मंसिर अन्तिम साता मोदीको नेपाल भ्रमणको तयारी !

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मंसिर अन्तिम साता मोदीको नेपाल  भ्रमणको तयारी  !

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणामा मोदी मंसिर २६ को विवाह पञ्चमीको सन्दर्भ पारेर जनकपुरसहित पाँचौं पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।
  • प्रधानमन्त्रीको सचिवलायका सदस्यहरूका अनुसार मोदीको औपचारिक नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नियन्त्रणामा मोदी मंसिर २६ को विवाह पञ्चमीको सन्दर्भ पारेर जनकपुरसहित पाँचौं पटक नेपाल भ्रमणमा आउन लागेका हुन्। प्रधानमन्त्रीको सचिवलायका सदस्यहरूका अनुसार मोदीको औपचारिक नेपाल भ्रमणको तयारी सुरु भैसकेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार भदौ दोस्रो साता बिमस्टेक सम्मेलन सहभागी हुन आएका मोदीलाई अर्को नेपाल भ्रमणको निमन्त्रणा ओलीले दिएका थिए।  ‘मंसिर अन्तिम साता भ्रमण आयोजना गर्ने छलफल भैरहेको छ, अन्तिम टुङ्गो लागिसकेको छैन’, अर्यालले बिहिबार नेपालखबरसँग भने, ‘केही दिनभित्रै यो विषय अझै स्पष्ट हुँदै जानेछ।’

हिन्दु देवता राम र सीताको विवाह भएको दिन विवाह पञ्चमी मनाउने धार्मिक परम्परा छ। प्रत्येक वर्ष विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरमा जन्ति आउने परम्परा छ।

धार्मिक मान्यता अनुसार उहिल्यै भारतको उत्तर प्रदेशको आयोध्याबाट रामले जन्ति लिएर नेपालको जनकपुरमा सीतालाई लिन आएका थिए।

हिन्दु धार्मिक महत्व बोकेको उत्तर प्रदेशले दिल्लीको सत्ता राजनीतिमा झन् बढी महत्व राख्छ। भारतको लोकसभामा सबैभन्दा धेरै सदस्य यही प्रदेशबाट निर्वाचित भएर आउने भएकाले भारतका कुनै पनि राजनीतिक पार्टीलाई सत्तामा पुग्न यहाँको मत निर्णायक रहँदै आएको छ।

लोकसभामा निर्वाचित भएर आउने ५४३ सदस्यमध्ये ८० जना उत्तर प्रदेशबाट मात्रै आउँछन्। अघिल्लो पटक उत्तर प्रदेशमा वर्चश्व जमाएको मोदीको भारतीय जनता पार्टीले विधानसभा भुनाव जितेर प्रदेश सरकार समेत चलाइरहेको छ। भाजपा र मोदीका लागि छ महिनापछि हुने अर्को लोकसभा निर्वाचनमा पनि उत्तर प्रदेशको अहिलेको वर्चश्य कायम राख्नु पर्ने बाध्यता छ।

त्यसैले उत्तर प्रदेशका हिन्दु धार्मिक मतदातालाई आफ्नो पक्षमा राख्न प्रधानमन्त्रीका रुपमा मोदीले कतिपय धार्मिक स्थलहरू घुमेर धार्मिक सन्देश दिने गरेको दिल्लीमा आरोप लगाउने गरिन्छ। र, उनले अयोध्याबाट जनकपुर जन्ती आउने समयमा भ्रमण मिलाएर फेरि त्यस्तो सन्देश दिन खोजेको टिप्पणी अहिले हुन थालेको छ।

मोदीले यसपाली अयोध्याबाट आउने जन्ती हेर्ने गरी जनकपुर भ्रमणको व्यवस्था मिलाउने तयारी भइरहेको स्रोतहरूले जनाएका छन्।

जनकपुर समेत जानेगरी मंसिरमा हुने मोदीको भ्रमण उनको चार वर्षे कार्यकालको पाँचौं नेपाल भ्रमण हुनेछ।

२०७१ जेठमा भारतको १४ औं प्रधानमन्त्री बनेपछि २०७१ साउनमा मोदी पहिलो पटक नेपाल भ्रमणमा आएका थिए। प्रधानमन्त्री भएपछि मोदीको भुटानपछि त्यो दोस्रो विदेश भ्रमण थियो।

त्यही वर्ष मंसिरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० सम्मेलनमा सहभागी हुन उनी दोस्रो पटक नेपाल आएका थिए।

त्यसपछिका झण्डै साढे तीन वर्ष मोदी नेपाल आएनन्, जुनबेला नेपालमा नयाँ संविधान जारी भयो र भारतले नाकाबन्दी लगायो।

नाकाबन्दीपछि पहिलो पटक २०७५ बैशाखमा फेरि मोदी नेपाल आए। ‘धार्मिक भ्रमण’ भनिएको यो बेला मोदी जनकपुर र मुक्तिनाथ पुगे। मोदीको यो भ्रमणसँगै नाकाबन्दीपछि बिग्रिएको नेपाल–भारत सम्बन्ध सामान्य अवस्थामा फर्किएको मानियो।

भारतको दक्षिणी राज्य कर्नाटकाको विधानसभा चुनावको मौन अवधीको समयमा भएको यो भ्रमणलाई भारतका विपक्षी दलहरुले भने ‘नेपालमा हिन्दु धार्मिक स्थल घुमेर चुनाव प्रचार गर्न खोजेको’ आरोप लगाए।

मोदीको पछिल्लो नेपाल आगमन भदौ १४ मा भएको थियो, जुन बेला उनी बिमस्टेक सम्मेलनमा सहभागी भए र पशुपतिनाथ मन्दिरको दर्शन गरेर दिल्ली फर्किए।

प्रधानमन्त्री ओलीको भारत भ्रमण र मोदीको नेपाल भ्रमणका बेला भएका सहमती सम्झौता लागू हुने क्रममा छन्। अरुण तेस्रो जलविद्युत आयोजना, रक्सौल–अमलेखगन्ज तेल पाइपलाइन र रक्सौल–काठमाडौं रेलमार्ग परियोजना सम्झौता अनुसार अगाडि बढेका छन्।

नेपाल भ्रमणको बेला प्रधानमन्त्री मोदीले नै सहमती जनाएको नेपालका लागि थप हवाई रुट उपलब्ध गराउने विषयमा दिल्ली पछि हटेको छ। पछिल्लो समय नेपाल–भारत सम्बन्धमा निकै महत्वपूर्ण हुने ठानिएको इमिनेन्ट पर्सन्स ग्रुप ९इपीजी० को प्रतिवेदन लिन पनि मोदीले आलटाल गर्दै आएको मानिएको छ।

बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा अन्तिम समयमा सहभागी नहुने निर्णय काठमाडौंले लिएपछि दिल्लीले असन्तुष्टी जनाएको थियो।

त्यसैले विवाह पञ्चमीको अवसरमा आउन लागेपनि भारतको निर्वाचन अगाडि हुने मोदीको यो नेपाल भ्रमणको राजनीतिक महत्व नै बढी छ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?