बालकोटस्थित ओली निवास बन्यो मन्त्री ‘क्वार्टर’ !
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष केपी ओली सरकारी निवास बालुवाटार सरे ।
- ओलीको भक्तपुरस्थित बालकोटमा रहेको घर खाली थियो ।
काठमाडौं । प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष केपी ओली सरकारी निवास बालुवाटार सरे । ओलीको भक्तपुरस्थित बालकोटमा रहेको घर खाली थियो ।
तर, प्रधानमन्त्री ओलीको बालकोटमा खाली रहेको घरमा सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा सरेका छन् । राज्यमन्त्री बनेका बास्कोटा सरकारी आवासको सट्टामा प्रधानमन्त्रीको निजि निवासमा पुगेका हुन् ।
मन्त्रीक्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरेका हुन् । मन्त्रीक्वार्टर खोज्दै जाँदा बास्कोटा बालकोट पुगेका हुन् ।
अब राज्यमन्त्री बास्कोटा झण्डावाला गाडीसहित ओली निवासमा आउने जाने गर्छन् । राज्यको सम्पति सदुपयोग गर्ने हेतुले आफू पार्टी अध्यक्षको घरमा आइपुगेको बास्कोटाले प्रतिक्रिया पनि दिएका छन् ।
बास्कोटाले ओलीको बालकोटस्थित घरमा बसुन्जेल मन्त्रीले आवास वापत पाउने भाडा रकमसमेत नलिने बताए । राज्यकोषको रकम दुरुपयोग कम हुने भन्दै बास्कोटाले प्रधानमन्त्रीको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त आफूले लागू गरेको बताए ।
उनले भने, ‘प्रधानमन्त्रीले मसँग घर भाडा लिनुहुन्न, म पनि सरकारी कोषबाट घरभाडा लिन्न । सदुपयोगको सिद्धान्त यहीँबाट लागू हुन्छ ।’
मन्त्रीहरुका लागि राज्यले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मन्त्री क्वार्टरको व्यवस्था गरेको छ । तर, सबै मन्त्रीलाई पुल्चोकमा पर्याप्त भवन नभएपछि काठमाडौंमा घर हुने आफ्नै घरमा बस्छन् भने अरुले घरभाडा पाउने गर्छन् ।
प्रतिक्रिया