अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनले लिए सपथ

सारांश

  • अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
  • उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए ।
  • यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएका थिए ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन रोबर्टसले सपथ गराएका थिए ।

यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराएका थिए ।

कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए ।

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले “आजको दिन प्रजातन्त्रको विजय हो, एउटा आशा र एकताको दिन हो” भने ।

अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड–१९ को ठूलो मूल्य चुकाउनु परेको छ भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्ट जस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइनेछ भने ।

पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिलाई बधाई समेत नदिई बहालवाला राष्ट्रपतिले ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना हो । यद्यपी यसअघि अमेरिकी इतिहासमा तीन पटक सन् १८०१, १८२९ र १८६९ मा यस्तो घटना भइसकेको छ ।

ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुगेका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गर्दै अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।उनले त्यस समारोहमा पनि नयाँ राष्ट्रपति जो बाइडेनको नाम नलिई आफूले अमेरिकी अर्थतन्त्र उकास्न निरन्तर कार्य गरेको दाबी गर्दै “फेरि भेटौंला” भन्दै विदा लिएका थिए ।

राष्ट्रपतिले सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताएर हिँडे पनि उपराष्ट्रपति माइक पेन्सले उक्त समारोहमा सहभागिता जनाएका थिए ।–एपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?