अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो

सारांश

  • काठमाडौं, ३० फागुन- यात्रा सेड्युल नियमित भइदिएको भए नेपालका अब्बल न्युरो सर्जन डा.
  • बालकृष्ण थापा सहपाठी डा.
  • दामोदर पौडेलकी भतिजीको आइतबार साँझ बानेश्वरमा आयोजित बिहेभोजमा उपस्थित हुन्थे ।

काठमाडौं, ३० फागुन- यात्रा सेड्युल नियमित भइदिएको भए नेपालका अब्बल न्युरो सर्जन डा. बालकृष्ण थापा सहपाठी डा. दामोदर पौडेलकी भतिजीको आइतबार साँझ बानेश्वरमा आयोजित बिहेभोजमा उपस्थित हुन्थे । पार्टीमा थापासहित उनका थुपै सहपाठी निम्तालु थिए । ढाकाको कार्यक्रम सिध्याएर युएस बांगला एयरलाइन्सको आइतबारकै उडानबाट काठमाडौं झर्ने र सोही दिन साँझ पार्टीमा जाने उनको योजना थियो। आजको नागरिक दैनिकमा दीपक दाहालले खबर लेखेका छन् ।

तर, आइतबारको उडान तालिका सोमबारका लागि स¥यो । त्यो नै थापाका लागि दुर्भाग्य बन्न पुग्यो । थापाले बंगलादेशबाट पौडेललाई एसएमएसमार्फत आउन नसक्ने जानकारी गराए । उडान तालिकामात्रै सरेन, मिलनसार ५० वर्षका डा. थापाको आफन्त र साथीभाइसँग भेट्ने कार्यक्रम सदाका लागि टुंगियो । विद्यालय जीवनदेखिकै साथी काठमाडौं विश्वविद्यालयका डिन डा. राजेन्द्र कोजू पनि सोही पार्टीका निम्तालु थिए । उनी त्यहीं भेट्ने र भलाकुसारी गर्ने आसमा थिए।

तर, संयोग कोजू पनि पार्टीमा जान पाएनन् । त्यो हवाई दुर्घटनामा डा. थापा पनि परेको खबर सुनेपछि उनलाई एउटै आशा बाँकी थियो– बालकृष्ण नेपाल फर्किसकेका पो छन् कि ! कोजूले हत्तपत डा. पौडेललाई फोन गरे । पौडेलबाट जबाफ आयो, ‘दामोदरले त उतैबाट एसएमएस गरेको थियो आज (सोमबार) मात्रै फर्किन्छु भनेर ।’ यसपछि कोजूले आशा मारे, ‘हि इज नो मोर।’

डा. कोजुको मानसपटलमा डा. थापासँगैको विद्यालय जीवन, हेल्थ असिस्टेन्टका रुपमा बाग्लुङका दुर्गम गाउँ चहार्दा र एमबिबिएस पढ्दाका क्षणहरु एकपछि अर्को गर्दै झलझली घुमे । ‘हामी एउटै जिल्लावासी, अध्ययन पनि सँगैसँगै भयो,’ कोजूले नागरिकसँग भने, ‘जति बिर्सन खोजे पनि मानसपटलमा फनफनी उनै (डा. थापा) घुमिरहेका छन्।’

सोमबारको हवाई दुर्घटनामा परेका भरतपुर क्यान्सर अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. थापाप्रति कोजूजस्तै दर्जनौं मित्र, सयौं चिकित्सक एवं स्वास्थ्यकर्मी र आफन्तले सामाजिक सञ्जालका भित्ताभरि श्रद्धाञ्जली दिइरहेका छन् । पछिल्लो डेढ दशकदेखि भरतपुर क्यान्सर अस्पतालमा प्रमुख न्युरो सर्जनका रुपमा कार्यरत थापा नेपालमै सम्भवतः सबैभन्दा बढी ‘ब्रेन ट्युमर’ को शल्यक्रिया गर्नेमा पर्छन् । थापाका हातले शल्यक्रिया गरेर नयाँ जीवन पाएका हजारौं बिरामीले त उनलाई नसम्झिने कुरै भएन।

थापालाई धेरै वरिष्ठ चिकित्सकहरु उनको मिलनसार शैली र तीक्ष्ण बुद्धिका कारण सम्झिन्छन् । ‘उहाँ सरिक भएका अधिकांश परीक्षामा दोस्रो हुनुभएन,’ त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका वरिष्ठ रेडियोलोजिस्ट डा. रामकुमार घिमिरेले भने।

डा. घिमिरे शिक्षण अस्पतालमा हाउस अफिसरका रुपमा कार्यरत रहँदा थापा एमबिबिएस विद्यार्थी थिए । घिमिरेले त्यतिबेलै पहिलोपटक थापालाई चिने । पछि घिमिरेले रेडियोलोजीमा पिजी गर्दै थिए । थापाले इन्टर्नसिपलगत्तै शिक्षण अस्पतालमा हाउस अफिसरको काम थाले । ‘बिरामीका समस्या लिएर बारम्बार सोध्न आउनेलाई कसरी सहयोग गर्न सकिन्छ, कसरी निको बनाउने भनेर सधैं हुटहुटी उहाँमा त्यतिबेलै  देखेको थिएँ,’ डा. घिमिरेले भने, ‘पहिला कामप्रति लगनशील भनेर चिनें, त्यसपछि मात्रै राम्रो मित्र बने उनी।’

डा. थापा त्रिवि शिक्षण अस्पतालमै हाउस अफिसरका रुपमा केही समय काम गरेपछि र थप अध्ययनका लागि बंगलादेशको बंगबधु सेखमुजिब विश्वविद्यालयमा गए । त्यहाँबाट उनले न्युरो सर्जरीमा एमडी गरे । त्यहाँ पनि उनले गोल्डमेडल हासिल गरे । ‘उहाँ सन् २००१ मा बंगलादेशमा पिजी पढ्दै गर्दा म पनि चार महिनाका लागि एउटा तालिममा बंगलादेश पुगेको थिएँ । हामी त्यहाँ सँगै बस्यौं,’ डा. घिमिरेले सम्झिए, ‘उहाँको छवि बंगलादेशमा पनि उस्तै राम्रो, तीक्ष्ण र मेहनती चिकित्सक भन्ने थियो।’

वरिष्ठ प्राध्यापकहरु प्रायः जुनियर रेजिडेन्टसँग दुरीमै रहन्छन् । ‘तर उहाँ (थापा) लाई बंगलादेशका प्रोफेसरहरुले पनि यति ट्रस्ट गर्ने कि फ्याकल्टी रुमको चाबीसमेत राख्नदिने रहेछन्,’ डा. घिमिरेले भने, ‘प्रोफेसरहरूको विश्वास कमाउनु ठूलो कुरा हो, त्यही विश्वासले उहाँलाई बंगलादेशमा हुने हरेक सेमिनारमा बोलाइन्थ्यो ।’ यसपटक पनि उनी सेमिनारमा भाग लिन बंगलादेश गएका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramsing Gurung

    Rip ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?