आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !

सारांश

  • सुरुङ्गा, २३ वैशाख , कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।
  • कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ ।
  • यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो ।

सुरुङ्गा, २३ वैशाख , कतिपय सामुदायिक विद्यालयलाई विद्यार्थी अभाव भएर दरबन्दी कटौती होला भन्ने चिन्ता छ तर, कनकाई नगरपालिका–३ स्थित कनकाई माध्यमिक विद्यालयलाई आएका विद्यार्थीलाई व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

कनकाई मावि सुरुङ्गामा नेपाली माध्यमका अलावा विगत आठ वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन हुँदैआएको छ । यसप्रति आकर्षित भएर त्यस क्षेत्रका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढेपछि विद्यार्थी व्यवस्थापनमा समस्या भएको हो । विद्यालयको क्षमता एक हजार ५०० भए पनि हाल दुई हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । क्षमताभन्दा बढी विद्यार्थी भएर विद्यालयले विद्यार्थी थेग्न नसक्दा विगतका वर्षदेखि नै प्रवेश परीक्षा लिन थालेको छ ।

सुरुङ्गामा रहेका नाम चलेका निजी विद्यालय पशुपति, हरिकुल, प्यारागन, देवकोटा, झापा मेरिगोल्डलगायतमा अध्ययनरत विद्यार्थी ती विद्यालय छाडेर सामुदायिक विद्यालयतर्फ आकर्षित भएका छन् । निजी विद्यालयबाट मात्रै यो वर्ष झण्डै ३०० विद्यार्थी आएका छन् । यो शैक्षिकसत्रका लागि कनकाई माविमा भर्ना हुन ३०० भन्दा बढीले प्रवेश परीक्षा दिएकामा १९५ जना मात्र उत्तीर्ण भएको विद्यालय स्रोतले जनाएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप लागिरहेका बेला कनकाई माविमा भने विद्यार्थी थेग्न नसकेर विद्यालय प्रशासनलाई समस्या भएको विद्यालयका सहायक प्रधानाध्यापक हरिप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यालयमा विद्यार्थीको चाप अधिक रहेकाले वर्ग विभाजन गर्नुपरेको छ ।”

विद्यार्थीको चापका कारण खानेपानी र शौचालयको समस्या चर्केको छ । विज्ञान समूहका कक्षाबाहेक कक्षा ११ र कक्षा १२ का कक्षाहरु बिहानीसत्रमा सञ्चालित छन् । बाँकी एक हजार ७०० भन्दा बढी विद्यार्थीको दिवासत्रमै पठनपाठन हुने भएकाले बसाइ व्यवस्थापन, खानेपानी र शौचालयको समस्या बढ्दै गएको छ ।

कनकाई माविमा कक्षा ८ मा मात्रै २०० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई चार वटा वर्गमा राखेर पठनपाठन गराइँदै आइएको छ । त्यस्तै कक्षा ९ मा छ वटा वर्ग छन् भने कक्षा १० मा पाँच वटा वर्ग बनाएर विद्यार्थीलाई राखिएको छ । प्रत्येक वर्गमा ५० भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । तल्लो कक्षाको तुलनामा माथिल्लो कक्षामा विद्यार्थीको चाप अधिक रहेकाले पठनपाठनमा समस्या रहेको विद्यालयका अर्का सहायक प्रधानाध्यापक कर्णबहादुर डाँगीले बताउनुभयो ।

कनकाई माविमा ४२ जनाको दरबन्दी छ । दरबन्दीमा रहेका शिक्षकबाट मात्र विद्यालय सञ्चालनमा समस्या भएपछि निजी दरबन्दीमा २२ जना शिक्षकलाई राखिएको छ । शिक्षकलाई तलब खुवाउन समस्या भएर पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमले बताउनुभयो ।

विसं २०१५ मा स्थापित कनकाई मावि त्यस क्षेत्रको पुरानो विद्यालय हो । उक्त विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि विद्यार्थीसँगै अभिभावकको समेत चहलपहल बढेको छ । कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट र ६ देखि १२ कक्षासम्म नेपाली र अंग्रेजी माध्यमका अलग–अलग वर्गमा पठनपाठन भएपछि अभिभावकको रुचि सामुदायिक विद्यालयतर्फ गएको हो ।

शिक्षकलाई तलब खुवाउन दाताको भर

विद्यालयको आन्तरिक स्रोतबाट राखिएका २२ जना शिक्षकलाई तलब खुवाउन अहिले विद्यालय प्रशासनलाई धौ–धौ छ । विद्यालयको जग्गाबाट रु २१ हजार आम्दानी भए पनि मालपोत नै रु एक लाखभन्दा बढी तिर्नुपरेपछि विद्यालय प्रशासनलाई समस्या छ । त्यसका अलवा विद्यालयको अन्य कुनै स्रोत नभएकाले शिक्षकलाई तलब खुवाउन दाताको भर पर्नुको विकल्प नरहेको विद्यालयका प्रधानाध्यापक निर्मलकुमार खतिवडाले बताउनुभयो ।

विद्यार्थीका अभिभावकबाट सहयोग जुटाएर शिक्षकलाई तलब खुवाउनुपर्ने अवस्था हुँदा पनि सम्बन्धित निकायले विद्यालयलाई नहेरेको बताइएको छ । कनकाई माविको विद्यालय हाताभित्र छ बिगाह १५ कट्ठा जमिन छ भने बाहिर विद्यालयको नाममा ५२ बिगाह जमिन भए पनि लाभ लिन सकिएको छैन ।

विद्यालयको नाममा रहेको धेरैजसो जग्गा नदी किनारमा छ, जहाँ बर्खे बाली लगाउन समस्या छ । लिजमा लिएकाहरुले हिउँदे बालीका रुपमा खरबुजा, काँक्रा लगाउने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीले विद्यालयको जग्गाबाट प्राप्त आम्दानीभन्दा बढी मालपोत, राजश्व तिर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने र यसका लागि कनकाई नगरपालिका, नागरिक समाज र जग्गा कमाउनेहरुले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नमूना विद्यालयको चर्चामा कनकाई

झापाका साविककै सात वटा निर्वाचन क्षेत्रमा एक–एक वटा र बिर्तामोड नगरपालिकामा रहेको महेन्द्ररत्न मावि अनारमनीलाई नमूना विद्यालय बनाउन शिक्षा मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रस्तावसहित शिक्षा मन्त्रालयले बजेट खाका अर्थमन्त्रालय पठाएको छ । शिक्षा मन्त्रालयले उनीहरुबाट भौतिक, प्रशासनिक, व्यवस्थापकीय र सुशासनसम्बन्धी पाँच वर्षे रणनीतिक कार्ययोजना पनि माग गरिसकेको छ । मन्त्रालयको मागसँगै भौतिक नक्साङ्कनसहितको कार्ययोजना मन्त्रालयलाई बुझाइएको छ, जसमा कनकाई मावि पनि समावेश छ ।

नमूना विद्यालयको चर्चासँगै निकट भविष्यमा शैक्षिक गुणस्तर अझ सुध्रने अपेक्षाले अभिभावकको रुची सामुदायिक विद्यालयप्रति बढेको बताइन्छ । नमूना विद्यालयका लागि कनकाई माविले रु एक अर्ब ३१ करोडको योजना पेश गरेको विद्यालयका आधारभूत इञ्चार्ज खेमराज भट्टराईले बताउनुभयो ।

शिक्षकका छोराछोरी पनि कनकाई मै

कनकाई माविका शिक्षकहरु स्वयंले आफ्ना नानीहरुलाई आफैँ अध्यापन गर्ने विद्यालयमा भर्ना गरेका छन् । यो क्रम केही वर्षअघिदेखि नै शुरु भएको हो ।

अंग्रेजी माध्यममा पठनपाठन शुरु भएपछि सोही विद्यालयबाट विगतमा शिक्षक तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, शारदा पाठक, गोपीकृष्ण भट्टराई, चन्द्रप्रसाद शिवाकोटी र जिवेन्द्र घिमिरेका छोराछोरीले एसएलसी उत्तीर्ण गरिसकेका छन् । हाल सहायक प्रधानाध्यापक डाँगी, शिक्षकहरु तीर्थराज खरेल, चन्द्रप्रसाद पोखरेल, जानुका चम्लागाईका नानीहरु र शिक्षक विक्रम बानियाँकी बहिनी अध्ययनरत छन् ।

शिक्षक र अभिभावकको विद्यालयप्रति यति धेरै आकर्षण हुँदा पनि कतिपयमा शैक्षिक गुणस्तरमा शंका रहेको पाइन्छ । यसमा व्यवस्थापन समितिका पदाधिकारीहरु पनि छन् ।

निजी स्रोतका शिक्षकका आफ्नै समस्या

कनकाई माध्यमिक विद्यालयमा निजी स्रोतमा कार्यरत शिक्षक आफूहरु समस्यामा रहेको बताउँछन् । निम्न माध्यमिक तहमा नियुक्त भएर पनि मावि तहमा अध्यापन गराइरहेको र योग्यता पुगेर पनि सेवा सुविधामा विद्यालयले नहेरेको अंग्रेजी माध्यमतर्फ सामाजिक विषयका शिक्षक राजेन्द्र खनालले बताउनुभयो । समान कामका लागि सेवा सुविधामा विभेद हुन नहुने उहाँहरुको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
पालो पुर्‍याउन मन्त्री हेरफेरको प्रयास
सुनकोसीमा मरे ५० बाख्रा
सुनकोसीमा मरे ५० बाख्रा
विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
पाँच बर्षभित्र पार्टीलाई देशको नेतृत्वमा पुर्‍याउने राप्रपाको लक्ष्य, यस्ता छन् केन्द्रीय समितिका निर्णय
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
तिन दिन देखि हराएका बृद्ध जंगलमा मृत फेला
साउनको दोस्रो साता यी मन्त्रीहरु पदमुक्त हुन सक्छन !
संविधानमा मूल भावना समेटिएकाे छैन : उपेन्द्र यादव
संविधानमा मूल भावना समेटिएकाे छैन : उपेन्द्र यादव
चीनको जल सिमामा अमेरिकाको युद्धपोत, चीनको कडा जवाफ
चीनको जल सिमामा अमेरिकाको युद्धपोत, चीनको कडा जवाफ
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’
आइजिपी खनाललाई प्रहरी जवानकाे प्रश्न ‘के मेरो अपराध निर्मलाको हत्याको प्रमाण मेट्ने भन्दा ठुलो हो ?’

तपाईंले छुटाउनुभयो कि?