राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
राहुघाट आयोजनाको मुख्य सुरुङ प्रायः पूरा

सारांश

  • म्याग्दी।
  • नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।
  • प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो।

म्याग्दी। नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो। रघुगंगा गाउँपालिका-४ दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापक राजबहादुर विष्टले बताए।

“छ हजार दुई सय मिटरमध्ये शनिबारसम्म छ हजार एक सय ८७ मिटर सुरुङ निर्माण भएको छ”, उनले भने, “केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ ।” तीन हजार आठ सय ३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो।

रघुगंगा गाउँपालिका-३ पिप्लेस्थित मुख्य सुरुङको आउटलेट (अन्तिम विन्दु)बाट तिल्केनीचौरमा निर्माणाधीन विद्युत्गृहमा पानी खसाल्ने पाइप लाइन राख्ने एक हजार ४९ मिटर लामो ‘प्रेसर साफ्ट’ सुरुङ गत जेठ महिनामा जोडिएको थियो।

मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो। पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मङ्सिरमा सम्झौता भएको थियो।

विसं २०७६ कात्तिकमा ठेक्का सम्झौता गरेको इलेक्ट्रिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले भारतमा निर्माण गरेका उपकरणको परीक्षण गरी आयातको प्रक्रिया अघि बढाइएको छ। इलेक्ट्रोमेकानिकलतर्फको भौतिक प्रगति २२ प्रतिशत छ।

रघुगंगा गाउँपालिकाको वडा नं ४ दग्नाम र ५ नं वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रताका साथ भइरहेको छ।

घुमाउनेतालबाट ११ किलोमिटर पहुँचमार्ग र एकवटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सिधा सडकले जोडिएको छ। कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?