मिडियाकाे गैरजिम्मेवारीपनले मलाइ तनाव गरायाे : लेखनाथ न्यौपाने
सारांश
- काठमाडौं, २२ वैशाख ।
- अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा चर्चित विद्यार्थी नेता लेखनाथ न्यौपानेले संचारमाध्यमले जिम्मेवारी बहन गर्न नसक्दा तनाव भएकाे बताएका छन।
- गत वैशाख ५ गते रुपन्देही जिल्ला प्रहरी कार्यालयले मनोज पुनः समूहमा आबद्ध भएको भन्दै केही व्यक्तिको नाम सार्वजनिक गर्दा न्याैपानेकाे पनि नाम सार्वजनिक भएकाे थियाे ।
काठमाडौं, २२ वैशाख । अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा चर्चित विद्यार्थी नेता लेखनाथ न्यौपानेले संचारमाध्यमले जिम्मेवारी बहन गर्न नसक्दा तनाव भएकाे बताएका छन।
गत वैशाख ५ गते रुपन्देही जिल्ला प्रहरी कार्यालयले मनोज पुनः समूहमा आबद्ध भएको भन्दै केही व्यक्तिको नाम सार्वजनिक गर्दा न्याैपानेकाे पनि नाम सार्वजनिक भएकाे थियाे ।
नाम र पार्टी समेत जुद्धा कतिपय संचारमाभध्यमले न्याैपानेकाे फाेटाे हालेर समाचार प्रकासन प्रशारण गरेका थिए । खासमा पक्राउ पर्ने व्यक्ति थिए माओवादी केन्द्रका चार हजार केन्द्रीय सदस्यमध्येका रुपन्देही देवदह–४ का लेखनाथ न्याैपाने।
समाचार सार्वजनिक भएपछि अर्का लेखनाथ न्यौपानेको मोबाइलमा घण्टी बज्न थाल्यो । उनी थिए– राष्ट्रिय व्यक्तित्वका छवि बनाएका अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा चर्चित विद्यार्थी नेता लेखनाथ न्यौपाने ।
आफूसँग नाम मिलेको व्यक्ति मनोज पुन समूहसँग जोडिएर आएपछि अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथले न्यौपानले धेरै टीकाटिप्पणी पनि सुने । नाम जुध्दा कति धेरै तनाव भोगे त माओवादी नेता लेखनाथ न्यौपानेले ?
उनकै शब्दमा
मनोज पुनसँग सम्बन्धित ठेक्कापट्टादेखि लिएर हत्यासम्म सहभागी भएको भन्दै रुपन्देही प्रहरीले सार्वजनिक गरेका धेरै मानिसमध्येका एक जना हुन् लेखनाथ न्यौपाने । यो समाचार सबैभन्दा पहिला अनलाइन मिडिया र न्युज ट्वान्टिफोरले प्रसारण गरे । यो न्युज अनलाइन र टिभीमा प्रसारण भएपछि मलाई फोन आउन सुरु भए । के हो, तपाईं समातिनुभएको हो रु के तपाईं संलग्न हुनुहुन्थ्यो र ? आदि आदि ।म अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष हँदा रुपन्देही देवदह–४ का लेखनाथ न्यौपाने रुपन्देही जिल्लाका अखिल क्रान्तिकारीका अध्यक्ष नै थिए ।
तर अहिले आएर जब उनी समातिए त्यसपछि मिडियाहरूले पनि अरू गिरफ्तार भएका व्यक्तिहरू भन्दा पनि लेखनाथ न्यौपानेलाई नै चर्चामा ल्याए । अनलाइनहरूले समाचारको शीर्षक नै लेखनाथ न्यौपाने, पूर्वअध्यक्ष, माओवादीका नेता भन्दै हेडलाइन बनाएर हाले । यसले गर्दा माओवादीको नेता, विद्यार्थीको पूर्वअध्यक्ष, लेखनाथ हो भन्ने खालका समाचारले मलाई नै हो भन्ने भ्रम फैलिन थाल्यो ।
यो समाचारले मलाई धेरै समस्यामा पा¥यो । पहिलो त म पुस्तक लेख्दै थिएँ, लेखाइमा धेरै व्यस्त भएको समयमा यो घटना भयो । यो गिरफ्तारीको समचार आएपछि मेरा तीनथरीका मानिसमा भ्रम फैलियो । पहिलो, आफन्तहरूमा भ्रम फैलियो । दोस्रो, मेरो विचारसँग सहमत नहुने तर मसँग व्यक्तिगत रूपमा माया गर्ने ठूलो पङ्क्ति पनि भ्रमित भयो । तेस्रो, पार्टीभित्रका साथीहरू जो स्वदेश र विदेशमा बस्छन्, उहाँहरू पनि समाचारको हेडलाइन हेरेर भ्रमित भए । यसकारण मलाई तनाव र डिस्टब भयो । मलाई तनावभन्दा पनि डिस्टब बढी भयो । पुस्तकको काममा धेरै ध्यान दिएर अरू काम थाँती राखेको थिएँ । तर यो समाचार बाहिर आएपछि मेरो काम नै डाइभर्ट भयो ।
