हेर्नुस् अब कुन प्रदेशमा कसको सरकार बन्दै छ ?
सारांश
- काठमाडौं, २ पुस– पहिलो पटक संघीयताको संरचना कार्यान्वयन हुन लागेका बेला ७ प्रदेश मध्ये ६ वटामा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ ।
- प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको नतिजा आएपछि २ नं प्रदेश बाहेक बाँकी सबै प्रदेशमा एमाले माओवादी गठबन्धनको प्रष्ट बहुमत देखिएको हो ।
- वाम गठबन्धनको तालमेल नै नभए पनि ७ मध्ये ३ वटा प्रदेशमा एमालेले एक्लै बहुमत ल्याएको छ ।
काठमाडौं, २ पुस– पहिलो पटक संघीयताको संरचना कार्यान्वयन हुन लागेका बेला ७ प्रदेश मध्ये ६ वटामा वाम गठबन्धनको सरकार बन्ने पक्का भएको छ । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको नतिजा आएपछि २ नं प्रदेश बाहेक बाँकी सबै प्रदेशमा एमाले माओवादी गठबन्धनको प्रष्ट बहुमत देखिएको हो ।
वाम गठबन्धनको तालमेल नै नभए पनि ७ मध्ये ३ वटा प्रदेशमा एमालेले एक्लै बहुमत ल्याएको छ । प्रदेश नं १, ३ र ६ मा प्रादेशिक सरकार बनाउन पुग्नेगरी एमाले एक्लैले बहुमत ल्याएको हो । प्रदेश नं २ मा भने कुनै पनि दलको बहुमत छैन । प्रदेश नं २ मा फोरम र राजपा मिल्दा पनि प्रादेशिक सरकार बनाउन एक सिट पुग्दैन । यहाँ एमाले, माओवादी वा कांग्रेस मध्ये कुनै दलको सहयोग मधेसी दललाई चाहिने देखिएको छ ।
यस्तो छ प्रादेशिक सरकारको चित्र
प्रदेश नं १
प्रदेश नं १ को प्रदेशसभामा जम्मा सदस्य ९३ छन् । जसमध्ये एमाले प्रत्यक्ष ३६ र समानुपातिक १६ गरी ५२ सदस्य निर्वाचित भएका छन् । सरकार बनाउन आवश्यक पर्ने बहुमत ४७ हो । तर, एमाले एक्लैको ५२ छ । यहाँ माओवादीका प्रत्यक्ष १० र समानुपातिक ५ गरी १५ सदस्य निर्वाचित भएका छन् । कांग्रेस प्रत्यक्ष ८ समानुपातिक १३ गरी २१ सदस्य निर्वाचित भएका छन् । फोरमले प्रत्यक्ष १ समानुपातिक २ गरी ३ सिट जितेको छ । राप्रपाले २ वटा समानुपातिक सिट जितेको छ ।
प्रदेश २
प्रदेश नं २ मा प्रत्यक्ष ६४, समानुपातिक ४३ गरी जम्मा १०७ सांसद निर्वाचित भएका छन् । जसमा फोरमले प्रत्यक्ष २०, समानुपातिक ९ गरी २९ जितेको छ । राजपाले प्रत्यक्ष १५ र समानुपातिक ९ गरी २४ जितेको छ । एमालेले प्रत्यक्ष १३ र समानुपातिक ८ गरी २१ सांसद जितेको छ । यस्तै माओवादीले प्रत्यक्ष ७ र समानुपातिक ६ गरी १३ सिट जितेको छ । कांग्रेसले प्रत्यक्ष ८ र समानुपातिक ११ गरी १९ सिट जितेको छ । स्वतन्त्र प्रत्यक्षमा १ सिट छ । यहाँ फोरम र राजपा मिल्दा पनि प्रदेश सरकार बनाउन अर्को एक सिट पुग्दैन । फोरम र राजपाको जोड्दा ५३ सिट छ भने सरकार बनाउन आवश्यक बहुमत पुर्याउन ५४ सिट चाहिन्छ ।
प्रदेश ३
