अमेरिकालाई छोडेर साउदी अरब रुससँग नजिकियो भने के हुन्छ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • बीबीसी।
  • जी–२० सम्मेलनको पहिलो दिन रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानले उत्साहित हुँदै हात मिलाएको तस्वीर सार्वजनिक भएको छ।
  • योसँगै साउदी अरबले रुसमा लगानी बढाउने तयारी गरिरहेको सार्वजनिक भएको छ।

बीबीसी। जी–२० सम्मेलनको पहिलो दिन रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानले उत्साहित हुँदै हात मिलाएको तस्वीर सार्वजनिक भएको छ। योसँगै साउदी अरबले रुसमा लगानी बढाउने तयारी गरिरहेको सार्वजनिक भएको छ। मिडियो रिपोर्ट्सका अनुसार साउदी अरब रुससँग घनिष्टता बढाउन चाहन्छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय राजनीतिमा अहिलेसम्म साउदी अरब अमेरिकी सहयोगमा मध्यपूर्वमा आफ्नो शक्ति देखाइरहेको थियो, यदि अब उसले रुससँग नजिकको सम्बन्ध बनायो भने के हुन्छ भन्ने अड्कलाबाजी सुरु भएको छ।

२ अक्टुबरमा टर्कीको राजधानी इस्तानाबुलस्थित साउदी अरबको दूतावासमा पत्रकार जमाल खाशोज्जीको हत्यापछि विश्वभर साउदी अरबको आलोचना भयो। तर अमेरिकामा विरोधकाबीच राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको साथमा थिए।
पूरै विश्वले पत्रकार खाशोज्जीको हत्यापछि साउदी अरबलाई शंकाको दृष्टिकोणले हेरिरहेको छ। उता राष्ट्रपति ट्रम्पले इरान विरुद्ध अमेरिकी संघर्षमा साउदी अरबलाई मुख्य सहयोगी भएको बताएका थिए। साउदी युवराज सलमानप्रति राष्ट्रपति ट्रम्पको हेराइमा कुनै परिवर्तन आएको देखिँदैन।
उता साउदी अरबले पत्रकार खशोज्जीको हत्याका विषयमा युवराज सलमानलाई कुनै पनि जानकारी भएको कुरालाई अस्वीकार गर्दै आएको छ।

जी–२० मा पुटिन–सलमानबीच भएका भेटवार्ताको अर्थ
खाशोज्जीको हत्याको दुई महिनापछि युवराज सलमानले पहिलो पटक जी–२० सम्मेलनमा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा विश्व अर्थव्यवस्थाका १९ शीर्ष देशका नेतासँग भेटवार्ता गरे।
जी–२० विश्वका १९ सर्वाधिक औद्योगिक देशको समूह हो जसमा युरोपीय युनियन पनि सामेल छ। यी जी–२० देशमा जहाँ विश्वका दुई तिहाइ जनसंख्या रहेको छ भने विश्व अर्थव्यवस्थाको ८५ प्रतिशत हिस्सा यिनै मुलुकले ओगटेका छन्। यहाँ साउदी युवराज रुसी राष्ट्रपतिसँग उत्साहित हुँदै हात मिलाउँदै गरेको तस्वीरले कतै साउदी युवराजको झुकाव रुसप्रति त छैन भन्ने आशंका जन्माएको छ। साउदी अरब रुसमाथि लगानी बढाउने तयारीमा रहेको अनुमान पनि गर्न थालिएको छ।
रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख किरिल दिमित्रिवले ब्यूनस आयर्समा जी–२० शिखर सम्मेलनको पहिलो दिन शनिबार संवाददातासँग कुरा गर्दै साउदी अरबसँग सहयोगका सम्बन्धमा महत्पपूर्ण बैठक हुने बताएका थिए। त्यसपछि पुटिन युवराज सलमानबीच भेटवार्ता भयो। पुटिनले आपेकमा साउदी अरबसँग सहयोग बढाउने कुरा गरे। त्यसबाहेक साउदी अरबले पनि रुसमा लगानी बढाउन तयारी रहेको जनाएको समाचार सार्वजनिक भयो।