मेरा आफ्न्तहरूले मलाई, मेरी श्रीमतीलाई फोन गरेर सोध्न थाले । कतिपय साथीहरूले मलाई नसोधेर मेरा नजिकका साथीलाई फोन गरेर सोध्न थाले ।
यो नाम जुधेका कारण मलाई नै शङ्का गर्न थाले । कतै यस्तो गरेकै पो हो कि भन्दै चासो र चर्चाको विषय बन्यो । म र मेरी श्रीमतीलाई यो समाचारले तनाव दियो । आफन्तहरूले चिन्ता जाहेर गर्दै सोध्न थाले । यति फोन आउन थाल्यो कि म र मेरी श्रीमतीको काम नै सामाजिक सञ्जाल र फोनबाट स्पष्टीकरण दिन मात्र धेरै दिन खर्च भयो ।
म यस्ता घटनामा संलग्न छैन र हुँदिनँ । तर पनि मेरो नाम, थर र पार्टी एक भएका कारण भोगेको तनाव हो । यसलाई मिडियाले पनि कहीँ न कहीँ आफ्नो व्यक्तिगत फाइदाका लागि अथवा ढङ्ग पुर्याएनन् भन्ने लागेको छ । मलाई नै हो भन्दै केही मिडियाले फोटा हालेर समाचार प्रकाशन गरे । यदि म नै हो भने पनि यसमा खोज अनुसन्धान गर्नुपर्छ । प्रहरीले सार्वजनिक गरेको फोटा हेर्नुपर्छ । तर एकदमै हल्का रूपमा मिडियाबाजी गरियो ।
यसमा मेरो भनाइ के हो भने राज्यको चौथो अङ्ग भनिने मिडियाले हरेक कुरालाई गम्भीर रूपमा सत्य तथ्यमा आधारित भएर सञ्चार सम्प्रेषण गर्दा सबैका लागि फाइदाको कुरा हो ।
केही मिडियाहरू त पार्टीको हितमा काम गरिरहेका छन् । यो उहाँहरूको विचारको कुरा हो । तर यिनै पार्टीका पक्षमा चलाएका मिडियाहरूले नै मलाई बदनाम गर्ने कोसिस गरे । केही यस्ता मिडिया चलाइरहेका साथीहरूलाई फोन गरेँ । उनीहरू भन्छन्– म थिइनँ, डेक्सका साथीहरूले के गरेछन् बुझुँला? यस्तो जवाफ दिनुहुन्छ । जिम्मेवारी बोध नै देखिएन । आफूले सञ्चालन गरेका मिडियामा के समाचार आयो ? सञ्चालक अथवा प्रमुखले जिम्मा लिनुपर्छ कि पर्दैन ?
नभरेको बन्दुक पड्कँदो रहेछ
मेरो नामसँग आरोपीको नाम मिल्दा जति पीडा, डिस्टब र भ्रम फैलियो, यसले लाग्छ कि कहिले काहीँ नभरेको बन्दुक पड्कँदो रहेछ । अब म भन्छु, सचेतनासाथ पनि यस्ता काममा जोडिने छैन ।
यो समाचार आएपछि फोन, सामाजिक सञ्जालमा त स्पष्ट पार्ने काम भयो । तर जब मेरा बारेमा चिया पसल र अन्य सार्वजनिक ठाउँमा कुराकानी हुन थाल्यो त्यसले झन् अर्को तनाव पनि भयो । चिया पसल, पत्रपत्रिका पसल र चोकमा मलाई नचिन्ने तर नाम सुनेकाहरूले चर्चा गर्न थाले । कैयौँ ठाउँमा मलाई नचिन्नेहरूले कुरा गरेको मैले नै सुने । यस्तोमा के भन्नु के गर्नु आफै अचम्मा परे ।
बानियाँटारको चिया पसलेलाई त्यहाँ चिया खान आउनेले तपाईंकोमा चिया खान आउने लेखनाथ त समातिए छन्, मनोज पुनसँग साँठगाँठ रहेछ नि भन्दै कता राखेको छ, कस्तो छ भनेर सोधेछन् । अहिले पनि गोरखाका भाइहरूले सोधे । यो बारेमा स्पष्टीकरण दिँदैमा दिन बितिरहको छ ।
पार्टीबाट कारवाही गरेपछि पुनः तनाव
नेकपा माओवादी केन्द्रले पार्टीबाट कारवाही गर्यो भनेपछि झन पुनः मेरो चर्चा हुन थाल्यो । यही १३ गते हाम्रो पार्टीले गिरफ्तार भएका रुपन्देही देवदहका लेखनाथलाई कारवाही गरेपछि पुनः मेरा फोटा हालेर केही समाचार बनाए छन् । गिरफ्तारको स्पष्टीकरण सकेको केही समयमा पुनः मेरो स्पष्टीकरण दिने काम थपिएको छ ।
प्रतिक्रिया