बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कार आवश्यक : प्रदेश सभामुख घर्ती
सारांश
- गणेश ओली दाङ, १७ चैत्र ।
- पाँच नम्बर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मैले बाबुआमालाई पालेको छु भन्ने हैन कि म बृद्ध बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कारको आवश्यकता रहेको बताएका छन् ।
- जेष्ठ नागरिक महासंघको राष्ट्रिय सम्मेलन एवं छैठाँै महाधिवेशनको उद्घाटन शनिवार घोराहीमा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सभामुख घर्तीले पछिल्लो समय पूँजीवादका कारण परिवारहरु छिन्नभिन्न हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
गणेश ओली
दाङ, १७ चैत्र । पाँच नम्बर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले मैले बाबुआमालाई पालेको छु भन्ने हैन कि म बृद्ध बाआमासँग बस्छु भन्दा गर्व गर्ने संस्कारको आवश्यकता रहेको बताएका छन् । जेष्ठ नागरिक महासंघको राष्ट्रिय सम्मेलन एवं छैठाँै महाधिवेशनको उद्घाटन शनिवार घोराहीमा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै सभामुख घर्तीले पछिल्लो समय पूँजीवादका कारण परिवारहरु छिन्नभिन्न हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
“शहरीकरण, विकास, पूँजीवाद जस्ता कारणले छिमेकी, परिवार टाढा हुँदै गएका छन्”, उनले भने, “गाउँले जीवन भन्दा शहरिया जीवनको परिवार विखण्डन हुँदै गएको छ ।” आधुनिक युगमा पूँजीवादले परिवारको अपनत्व गराउन नसकेको, एकै ठाउँमा भए पनि मन फरक फरक ठाउँमा हुने गरेको उनको भनाई थियो । “जीवनभर लालनपालन र शिक्षादीक्षा दिने आमाबाबुलाई छोराहरुले पालेको छु भनेर भन्ने संस्कार विकास भएको छ”, उनले थपे, “आमाबाबालाई पालेको हैन म आकाबासँग बसेको छु भनेर गर्व गर्ने संस्कार विकास गर्न जरुरी छ ।” घर्तीले जेष्ठ नागरिकहरु ज्ञान, अनुभव र क्षमताले भरिपूर्ण भएको भन्दै उनीहरुको त्यस क्षमता राज्यले सदुपयोग गर्न जरुरी रहेको पनि बताए । अहिले संघ, प्रदेश र स्थानीय तहको सरकार गठन भइसकेको भन्दै उनले सबै तहले जेष्ठ नागरिकको सरोकारका विषयमा गम्भीर भएर कानून निर्माण गर्नुपर्ने र त्यसलाई लागु गर्न तत्परता देखाउनु पर्ने बताए ।
बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले पछिल्लो समय आदरभाव, सेवाभाव घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवहार परिवर्तन गर्न आवश्यक रहेको औल्याएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती गौतम, नेकपा माओवादी केन्द्रका लुमबहादुर कार्की, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले राजनीतिक दल, स्थानीय सरकार जेष्ठ नागरिक प्रति जिम्मेवारी बोध गरेर अघि बढिरहेको बताएका थिए । जुन घरमा बाबुआमालाई श्रद्धा गरिन्छ त्यस घरमा मात्रै सुख र शान्ति प्राप्त हुने बताएका थिए । उनीहरुले मानिस त्यसै वृद्ध नहुने भन्दै जीवनभर उनीहरुले समाजका लागि गरेको योगदानको कदर स्वरुप पनि परिवार र समाजले उनीहरुको सम्मान गर्नु पर्ने पनि औल्याएका थिए ।
यसैगरी उद्घाटन अवसरमा मन्तव्य दिदै प्रदेश नम्बर १ का भवानी प्रदाश दाहाल, २ का शंकरमान दाष, ३ का देवीप्रसाद देवकोटा, ४ का कुसुमकेशव पराजुली, ५ का वीनबहादुर पौडेल, ६ का बालकृष्ण श्रेष्ठ र ७ का शारदा चन्दले बृद्धाश्रम कारागार जस्तै भएको भन्दै जेष्ठ नागरिकहरुलाई घरमा नै सम्मानित जीवन जिउने बातावरणको लागि सचेतना आवश्यक रहेका औंल्याएका थिए । जेष्ठ नागरिकले घरमा बसेर घरवारीको चौकीदारी, बालबालिकाको हेरचाह गरेर केयर गिभर र घरका परिवारहरुको सूचना आदान प्रदान गरेर जनसम्पर्कको काम गरिरहेको भन्दै उनीहरु बोझका रुपमा हैन सन्तानका लागि बसिरहरेको हुन्छन् भन्ने धारणा निर्माण गरिनुपर्ने औंल्याएका थिए ।
सोही अवसरमा निर्वाचक मण्डलका निर्वाचन अधिकृत नारायणप्रसाद धितालले निर्वाचन तालिका, महासचिव छत्र प्रधानले प्रतिवेदन र भावी कार्ययोजना, डा. चिन्तामणि योगीले प्रमुख वक्ताको रुपमा आफ्ना कुरा राखेका थिए । हरिप्रसाद पाण्डेले सहजीकरण गरेको कार्यक्रमको स्वागत भोलानाथ योगीले गरेका थिए भने कार्यक्रमको अध्यक्षता मदनदास श्रेष्ठले गरेका थिए ।
सो कार्यक्रममा महासंघको स्मारिका र एउटा साहित्यिक पुस्तकको विमोचन गरिएको थियो भने जेष्ठ नागरिकको क्षेत्रमा सेवारत व्यक्ति र संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । सोही अवसरमा विभिन्न व्यक्तिहरुले अक्षयकोष स्थापनाका लागि घोषणा पनि गरेका थिए ।
प्रतिक्रिया