जिल्ला पार्टीको कार्यक्रममा देउवा, सिंह र गगन थापाबीच व्यंग्य हानाहान
सारांश
- पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न सक्दैन : देउवा काठमाडौँ, ८ वैशाख ।
- नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् ।
- नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाए ।
पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न सक्दैन : देउवा
काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात हुन लागेको बताएका छन् ।
नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिले नयाँ वर्षका अवसरमा आज आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले सरकारले राजश्व विभाग, राष्ट्रिय अनुसन्धान विभागलगायतलाई प्रधानमन्त्री कार्यालयमा राखेर मुलुकमा अधिनायकवादी शासन व्यवस्थाको शुरुवात गर्न खोजेको आरोप लगाए ।
“अधिनायकवादी र सर्वसत्तावादी कम्युनिष्ट पार्टीको खिलाफमा कांग्रेस एकजुट भएर लाग्नुपर्छ”, देउवाले भने । प्रदेशसभा र प्रतिनिधि सभामा पार्टीले भोग्नुपरेको पराजयलाई अवसरका रुपमा बदलेर संगठन निर्माणमा लाग्नुपर्ने उनले सुझाए । पार्टीभित्र देखिएको छाडातन्त्रबाट कांग्रेस चल्न नसक्ने उनको भनाइ थियो ।
सभापति देउवाले पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र विभागले चाँडो पूर्णता पाउने बताए । उनले पार्टीभित्रको अन्तर्घातका कारण २० भन्दा धेरै नेताले निर्वाचनमा पराजय भोगेको भन्दै अब पार्टीलाई विवादरहित तवरले एकढिक्का बनाएर अगाडि लैजाने दृढता व्यक्त गरे । दुई ठूला कम्युनिष्ट पार्टी एक भएको र कांग्रेसभित्रको अन्तर्घातले पार्टी पराजित भएको उनको भनाइ थियो ।
पार्टीका महामन्त्री डा. सशाङ्क कोइरालाले पार्टीलाई एकढिक्का बनाएर लैजान सभापतिलाई आग्रह गरे । “इतिहास, विचार र कार्यकर्ता भएको पार्टीले यी तीनै कुरालाई जनतामाझ लैजान सकेमात्र कांग्रेसको भलो हुन्छ”, उनले भने । महामन्त्री डा. कोइरालाले काङ्ग्रेसले अहिलेसम्म गरेको राम्रो कामलाई कार्यक्रम बनाएर जनतामाझ लैजानुपर्ने बताए ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक पार्टी विधिसम्मत ढंगले चल्न नसक्दा निर्वाचनमा पराजय भोगेको बताए । दुई पार्टी मिलेर कांग्रेस हारेको भन्नु तर्कमात्र भएको उनको भनाइ थियो ।
नेता सिंहले निर्वाचन भएको दुई महिनामा पदाधिकारी, केन्द्रीय समिति र विभाग गठन गर्नुपर्ने भए पनि पार्टी नेतृत्वबाट उक्त काम हुन नसक्दा धेरै कार्यकर्ताले काम नपाएको बताए । केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले कांग्रेसभित्र वृहत एकता आवश्यक रहेको बताए ।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले एउटै व्यक्तिलाई बारम्बार अवसर दिने र पार्टी र संगठनमा काम गरेका व्यक्तिलाई अवसरबाट वञ्चित गर्दा पार्टी कमजोर बन्दै गएको बताए । केन्द्रीय सदस्य अम्बिका बस्नेतले इकाइदेखि केन्द्रसम्मका व्यक्तिले आफ्नो भूमिका निर्वाह गर्न लागेमात्र पार्टीलाई बलियो बनाउन सकिने बताए ।
केन्द्रीय सदस्य गगन थापाले पार्टी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्ने भन्दै कांग्रेस अब संगठन बलियो बनाउने र भोट बढाउने बाटोमा लाग्नुपर्ने बताए । पूर्वमन्त्री भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतले पार्टीभित्र झगडाभन्दा बहस गरेर अगाडि बढेमात्र पार्टी सफल हुने बताए ।
एकदिने भेलामा पार्टी जिल्लाका नेता तथा कार्यकर्ताबाट आएको सुझावलाई समावेश गरी केन्द्रीय समितिमा पठाइने काठमाडौँ कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।
प्रतिक्रिया