तेलको खेल
पूरै विश्वको तेल आपूर्तिमा अमेरिका, साउदी अरब र रुसको दबदबा छ, जो तेल उत्पादनमा क्रमशः नम्बर एक, दुई र तीनको भूमिकामा छन्। अमेरिका सबैभन्दा ठूलो उत्पादक हो भने सबैभन्दा ठूलो प्रयोगकर्ता पनि हो। अमेरिका अहिले तेलको दैनिक उत्पादन बढाउने धाउन्नमा छ, तेलको दैनिक उत्पादन बढाउन सकियो भने अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य कम हुने उसको विश्वास छ। तर साउदी अरबको हकमा भने यो कुरा लागू हुँदैन। साउदी अरबमा विश्वको कुल तेल भण्डारको १८ प्रतिशत पेट्रोलियम भण्डारण छ र साउदी यी शीर्ष तीन निर्यातक देशमा पनि सामेल छ।
तेल र ग्यास यहाँको जीडीपीमा ५० प्रतिशत र निर्यातमा करिव ८५ प्रतिशत हिस्सा छ। अर्थात तेलको मूल्य घटाउँदा त्यसको सिधा असर साउदीको अर्थव्यवस्थामा पर्न सक्छ। यही विषयमा साउदीलाई रुसको समर्थन प्राप्त छ। रुस तेलको अन्तर्राष्ट्रिय मूल्यका विषयमा साउदी अरबको समर्थनमा छ।
६ डिसेम्बरमा भियनामा हुने आपेक (तेल उत्पादक–निर्यात देशको संगठन) को बैठकमा रुस र साउदी अरबसँग तेलको दैनिक उत्पादन घटाउने प्रस्तावको पक्षमा उभिने अनुमान छ, यसको उद्देश्य तेलको मूल्यमा कमी आउन नदिनु रहेको बताइएको छ।

यस बाहेक के पनि अनुमाल लगाइँदै भने पुटिन र साउदी युवराज सलमानबीचको भेटवार्तामा साउदी अबरले रुसमा लगानी बढाउने विषयमा पनि छलफल भएको छ। साउदी अरबले रुसमा पहिला नै २ अर्ब डलरभन्दा धेरै लगानी गरिसकेको छ। यद्यपी विगत केही दिनदेखि खाशोज्जीको हत्यापछि अमेरिकी राष्ट्रपतिमाथि साउदी युवराज सलमानसँग दूरी बढाउन दवाब बढिरहेको छ। तर ट्रम्पको साउदीप्रतिको प्रेम साउदीको अर्वौं मिलियन डलरको लगानीका कारण भएको जगजाहेर छ।
साउदी अरबले अमेरिकामा राम्रो लगानी गरेको छ। स्वयं राष्ट्रपटि ट्रम्पले गत हप्ता भनेका थिए–मलाइ अमेरिकामा ११० बिलियन डलर लगानी रोक्ने विचार मन परेको छैन।’ ट्रम्पको चिन्ताको विषय के हो भने साउदी अरबले अमेरिकामा लगानी मात्रै गरेको छैन, उ मध्यपूर्वमा अमेरिकी हतियारको सबैभन्दा ठूलो खरिदकर्ता पनि हो। विश्वभरमा हतियारको सबैभन्दा ठूलो विक्रेता अमेरिका स्वयं हो र, यी हतियारका करिव आधा हिस्सा एक्लै मध्यपूर्वमा बेच्छ भने एक तिहाइ एशिया देशमा बेच्छ।
इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्यूटका अनुसार विगत पाँच वर्षका क्रममा विश्वभर बेचिएका कुल हतियारको करिव एक तिहाइ हिस्सा अमेरिकाको छ।
साउदी अरब मध्यपूर्वका सबै देशभन्दा धेरै हतियार खरिद गर्छ। साउदी विश्वभर बेचिने कुल हहतियारको करिव दशौं ठूलो खरिदकर्ता हो। विश्वमा हतियार किन्ने देशमा साउदी अरब भारतपछि दोस्रो स्थानमा आउँछ।

भारत आफूलाई चाहिने अधिकांश हतियार रुसबाट किन्ने गर्छ। उता अमेरिका पूरै विश्वमा जुन हतियार बेच्छ त्यसको १८ प्रतिशत हतियार साउदी अरबले मात्रै खरिद गर्छ। अर्थात ट्रम्पको साउदी अरबप्रतिको प्रेम अमेरिकाको आर्थिक हितका कारण भएको हो।

ट्रम्पको समस्या

अमेरिकामा ट्रम्प सत्तामा आएपछि साउदी युवराज सलमान ट्रम्पसँग नजिक हुन थाले र उनको विश्वास जित्न एक हदसम्म सफल पनि भए। उनी केवल खाशोज्जी मामिलामा मात्र होइन यमन मुद्दामा पनि अमेरिकाको विश्वास जित्न सफल भए। साउदी अरब विगत तीन वर्षदेखि यमनमा अमेरिकी हतियारको भरमा युद्ध जारी राखेको छ। संयुक्त राष्ट्रसंघका अनुसार यो युद्धका कारण ८० लाख मानिस भोकमरीको चपेटामा पुगेका छन्। साउदी अरबका युवराज सलमानले कतारमाथि नाकान्दी लगाएका छन्। कतारसँग पनि अमेरिकाको राम्रो सम्बन्ध छ। फेरि पनि अमेरिकाले कतारमाथिको नाकाबन्दी रोक्न सकेन। उता मार्च २०१५ मा सत्तामा आएपछि युवराज मोहम्मद बिन सलमानले एक उग्र सुधारकका रुपमा आफ्नो छवि बनाउन सुरु गरे।

उनल एक अन्तर्वातामा भनेका थिए–म साउदी अरबलाई परिवर्तन गर्न चाहन्छु। त्यो पनि आफ्नो शर्तमा।’ विशेषज्ञको बुझाइमा त्यो शर्त भनेको सि जिनपिङ र भ्लादिमीर पुटिन हिँडेको बाटो हो।

रुसको अवस्था

रुसको कुरा गर्दा शीत युद्धका क्रममा सोभियत संघ महाशक्ति राष्ट्र थियो। तर अहिले विश्वको महाशक्तिको केन्द्र परिवर्तन भएको छ। आज अमेरिकाको अर्थव्यवस्थाको हिसावले विश्वको सबैभन्दा ठूलो देश हो भने चीन दोस्रो स्थानमा छ। तीन वर्ष पहिलासम्म सबैभन्दा ठूलो अर्थ व्यवस्था भएको मुलुकमा रुस नौं स्थानमा थियो, अहिले उ १२ औं स्थानमा पुगेको छ।
तर भ्लादिमीर पुटिनले देशलाई फेरि एकजुट गर्न सुरु गरेका छन्। जुन धेरै समस्याबीचमा पनि रुसलाई महान शक्तिका रुपमा देख्छन्। राजनीतिक विश्लेषकको हेराइमा घरेलु मोर्चामा चुनौतीबाट घेरिएको र आर्थिक रुपमा कमजोर देखिएपनि रुसको बढ्दो अन्तर्राष्ट्रिय प्रभावको पछाडिको कारण वर्तमान अमेरिकी प्रशासनको गलत नीति हो। इरानसँगको परमाणु सम्झौता तोड्ने अमेरिकी एकतर्फी घोषणाले पश्चिमा मुलुक असन्तुष्ट छन्। उता चीनसँग अमेरिकाले व्यापार युद्ध छेडेको छ। यही कारण चीन र रुसबीचको सम्बन्ध गहिलो बन्दै गएको छ। दुवै देशबीच सैन्य र आर्थिक साझोदारी बढिरहेको छ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार रुसमा २०१७ मा चीनको प्रत्यक्ष लगानी ७२ प्रतिशतले बढेको छ। अहिले चीनले नै रुसबाट सबैभन्दा धेरै तेल खरिद गर्छ। रुससँग चीनको घनिस्टता बढेका कारणबाट जी–२० मा शी जिनपिङसँग भेटवार्तापछि व्यापार युद्धको आशंकालाई ९० दिनसम्मकालागि स्थगित गरिएको छ। उता रुस हतियार बेच्ने देशमा अमेरिकापछि दोस्रो स्थानमा छ। विश्वभरका २० प्रतिशत हतियार रुसमा उत्पादन हुन्छन्। शीत युद्धका क्रममा सबै राजनीति रुसलाई कसैगरी पनि मध्यपूर्वबाट हटाउनुपर्छ भन्नेमा केन्द्रित थियो। आर्थिक मोर्चामा रुसको समस्या बढ्दै गएको छ। तर, सीरियासँगको युद्धदेखि तेललाई लिएर अन्तर्राष्ट्रिय स्तरमा हुने खेलसम्ममा पटिनको कार्यकालमा रुसको दबदबा बढ्न थालेको छ।

राष्ट्रपति ट्रम्प युक्रेनको विषयलाई लिएर रुससँग रिसाएका छन्। रुसले युक्रेनका तीन जहाज र चालक दलका सदस्यसमेतलाई आफ्नो कब्जामा दिएको थियो। ट्रम्पले यो विषयमा आपत्ति जनाउँदै यो विवादको समाधान चाँडै गर्न सुझाव दिएका थिए। र यही कारण जी–२० सम्मेलनमा ट्रम्पले पुटिनसँगको भेट रद्दसमेत गरेका छन्।  यदि साउदी अरबको झुकाव यदि अमेरिकाको ठाउँमा रुसतर्फ भयो भने यो अमेरिकाकालागि निकै ठूलो नोक्सानी हुन्छ भने रुसकालागि अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो कुटनीतिक उपलब्धिका साथै आर्थिक मोर्चामा पनि ठूलो जित हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?