विकासोन्मुख राष्ट्रमा स्तरोन्नती नगर्न नेपालको आग्रह, स्तरोन्नती भएमा के घाटा ?
सारांश
- संयुक्त राष्ट्रसंघले नेपाललाई विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने तयारी गरिरहेको छ ।
- तर नेपालले भने विकासोन्मुख राष्ट्रको कोटीमा स्तरोन्नती नगर्न राष्ट्रसंघमा आवेदन दिएको छ ।
- हाल अतिकम विकसित राष्ट्रको सूचीमा रहेको नेपाल विकासोन्मुख राष्ट्र बन्न आवश्यक सूचकमा सक्षम देखिए पनि त्यसको दीगो विकास भइनसकेको भन्दै सो सूचीमा नराख्न आवदेन दिएको हो ।
संयुक्त राष्ट्रसंघले नेपाललाई विकासोन्मुख राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने तयारी गरिरहेको छ । तर नेपालले भने विकासोन्मुख राष्ट्रको कोटीमा स्तरोन्नती नगर्न राष्ट्रसंघमा आवेदन दिएको छ । हाल अतिकम विकसित राष्ट्रको सूचीमा रहेको नेपाल विकासोन्मुख राष्ट्र बन्न आवश्यक सूचकमा सक्षम देखिए पनि त्यसको दीगो विकास भइनसकेको भन्दै सो सूचीमा नराख्न आवदेन दिएको हो । सन् १९७१ देखि २५ देशबाट सुरु भएको अतिकम विकसित राष्ट्रहरुको सूची हाल ४८ छ । अहिलेसम्म ५ राष्ट्रमात्र स्तरोन्नती भएर विकासोन्मुखको सूचीमा पुगेका छन् । प्रत्येक ३ वर्षमा हुने अतिकम विकसित तथा भूपरिवेष्ठित राट्रका लागि राष्ट्रसंघीय उच्चस्तरीय प्रतिनिधि संस्थाले सूची हेरफेर गर्ने गर्छ । २ वर्ष अघि गरिएको समीक्षा आगामी मार्चमा हुँदैछ । र, यसपटक नेपालको स्तरोन्नतीको सम्भावना देखिएको हो ।
विकासोन्मुख राष्ट्रमा स्तरोन्नती भए पछि के हुन्छ?
अतिकम विकसित मुलुकहरुको सूचीमा रहे बापत अरू मुलुकले झै नेपालले पनि अन्तराष्ट्रिय समुदायबाट केही सहुलियत पाइरहेको छ । योजना आयोगले राष्ट्रसंघीय उच्चस्तरीय बैठकमा पेस गरेको प्रतिवेदनका अनुसार १३६ वटा विभिन्न यस्ता सहयोग नेपालले पाइरहेको छ । व्यापार, विकास, रोजगार, संस्थागत र मानव संशाधान विकासमा नेपालले यस्ता सहयोग पाइरहेको छ । विश्व बजारमा नेपाली वस्तुहरुको सहुलियतपूर्ण पहुँचदेखि बजार विकासमा प्राविधिक सहयोगसम्म नेपालले कम विकसित देशको हैसियतबाट पाइरहेको छ । युरोपियन बजारमा कार्पेट, टेक्सटायलजस्त उत्पादनको बजार विस्तारमा यही सहुलियतले काम गरेको हो । तर स्तरोन्नती भएसँगै नेपालले पाइरहेका यी सहुलियत र सुविधा गुमाउनु पर्ने हुन्छ । त्यसैले पनि अहिलेको आर्थिक संक्रमणलाई दीगो रुपमा पार लगाउन अहिले पाइरहेका सहयोगको निरन्तरता कम्तिमा केही वर्ष आवश्यक रहेको नेपाली पक्षको भनाई छ । यसै कारण पनि नेपाली पक्ष अझै केही वर्ष नेपालको स्तरोन्नती नगराउने पक्षमा रहेको छ ।
विकासोन्मुख राष्ट्रमा पुग्न के हुनु पर्छ ?
राष्ट्रसंघले विकासोन्मुख राष्ट्रमा उन्नती गर्नलाई सन् २०१८ को लागि तोकेका तीन वटा सूचक तोकेको छ । जसमध्ये नेपालले दुईमा लक्ष्य भेटाएको मानिएको छ । कूल राष्ट्रिय उत्पादन प्रतिव्यक्ति आय, ह्युमन एसेट्स र इकोनोमिक भ्लनेराविलिटी इन्डेक्समा नेपालले प्रतिव्यक्ति आयमा मात्र लक्ष्य प्राप्त गर्न सकेको छैन । विकासोन्मुख मुलुकमा रूपान्तरण हुनको लागि आय १२०० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६६ माथि र इकनोमिक भ्लनेराविलिटी इन्डेक्स ३२ तल हुनुपर्ने छ । हाल नेपालको आय ६२० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६८.७ र इकोनोमिक भ्लनेराविलिटी इन्डेक्स २६. छ । कुनै पनि तीन इन्डेक्समा दुई वटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने राष्ट्रसंघको व्यवस्था छ । यसअर्थमा नेपालले प्रतिव्यक्ति आयमा मात्र लक्ष्य पुरा गर्नसकेको छैन ।
प्रतिक्रिया