उधारो आश्वासनमा झुक्किएर अनशन नतोड्ने गंगामायाको अडान
सारांश
- काठमाडौं, २६ असार ।
- छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।
- हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुन सचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।
काठमाडौं, २६ असार । छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् ।
हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुन सचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।
“तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ । अनशन तोडिदिनुपर्यो”, कानुनसचिव राजीव गौतमले आइसीयूमै पसेर गंगामायालाई भनेका थिए, “ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।” जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताएकी थिइन् ।
“अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस् । मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्”, उनले भनिन्, “त्यसपछि म तपाईंले नखा भने पनि खान्छु । यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?” यो समाचारलाई आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया