यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
३४ पटक हेरिएको
Shares
यी हुन् हरिबोधिनी एकादशीमा जानै पर्ने चार नारायण मन्दिर

सारांश

  • काठमाडौँ उपत्यकाका चार नारायण मन्दिर हिन्दु धर्मावलम्बीका लागि धार्मिकरुपले निकै महत्वपुर्ण मानिन्छ ।
  • यी चार नारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन दर्शनार्थीको ठूलो घूइँचो लाग्ने गर्छ ।
  • धार्मिक विश्वास अनुसार हरिबोधिनी एकादशीका दिन यी चार नाराण मन्दिरको दर्शन गरे पुण्यप्राप्ति हुने विश्वास रहँदै आएको छ ।

काठमाडौँ उपत्यकाका चार नारायण मन्दिर हिन्दु धर्मावलम्बीका लागि धार्मिकरुपले निकै महत्वपुर्ण मानिन्छ । यी चार नारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन दर्शनार्थीको ठूलो घूइँचो लाग्ने गर्छ । धार्मिक विश्वास अनुसार हरिबोधिनी एकादशीका दिन यी चार नाराण मन्दिरको दर्शन गरे पुण्यप्राप्ति हुने विश्वास रहँदै आएको छ । अहिले यी चारै नारायण मन्दिहरुमा मेला समेत लागेको छ । शेषनारायण, विशंखुनारायण, इचंगुनारायण र चाँगुनारायण उपत्यका भित्र रहेका चार चर्चित नारायण मन्दिर हुन् ।

चाँगुनारायण
चाँगुनारायण उपत्यकामा रहेका चार नारायणमध्ये प्रमुख र पहिलो नारायण मानिन्छ । चार नारायणको दर्शन गर्दा भक्तपुरमा रहेको चाँगुनारायणको दर्शन पहिलोपटक गर्ने परम्परा रहेको छ । नेपालको प्रशिद्ध तिर्थस्थलको रुपमा रहेको चाँगुनारायण धार्मिक, सांस्कृति र ऐतिहासिकरुपले पनि विशेष रहेको छ । लिच्छवीकालिन राजा हरिदत्त बर्माले इशापूर्व ३२३ मा चाँगुनाराणको मन्दिर निर्माण गर्न गराएको अभिलेख पाइन्छ । भक्तपुर नगरबाट ६ किलोमीटर उत्तरमा रहेको चाँगुनारायण मन्दिरमा विश्वसम्पदा सूचीमा सूचिकृत सम्पदा पनि हो ।

Changu Narayan

शेषनारायण
फर्पिंङमा पर्ने शेषनारायण पनि उपत्यका भित्रको अर्को चर्चित नारायण मन्दिर हो । काठमाडौँ शहरबाट २० किलोमीटर दक्षिणमा पर्ने शेषनारायण मन्दिर पनि लिच्छवी राजा विष्णुगुप्ताले निर्माण गरेको विश्वास गरिन्छ । उपत्यकाकै चर्चित शक्तिपीठ दक्षिणकालीको नजिकै रहेका कारण दक्षिणकालीको दर्शनमा जानेले शेषनारायणको पनि दर्शन तथा पूजा गर्न छुटाउँदैनन् । पहाडको पहरामा शेषनागले झै ओढाएको जस्तै देखिने भएकाले यो नारायणको नाम शेषनारायण रहन गएको जनविश्वास रहेको छ । एकतले नारायण मन्दिरभित्र चार हात भएका गरुडमा सवार नारायणको मुर्ति छ । मन्दिरको तल्लो भागमा कुण्ड पनि छ । शिखर नारायणको नामले पनि परिचित शेषनारायण धार्मिक विश्वास अनुसार भगवान श्रीकृष्णका पुत्र प्रद्युम्नले बनाएको मानिन्छ । हरिबोधिनी एकादशी बाहेक तीजमा पनि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ ।

विशंखुनारायण
ललितपुरमा पर्ने विशंखुनारायण पनि हरिबोधिनी एकादशी र ठूलो एकादशीमा दर्शनार्थीको घूँइचो लाग्ने नारायण मन्दिर हो । काठमाडौ शहरबाट १० किलोमीटर दक्षिण पूर्वी दिशामा रहेको विशंखुनारायण गोदावरीभन्दा माथि रहेको गुफामा रहेको छ । विशंखुनारायण भएको स्थानमा शंखको आकृति भएकाले यहाँ रहेका नारायणलाई विशंखुनारायण भनिएको हो । अन्य चार नारायण मन्दिरमा जस्तो यहाँ चार हात भएका नारायणको मुर्ति छैन । यहाँ रहेको ढुंगाको अष्टदललाई नारायण मानेर पूजा गरिदै आएको छ ।

इचंगुनारायण
उपत्यकाको अर्को चर्चित नारायण मन्दिर हो इचंगुनारायण । उपत्यकाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित इचंगुनारायण मन्दिर काठमाडौँबाट ८ किलोमीटरको दुरीमा रहेको छ । प्यागोडा शैलीमा दुई तल्ले सुन्दर इचंगुनारायण मन्दिरमा शंख, चक्र, गदा र पद्य लिइरहेका नारायणको मुर्ति छ । यो मन्दिरमा पनि ठूलो एकादशी, हरिसयनी एकादशी र हरिबोधिनी एकादशीमा विशेष भीड लाग्ने गर्छ । यो मन्दिरलाई पनि लिच्छवी राजा हरिदत्त बर्माले बनाउन लगाएको विश्वास गरिन्छ । हालको मन्दिर भने २ सताव्दी अघि निर्माण गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?