भूकम्प पीडितका गुनासाका चाङ २ लाख ३७ हजार
सारांश
- काठमाडौं : भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे-बल्थली पुगे ।
- घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ ।
- तर, म किन छुटेँ ?
काठमाडौं : भूकम्पप्रभावित बस्ती अवलोकन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसाल नयाँ वर्षको छेकोमा काभ्रे-बल्थली पुगे । घरको भग्नावशेषअघि उभिएर स्थानीय रीता हुमागाईं भन्दै थिइन्, ‘मेरो घर भत्किएको छ । तर, म किन छुटेँ ? ’ निर्देशक भुसालले उनको फोटो खिच्दै अनुदान रकम पाउने आश्वासन दिए ।
भूकम्प गएको तीन वर्ष बित्नै लाग्दा पनि पीडित र प्रभावितबाट यस्ता गुसाना आउने क्रम रोकिएको छैन । प्राधिकरणले अहिलेसम्म २ लाख ३७ हजार गुनासा दर्ता नै गरेको छ । सरकारले अहिलेसम्म ८७ हजार घरपरिवारलाई तेस्रो किस्ता राहत रकम वितरण गरेको बताएको छ ।
भूकम्पबाट ६ लाख घर पूर्णरूपमा क्षति भएकामा हालसम्म ४ लाख १३ हजार १ सय ३५ घर निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै, १ लाख १६ हजार ५ सय १७ घर बनिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार लाभग्राहीको संख्या दोलखामा मात्रै ६२ हजार ६ सय रहेकामा १९ हजार घर बने । ८३ हजार ७ सय लाभग्राही रहेको सिन्धुपाल्चोकमा ११ हजार ६३ मात्रै घर बने । ७२ हजार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा पनि ८ हजार मात्रै घर बनेका छन् ।
भवितव्यको तीन वर्ष बित्नै लाग्दा निजी घरको निर्माण सुस्त देखिन्छ । निर्माणाधीन घरको संख्या भने धेरै छ । तर, बनिसकेका घरको प्रकृति हेर्दा र भूकम्पपीडितको भनाइ सुन्दा अवस्था सन्तोषजनक छैन । कति घर बने भन्ने तथ्यांकसँगै कस्ता घर बने र बन्दै छन् भन्नेबारे लेखाजोखा आवश्यक रहेको आवाज सुनिन थालेको छ ।
हराउँदै मौलिकता
भूकम्प प्रभावित तीन जिल्लाका विभिन्न आधा दर्जन स्थानमा दुई कोठाका पक्की घर बनेका छन् । त्यसमाथि नीलो जस्तापाताको छाना जताजतै देखिन्छन् । टिनको छानाले रंगिएका गाउँ झट्ट हेर्दा नेपाली गाउँजस्तो देखिँदैन । पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति दोलखाका कार्यालय प्रमुख सागर आचार्य टिनको जस्तापाता १० वर्षपछि खियाले मक्किने बताउँछन् ।
तीन वर्ष बित्न लाग्दासमेत प्राधिकरणले तोकेको २३ नमुना घरबारे स्थानीय द्विविधामा छन् । पुरानो पुस्ता परम्परागत घर बनाउन र नयाँ पुस्ता पक्की घर बनाउन चाहन्छ । ग्रामीण सामग्री प्रयोग गरी घर बनाउँदा सरकारको अनुदान नपाइने हो कि भन्ने भय अझै देखियो । यही कारण पनि अति महँगो शुल्कमा इँटा र सिमेन्टका पक्की घर बनिरहेका छन् । घरवरपर प्रशस्त ढुंगा भए पनि फुटाउने मान्छे नभएको स्थानीयको भनाइ छ । दोलखा तामाकोसी गाउँपालिका-७ की अस्मिता मगर भन्छिन्, ‘ढुंगा त छ नि ! तर, दिनको १५ सय दिन्छु भन्दा पनि ढुंगा फुटाउने मान्छे छैन ।’
काठमाडौंमा १३ रुपैयाँमा पाइने इँटाको मूल्य वरपरकै जिल्ला पुर्याउँदा त्यसको मूल्य २४ रुपैयाँसम्म पुग्छ । दोलखाका भूकम्पपीडितले महोत्तरीबाट इँटा ढुवानी गरिरहेका छन् । सिन्धुपाल्चोक र काभ्रेका भूकम्पपीडित काठमाडौं र भक्तपुरबाट महँगो मूल्यमा इँटा खरिद गरिरहेका छन् । भूकम्प प्रभावित गाउँ पुग्दा साँझ अबेरसम्म महिला, बालबालिका तथा वृद्धवृद्धा थुन्चेमा इँटा बोकेर उकालो लागिरहेको दृश्य त सामान्य भइसकेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया