झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
सारांश
- काठमाडौं ।
- पहिलो चरण र दोस्रो चरणमा गरी एमालेले निर्वाचन भएका ६ सय १७ तहमध्ये २ सय ७६ पदमा प्रमुख/अध्यक्ष पद जितेको छ ।
- र, पहिलो दल बनेको छ ।
काठमाडौं । पहिलो चरण र दोस्रो चरणमा गरी एमालेले निर्वाचन भएका ६ सय १७ तहमध्ये २ सय ७६ पदमा प्रमुख/अध्यक्ष पद जितेको छ । र, पहिलो दल बनेको छ । त्यस्तै एमालेले हालसम्म ३ सय ११ तहमा उपप्रमुख जितेको छ ।
प्रमुख भन्दा उपप्रमुख बढी जितेकाले एमालेलाई निर्वाचन परिणामले सशंकित बनाएको छ । दोस्रो चरणको निर्वाचनमा केही जिल्लामा ‘आफ्नैले हराएको’ भएको भन्दै उसले ‘निर्मम समीक्षा’ गर्न मातहतका कमिटीलाई निर्देशन नै दिएको छ ।
कतिपय ठाउँहरुमा भएका अनपेक्षित हारको समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन उसले प्रदेश तथा जिल्ला कमिटीहरूलाई निर्देशन नै दिएको हो ।
जिल्ला अध्यक्ष नै पराजित
पहिलो चरणको निर्वाचनमा १२ तह रहेको सिन्धुपाल्चोकमा एमालेले ९ तह जित्दा जिल्ला अध्यक्ष जोगाउन सकेन । २ सय मतान्तरले एमालेका झम्क नेपाल कांग्रेसका वंशलाल तामाङसँग पराजित भए । ‘अन्तर्घात गरेर जिल्ला अध्यक्षलाई हराइएको’ टिप्पणी अहिले सिन्धुपाल्चोकका एमालेले गर्न थालेका छन् ।
दोस्रो चरणको निर्वाचनमा एमालेका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकले पनि चुनाव जित्न सकेनन् । बुद्धशान्ती गाउँपालिकाको अध्यक्ष पदमा उठेका उनी कांग्रेसका रमेश भुजेलसँग पराजित भए । भुजेलले ७ हजार ९ सय ३६ ल्याउँदा पाठकले ७ हजार ३ सय ५३ ल्याए । झापामा एमालेका अध्यक्ष मात्रै होइन सचिवले पनि चुनाव जितेनन् । जिल्ला सचिव मदन अधिकारी गौरादह नगरपालिकामा पराजित भए । अधिकारी कांग्रेसका रोहितकुमार शाहसँग पराजित भए । जबकि गौरादह पार्टी अध्यक्ष केपी ओलीको ठाउँ र एमालेको प्रभाव क्षेत्र पनि हो । यी दुवै ठाउँमा एमालेले नै एमालेलाई हराएको ओली स्वयम्ले विश्लेषण गरेका छन् ।
मोरङ जिल्ला अध्यक्ष विनोद ढकाल विराटनगर महानगरको मेयरमा उठेका थिए । उनी पनि पराजित भए ।
फिदिम नगरपालिका प्रमुखमा उठेका एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी कांग्रेसका ओनहाङ नेम्वाङसँग हारे । बर्दिया जिल्ला अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिका प्रमुखमा कांग्रेसका मुक्तिनाथ यादवसँग पराजय बेहोरे ।
प्यूठान जिल्ला अध्यक्ष तुलसीराम शर्मा, रुकुमका विमल पुन र ललितपुरमा हरिकृष्ण व्यञ्जनकार लगायत एमाले जिल्ला अध्यक्षलाई पनि यो चुनावले निराश बनायो । चुनाव जित्न सकेनन् ।
अतर्घातका कारण हारेका ठाउँ
एमालेले ३० बढी ठाउँमा अन्तरघात भएको प्रारम्भिक समीक्षा गरेको छ । झापा गौरादह, बुद्धशान्ति, हल्दिबारी, गौरीगञ्ज, मेची नगरपालिकामा एमालेको पराजयको कारण अन्तर्घातलाई औँल्याइएको छ । मोरङको रतुवामाई, केराबार, लेटाङ, सुन्दर हरैँचामा पनि अन्तर्घात भएको पार्टीको विश्लेषण छ । जित्ने लगभग पक्कापक्की देखिएका भोजपुर नगरपालिका, षडानन्द नगरपालिका पनि गुमाउनु परेको आक्रोश पार्टीमा सुनिन थालेको छ ।
कपिलवस्तुको वाणगंगा, बुद्धभूमि, पाँचथरको फिदिममा पनि व्यापक अन्तर्घात भएको प्रारम्भिक गुनासो आएको एमाले संगठन विभागले जनाएको छ ।
पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रुपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी र विनायक नगरपालिका, बाँकेको राप्ती सोनारीलगायत स्थान एमाले कार्यकर्ताकै अन्तर्घातका कारण गुमाउनु परेको एमालेको बुझाइ छ ।
प्रतिक्रिया