अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
अब बन्ने कानूनहरु समावेशी र लोकतान्त्रिक बन्नेमा अमेरिकी राजदूत विश्वस्त

सारांश

  • काठमाडौं, २६ बैशाख ।
  • नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले नेपाल विधिको शासन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अब बन्ने कानूनहरु बढी भन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
  • सभामुख कृष्णबहादुर महरासँग आज भएको शिष्टाचार भेटका क्रममा टेप्लिजले त्यस्तो बताएका हुन् ।

काठमाडौं, २६ बैशाख । नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले नेपाल विधिको शासन र लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अब बन्ने कानूनहरु बढी भन्दा बढी समावेशी र लोकतान्त्रिक बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । सभामुख कृष्णबहादुर महरासँग आज भएको शिष्टाचार भेटका क्रममा टेप्लिजले त्यस्तो बताएका हुन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा दुई देशबीचको मित्रता, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री संघलगायतका विषयमा कुराकानी भएको थियो । भेटमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गरे । संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर नेपालले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए ।

“संविधान निर्माणपछि हामीले तीन चरणका निर्वाचन सम्पन्न गरी तीनै तहमा सरकार निर्माण गरिसकेका छौं”, सभामुख महराले भने, “अब हाम्रो मुख्य प्राथमिकता भनेको संविधानको मर्मअनुरुप ऐन कानून निर्माण गर्नु हो, अहिले हामी कानून निर्माणतर्फ बढी केन्द्रित छौं ।” संसदको दोस्रो अधिवेशन भर्खरै शुरु भएको बताउँदै सभामुख महराले सरकारले नीति, कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्ने, संसद नियमावली बनाउनेदेखि थुप्रै नयाँ कानूनहरु निर्माण गर्नुपर्ने भएकोले अहिलेको अधिवेशन निकै महत्वपूर्ण भएको बताए ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्न आफू इच्छुक रहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताए । अमेरिकी सरकारले युएसएडमार्फ्त आर्थिक सहायता प्रदान गरिरहेको भन्दै सभामुख महराले त्यसको निरन्तरताका लागि पनि आग्रह गरेका थिए ।

सभामुखसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत एलियाना बी. टेप्लिजले भनिन्, “नयाँ कानून बनाउँदा जति सक्यो समावेशी र बलियो बनाउन अमेरिकामा सार्वजनिक सुनुवाईको परम्परा पनि छ ।” राजदूत टेप्लिजले भनिन्, “तपाईंहरुले पनि नयाँ कानून बनाउँदा अमेरिकाको अभ्यास र अनुभव उपयोगी हुनसक्छ ।”

आफूहरुको प्राथमिकता आर्थिक सुधारको क्षेत्र, मानव बेचबिखन, न्यायालयको सुधार, कृषि तथा ऊर्जासम्बन्धी क्षेत्रहरु भएको भन्दै राजदूत टेप्लिजले त्यस क्षेत्रका ऐन कानून निर्माणमा विश्वव्यापी लोकतन्त्र र मानवअधिकारका मान्यताहरुमा नेपाल सहमत भएकोमा आफू विश्वस्त रहेको बताए ।

भेटवार्तामा संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, प्रवक्ता डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?