असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
सारांश
- निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका अवसरमा असार १४ गते प्रदेश नं १, ५ र ७ मा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ ।
- आयोगको सोमबार बसेको बैठकले निर्वाचन हुने ३५ जिल्लाका सरकारी एवं अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने भएकाले १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
- निर्वाचन हुने जिल्लाका शैक्षिक संस्थामा असार ११ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिन पनि आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका अवसरमा असार १४ गते प्रदेश नं १, ५ र ७ मा सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचन हुने ३५ जिल्लाका सरकारी एवं अर्धसरकारी कार्यालयमा कार्यरत अधिकांश कर्मचारी मतदानमा परिचालित हुने र सार्वजनिक सेवा प्रवाह गर्न कठिनाइ हुने भएकाले १४ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको छ ।
निर्वाचन हुने जिल्लाका शैक्षिक संस्थामा असार ११ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिन पनि आयोगले सरकारसमक्ष आग्रह गरेको छ । बैठकले अधिकांश मतदान केन्द्र सार्वजनिक एवं संस्थागत विद्यालय वा क्याम्पसजस्ता शैक्षिक संस्थामा तोकिएको हुँदा ती संस्थामा चार दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ । कुनै सार्वजनिक÷संस्थागत विद्यालय वा क्याम्पसमा मतगणना हुने अवस्थामा उक्त कार्य सम्पन्न नभएसम्म उक्त विद्यालय, क्याम्पस भवन एवं परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउन पनि आयोगले शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कतिपय मतदान केन्द्र गाउँपालिका तथा नगरपालिकाका वडा कार्यालय, स्वास्थ्यचौकी, कृषि सेवा केन्द्रलगायत सार्वजनिक भवन र परिसरमा तोकिएको हुँदा बैठकले ती भवन एवं परिसर उपलब्ध गराइदिनसमेत सम्बन्धित निकायलाई पत्राचार गरेको खबर आजको अन्नपूर्णपोस्टमा छ ।
प्रतिक्रिया