबुधाबीको संयोजन तथा सिस्नुपानी नेपाल र गैरआवासीय नेपाली संघ युएईको संयुक्त आयोजनमा अबुधावी, दुबई, शारजाह, अलएन र फुजेरा राज्यमा सचेतना मुलक हास्यव्यंग्य कार्यक्रम हुने एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए ।

हास्यव्यंग्य यात्रा टोलीले फेब्रअरी ५ तारिखसम्म युएईमा कार्यक्रम सञ्चालन गर्ने छ । त्यसपछि ९ देखि ११ तारिख बहराइन, १६ देखि १८ तारिख ओमनमा कार्यक्रम रहने कलाकार मनोज गजुरेलले बताए ।

परदेशमा रहेका नेपालीहरुको श्रमको सम्मान गर्दै उनीहरुलाई कर्मभूमिमा नियमको पालना, स्वास्थ्य चेतना, विमाका बारेमा जानकारी गराउने र रेमिट्यान्सकै माध्यमबाट देशमा पैसा पठाउन आग्रह गरिने गजुरेलले शुभदिनलाई बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?