प्रदेश ३ को प्रदेशसभामा प्रत्यक्ष ६६, समानुपातिक ४४ गरी कुल सदस्य ११० छन् । जसमध्ये एमालेका प्रत्यक्ष ४२, समानुपातिक १७ गरी ५९ सांसद छन् । सरकार बनाउन आवश्यक बहुमत ५६ रहेको प्रदेश ३ मा एमाले एक्लैको ५९ सांसद छन् । यहाँ माओवादीका प्रत्यक्ष १५, समानुपातिक ९ गरी २४ सांसद छन् । कांग्रेसका प्रत्यक्ष ७, समानुपातिक १४ गरी २१ सांसद छन् । यहाँ विवेकशील साझा पार्टीले समानुपातिक ३ सिट जितेको छ भने नयाँ शक्ति, नेमकिपा, राप्रपा गरी ३ सिट छ ।
प्रदेश ४
प्रदेश ४ को प्रादेशिक सभामा प्रत्यक्ष ३६, समानुपातिक २४ गरी कुल ६० सांसद छन् । जसमध्ये एमालेले प्रत्यक्ष १७, समानुपातिक १० गरी २७ स्थान जितेको छ । माओवादीका प्रत्यक्ष ९, समानुपातिक ३ गरी १२ सांसद छन् । कांग्रेसका प्रत्यक्ष ६ र समानुपातिक ९ गरी १५ सांसद छन् । जनमोर्चाका प्रत्यक्ष २ समानुपातिक १ गरी ३ सांसद छन् । स्वतन्त्र र नयाँ शक्तिका गरी यहाँ ३ सांसद छन् । यहाँ सबैभन्दा ठूलो दल एमाले छ भने वाम गठबन्धनको बलियो बहुमत छ ।
प्रदेश ५
प्रदेश ५ मा प्रत्यक्ष ५२ र समानुपातिक ३५ गरी ८७ सांसद छन् । जसमध्ये एमालेले प्रत्यक्ष २८, समानुपातिक १३ गरी ४१ सांसद जितेको छ । माओवादी प्रत्यक्ष १६, समानुपातिक ६ गरी २२ सांसद छन् । कांग्रेस प्रत्यक्ष ५, समानुपातिक १३ गरी १८ सांसद छन् । फोरमका प्रत्यक्ष ३, समानुपातिक २ गरी ५ जना सांसद र राजपाका समानुपातिक १ सांसद छन् । यहाँ एमाले सबैभन्दा ठूलो दल छ । एमालेलाई एक्लै प्रादेशिक सरकार बनाउन ३ सिट पुग्दैन । सरकार बनाउन आवश्यक बहुमत ४४ हो भने एमाले एक्लैको ४१ सिट छ । एमाले र माओवादी जोड्दा वाम गठबन्धनको बलियो बहुमत पुग्छ ।
प्रदेश ६
प्रदेश ६ मा प्रत्यक्ष २४ र समानुपातिक १६ गरी ४० सदस्य छन् । जसमध्ये एमालेले प्रत्यक्ष १४, समानुपातिक ६ गरी २० सिट जितेको छ, जुन सरकार बनाउन करिव बहुमत हो, बहुमतका लागि २१ सिट चाहिन्छ । माओवादीले प्रत्यक्ष ९ र समानुपातिक ४ गरी १३ सिटमा जितेको छ । कांग्रेसले प्रत्यक्ष १ र समानुपातिक ६ गरी ७ सिट जितेको छ ।
प्रदेश ७
प्रदेश नं ७ को प्रदेशसभामा प्रत्यक्ष ३२ र समानुपातिक २१ गरी ५३ सदस्य छन् । जसमध्ये एमालेले प्रत्यक्ष १७, समानुपातिक ७ गरी २४ स्थानमा जितेको छ । माओवादीका प्रत्यक्ष १०, समानुपातिक ४ गरी १४ सांसद छन् । कांग्रेस प्रत्यक्ष ४, समानुपातिक ८ गरी १२ सांसद छन् । राजपाका प्रत्यक्ष १ समानुपातिक २ गरी ३ सांसद छन् । कांग्रेसको परम्परागत गढ मानिने यो क्षेत्रमा एमाले बहुमत नजिक छ । यहाँ सरकार बनाउन २७ सिट चाहिन्छ भने एमालेको २४ सिट छ । एमाले र माओवादी मिल्दा यस प्रदेशमा पनि बलियो बहुमतको सरकार बन्छ ।
प्रतिक्रिया