गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
गिरिजाप्रसाद कोइरालालाई बिर्सन थाल्यो कांग्रेसले

सारांश

  • काठमाडौं : आठ वर्षअघि कांग्रेसको सभापतिकै रूपमा गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो।
  • बुधबार उनको स्मृति दिवस मनाइरहँदा कांग्रेसले यो अवधिमा अर्का दुई नेतालाई सभापतिको रूपमा पाइसकेको छ।
  • आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

काठमाडौं : आठ वर्षअघि कांग्रेसको सभापतिकै रूपमा गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो। बुधबार उनको स्मृति दिवस मनाइरहँदा कांग्रेसले यो अवधिमा अर्का दुई नेतालाई सभापतिको रूपमा पाइसकेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कोइरालाको निधनपछि उनकै परिवारिक विरासत धान्दै सुशील कोइरालाले पार्टीको बागडोर सम्हाले। अढाई वर्षअघि उनको पनि सभापति रहँदै निधन भएपछि पार्टी शेरबहादुर देउवाको हातमा गएको छ। देउवा १३ औं महाधिवेशनबाट सभापति चयन भएका हुन्।

नेपाली राजनीतिको पछिल्लो परिवर्तनको नेतृत्व गरेपछि गिरिजालाई सबैले आ–आफ्नै ढंगले सम्मान दिने गरेका छन्। ०४६ को परिवर्तनपछि लगातार पार्टीमा हाबी बनेका उनी विवादमुक्त भने थिएनन्। उनी सभापति रहँदै विवाद चुलिँदा देउवाले नयाँ पार्टी खोलेका थिए।

हालैको निर्वाचनमा कांग्रेसले पराजय व्यहोरेपछि देउवानिकटस्थले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा पहिलो संविधानसभामा कांग्रेसले व्यहोरेको हारसँग तुलना गर्ने गरेका छन्। निर्वाचन परिणामपछि तीव्र आलोचना हुन थालेपछि देउवा निकटस्थहरूले गिरिजाप्रसाद कोइरालासँग तुलना गराएर पार्टीभित्रको प्रतिपक्षी गुटलाई सामसुम पार्न खोजेको देखिन्छ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक शंकर तिवारी भन्छन्, ‘गिरिजा र सुशील कोइरालासँग देउवाको तुलना गर्न मिल्दैन। गिरिजा सुरुमा पार्टी र सरकार दुवै चलाउन असफल देखिए पनि अन्तिम कालखण्डमा आएर सफल भएर गए। सुशील कोइरालाको नेतृत्वमा पार्टी पहिलो दल बन्यो र उनकै नेतृत्वको सरकारको पालामा संविधान जारी भयो। जसकारण यी दुवैभन्दा देउवा बढी विवादमा देखिएका हुन्।’

गिरिजा र देउवाले पटक–पटक सरकारकै नेतृत्व गर्न पुगे र सुशील एकचोटि मात्रै प्रधानमन्त्री भए। अपेक्षाकृत कम विवादमा तानिए पनि सुशील कोइराला पार्टीको हकमा विवादरहित थिएनन्। सभापति भएपछि महामन्त्रीलगायत पदाधिकारी छान्न उनले पनि महिनौं लगाएका थिए। अहिले सभापति देउवाले दुई वर्ष बित्न लाग्दा पनि पदाधिकारी मनोनयन गर्न नसकेको भन्दै पार्टीभित्र तीव्र आलोचना खेप्नुपरेको छ। कांग्रेसभित्रको यही रोगले गिरिजा पनि थलिएका थिए। उनले पनि विवादरहित रूपले पार्टी चलाउन सकेनन्। गणेशमान, कृष्णप्रसाद भट्टराईलगायत नेतामाथि धोका दिएको आरोप उनीमाथि लागेकै थियो। विश्लेषक तिवारी भन्छन्, ‘कुनै बेला पार्टीलाई अलोकप्रिय बनाएर गिरिजाप्रसादले भटराईलाई प्रयोग गरे तर उनलाई पनि सम्मान गर्न सकेनन्।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?