राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…
सारांश
- शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् ।
- प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् ।
- दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् ।
शेरबहादुरले झुक्याए, तपाईँले नझुक्याउनु
काठमाडौँ: जंगलमा फिरन्ते जीवन बिताइरहेका राउटेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नपाएको गुनासो गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर बधाई दिने इच्छा पुरा नभएकोमा उनीहरुले चित्त दुखाएका छन् ।
दैलेखको जंगलबाट अन्नपूर्ण पोस्ट्लाई फोन गर्दै उनीहरुले प्रधानमन्त्रीलाई भेट्न खोजिए पनि नसकेको गुनासो गरेका छन् । ‘के हामीले ओलीलाई भेटन नपाउने ?’, राउटेका मुखिया मैनबहादुर शाहीले प्रश्न गर्दै भने, ‘ओली प्रधानमन्त्री भएकोमा हामीलाई कति खुसी लागेको थियो, उहाँ त हाम्रा प्रधानमन्त्री हुनुहन्छ भनेर सबै खुसी थिए, भेट्न नदिएको जनता रिसाएका छन् ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
अन्न सकियो प्रधानमन्त्रीज्यू
प्रधानमन्त्री हुनेवित्तिकै ‘जनता’ले ओलीलाई भेट्न चाहे पनि भेट्ने रहर पुरा नभएको उनले दुखेसो पोखे । मुखिया शाहीले अन्न पनि सकिएकाले जोहो गरिदिन गुहार मागेका छन् । ‘चामल पनि सकियो, अब हामीले के खाने, जनतालाई के खुवाउने’, मुखी मैनबहादुर शाहीले गुनासो गरे, ‘खान नपाएपछि जनताले वन समेत मास्न थालिसके ।’
जंगलमै घर
मुखिया शाहीले ओलीलाई जंगलमा नै घर बनाइदिन आग्रह गरेका छन् । ‘हामी जंगलमा नै बस्छौँ, हामीलाई जंगलमा बस्न दिनु पर्यो’, उनले भने । राउटे मुखिया शाहीले चुनावका बेला ५ हजार भत्ता बनाउने आश्वासन दिए पनि पुरा नभएको दुखेसो पोखे ।
‘हाम्रो भत्ता ५ हजार बनाउँछौँ भनेका थिए अहिले भेट्न मान्दैनन्, खोई किन होला ?’, मुखियाले प्रश्न गरे, ‘हामीले ओलीलाई भेट्न पाउँछौँ कि पाउदैनौँ ।’फागुन १० गते आउन तयार भएका राउटेलाई प्रधानमन्त्रीले समय नदिएपछि उनीहरुको समय सर्दै गएको छ ।
काठमाडौँ आउँछौँ
अर्का राउटे दीपक शाहीले आफू आजै गाडी चडेर ओलीलाई भेट्न काठमाडौँ आउने बताए । ‘भेट्न पाउँछौँ कि पाउँदैनौँ, हामी त भोली पर्सी नै आउँछ, आउँछ, पहिले पनि झुक्यायो’, उनले भने, ‘जनता’ भोकै परेका छन्, प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न पाउनुपर्यो ।’
प्रतिक्रिया