देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २१, २०७४
|
|
१७ पटक हेरिएको
Shares
देउवाको किल्लामा कांग्रेस हार्नुका मुख्य ४ कारण

सारांश

  • डडेल्धुरा, असार २१ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाको चुनाव नतिजाले कांग्रेसलाई स्तब्ध पारेको छ ।
  • देउवाले डडेल्धुरामा २०४८ देखिका कुनै पनि चुनावमा पराजय भोग्नु भएको थिएन् ।
  • तर यस पटकको स्थानीय तह चुनावको परिणामले कांग्रेस डडेल्धुरा स्तब्ध भएको छ ।

डडेल्धुरा, असार २१ – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाको चुनाव नतिजाले कांग्रेसलाई स्तब्ध पारेको छ ।

देउवाले डडेल्धुरामा २०४८ देखिका कुनै पनि चुनावमा पराजय भोग्नु भएको थिएन् । तर यस पटकको स्थानीय तह चुनावको परिणामले कांग्रेस डडेल्धुरा स्तब्ध भएको छ ।

जिल्लाका ७ स्थानीय तह मध्ये कांग्रेसले ४ तहमा मात्र जित हात पार्‍यो भने जिल्ला सदरमुकामको अमरगढी नगरपालिकासहित ३ स्थानीय तहबाट हात धुनु पर्‍यो । देउवाको कांग्रेसलाई जिताउन गृह जिल्लाको चार दिनको बसाई त्यसै खेर गए जस्तो भएको छ ।

देउवाको गृह जिल्ला भएकाले डडेल्धुरालाई कांग्रेसको किल्ला भनेर चिनिन्छ । कांग्रेसको किल्ला मानिले अमरगढी नगरपालिकामा बहुमत वडाहरुसहित  प्रमुख र उपप्रमुखमा एमालेले जितेको छ । तर यसअघि २०४९ र २०५४ को दुवै स्थानीय चुनावमा कांग्रेसले सबै वडासहित मेयर र उपमेयर जितेको थियो  ।

प्रमुखमा एमालेका बिपिन ओझा १ सय २८ मत अन्तरले विजयी हुनुभयो । एमालेले जिते लगत्तै उपाध्यक्ष भीम रावल डडेल्धुरा आउनुभयो । बसपार्कमा आयोजित विजय सभामा बोल्दै उहाँले यसपाली कांग्रेसको किल्ला भत्काएर एमालेले आफ्नो झण्डा फरफराएको दाबी समेत गर्नुभयो ।

यी हुन कांग्रेस स्तब्ध हुनुका ४ कारण

१) कर्ण मल्ल र रघुवर भट्टका अलग गुट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको  पनि डडेल्धुरामा दुई उपगुट हुनु कांग्रेस हार्नुको प्रमुख कारण मानिएको छ । जिल्ला सभापति कर्णबहादुर मल्ल र पूर्व पार्टी सभापति रघुवर भट्टका अलग गुट रहेका छन् ।  ति दुवै पक्ष नेपाली कांग्रेसको छैटौं जिल्ला अधिवेशनबाट नै दुईवटा गुटमा विभाजन भएका थिए । रघुवर भट्ट प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर मल्ल खुम बहादुर खड्काको नजिक मानिन्छन् । कांग्रेस भित्रको यी दुई गुटमा तालमेल नमिल्नु नै हारको प्रमुख कारण रहेको केही बिश्लेषकहरुको भनाई रहेको छ ।

२) असन्तुष्ट पक्षको अन्तरघात 

चुनावको पूर्व सन्ध्यामा असन्तुष्ट भएको समूहको एक विशेष  बैठक बसेर कांग्रेसलाई  भोट नहाली एमालेलाई भोट हाल्ने निर्णय गरेको आरोप असन्तुष्ट समूहलाई लागेको छ । ‘आफूहरुले टिकट नपाएको भन्दै उनीहरुले चुनावको एक दिन अगाडि मात्रै कांग्रेसलाई भोट नहाल्ने निर्णय गरेका हुन्’ एक कांग्रेस कार्यकर्ताले नाम उल्लेख नगर्ने सर्तमा भने ।  आफूहरुले टिकट नपाए पछि कांग्रेसले नै कांग्रेसलाई हारको स्वाद चखाएको कांग्रेस कार्यकर्ताले नै बताउने गरेका छन् । कांग्रेसले कांग्रेसीलाई भोट नदिएर अन्तरघात गर्ने कार्यकर्तालाई पार्टीले कडा कारवाही गर्नुपर्छ भन्दै अर्को समूहले आइतबार प्रदर्शन  समेत गरेको छ ।

३) टिकट वितरण प्रक्रियामा कार्यकर्ताको चरम असन्तुष्टी

दुई समूहमा रहेको डडेल्धुरा कांग्रेस कार्यकताको टिकटमा असन्तुष्टी रहेको थियो । अमगढी नगरपालिकाको मेयर तथा उपमेयर पदमा रघुवर भट्ट निकट क्रमशः दिल्ली राज जोशी र पार्वती झुकालले टिकट पाएको भन्दै अर्को पक्ष असन्तुष्ट भएको थियो । सभापति देउवाले नै टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेल्धुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन र पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।  मनोनयन हुनु भन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनका उत्रिएका थिए ।

४) टिकट भएको प्रक्रियामा ढिलाई

डडेल्धुरामा कांग्रसको बलियो प्रतिद्वन्द्वी मानिएको नेकपा एमालेले आफ्ना उमेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिना पछि मात्र कांग्रेसले टिकट वितरण गर्नु पनि कांग्रेस हारको कारण बनेको छ ।  एमाले तर्फका उम्मेदवार हरेक वडाका दोहार्‍याएर तेहर्‍याएर मत माग्न पुगिसक्दा मनोनयन दर्ताको चार दिन अगाडि मात्र कांग्रेस उम्मेदवारको टुङ्गो लागेको थियो । टिकट प्रक्रियामा ढिलाई भएका कारण कांग्रेसको तयारी नपुग्नु हारको कारण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?