आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
सारांश
- काठमाडाै, ५ भदाै ।
- नागरिक अगुवा पद्मरत्न तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानको विषयमा चर्चा गरिएको छ ।
- काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित “पत्रकारितामा पद्मरत्न तुलाधरको योगदान” विषयक कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा खेल्नुभएको भूमिका विषयमा चर्चा गरिएको हो ।
काठमाडाै, ५ भदाै । नागरिक अगुवा पद्मरत्न तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानको विषयमा चर्चा गरिएको छ । काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित “पत्रकारितामा पद्मरत्न तुलाधरको योगदान” विषयक कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा खेल्नुभएको भूमिका विषयमा चर्चा गरिएको हो ।
उहाँले २०१४ सालमा नेपालभाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गरेका थिए । सो पत्रिका नेपाली भाषाको पहिलो दैनिक पत्रिका थियो । शुरुमा उहाँले राष्ट्रिय समाचार समितिबाट प्रकाशित हुने समाचार बुलेटिनको भाषा अनुवाद गर्थे । त्यसपश्चात बालकुमारीमा मदन प्रिण्टिङ प्रेस चलाएर पत्रिका सम्बन्धिको सम्पूर्ण काम थाले ।
पत्रिका सम्पादन गर्ने देखि लेख छपाई र पत्रिकालाई बजारसम्म पु¥याउने काम उहाँ एक्लैले गरे । त्यसपछि वामपन्थीहरुको पत्रिका रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली भाषामा निरन्तर रुपमा स्तम्भ लेख्न शुरु गरे ।
बहुआयामिक व्यक्तित्वको छवि बनाएका तुलाधरले कार्यक्रममा फरक क्षेत्रका अनुभव सुनाए । सोहि क्रममा उहाँले अभिव्यक्तीको सशक्त माध्यम नै आँसु भएको दाबी गरे । तत्कालिन राष्ट्रिय पञ्चायतमा बहुदलीय प्रजातन्त्रको लागि रोएको स्मरण गर्दै उहाँले आँसु नै सदनमा बहसको विषय बनेको बताए । “मैले हजारौं ठाउँमा सार्वजनिक भाषण गरें । कहिले केपी ओलीको आग्रहमा दमक पुग्थें कहिले मदन भण्डारीसँग ओखलढुङ्गा । किसानको दुःखमा रोएँ, अपांगहरु माझ रोएँ ।” कार्यक्रममा भावुक बनेर तुलाधरले विगतलाई स्मरण गरे ।
हुन पनि महेन्द्रकालीन व्यवस्थामा राष्ट्रिय पञ्चायतका सदस्य तुलाधर रोएको विषय त्यो समयमा पनि समाचार बनेको थियो । उहाँले सदनमा भाषण गर्ने क्रममा बगाएका आँसुलाई लिएर राजनीतिज्ञ रुपचन्द्र विष्टले सदनमा रुलिङ गराउन माग समेत गरेका थिए । पद्मसुन्दर लावती, सूर्यबहादुर थापादेखि कतिपय नेताले तुलाधर सदनमा रोएर भाषण गरेको विषयलाई महत्वका साथ हेरेका थिए ।
कार्यक्रममा तुलाधरले पत्रकारिता क्षेत्रमा दिनुभएको योगदानलाई लिएर परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले चर्चा गरे । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पद्मरत्न तुलाधर पत्रकारिता क्षेत्रका आफ्ना गुरु भएको बताए ।
पञ्चायती व्यवस्थाविरुद्ध प्रकाशित पत्रिकाहरु विभिन्न प्रेसबाट संकलन गरेर जेलमा रहेका राजबन्दीहरु सम्म पु¥याउने काम श्रेष्ठले पद्मरत्न तुलाधरमार्फत नै गर्थे । सोही क्रममा उहाँबाट धेरै सिक्ने अवसर मिलेको बताए । पद्मरत्न तुलाधरको प्रखर वक्तृत्वको चर्चा गर्दै उहाँले तत्कालिन अवस्थामा मदन भण्डारी र पद्मरत्न तुलाधरको भाषण विचार उत्तेजक भएको पनि सुनाए । “नेपालमा दुई जना नेता मात्र यस्ता छन्, जसको भाषण र भाषणको रेकर्ड टेप सुन्न हजारौं जनता लालायित भए । ती मदन भण्डारी र पद्मरत्न मात्र हुन् । यिनको भाषण सुनेर हजारौं जनता जागरुक भए । जसले हजारौंमा तेज गतिले वैचारिक प्रवाह गर्न सके ।” कार्यबहाक अध्यक्ष श्रेष्ठले सुनाए ।
त्यस्तै, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि तुलाधरले मिसन पत्रकारिता थालेको स्मरण गरे । तुलाधर आफैले एक रुपैयाँ नलिइकन वर्षौंसम्म सम्पादकीय लेख्ने, राससको समाचार भाषा अनुवाद गर्ने, छाप्नको लागि अक्षर कम्पोजदेखि बजारसम्म पु¥याउने काम एक्लैले गर्ने गरेको स्मरण गरे ।अर्का वक्ता मल्ल के सुन्दरले पद्मरत्न तुलाधर फरक विधामा एकैसाथ कलम चलाउन सक्ने अद्भुद क्षमतावान भएको बताए । पञ्चायती व्यवस्थाविरुद्ध, लोकतान्त्रिक मूल्य र मान्यताका लागि उहाँले पत्रकारिताबाट परिवर्तन ल्याउने क्षेत्रमा योगदान दिएको विषयबाट आजको पुस्ताले सिक्नुपर्ने खाँचो औंल्याए । 
पूर्वमन्त्री रघुजी पन्तले पद्मरत्नको पत्रकारितामा प्रखरतासँगै हास्यव्यंग्य लेख्न सक्ने क्षमतालाई प्रशंसा गरे । उहाँले प्रजातन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि निर्वाह गरेको योगदानलाई पनि कदर गर्नुपर्ने विचार राखे । सोही अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताए ।
पद्मरत्न तुलाधरको यही भदौ १६ गते भिमरथारोहणको अवसरमा विविध कार्यक्रम हुँदैछ । उहाँलाई भदौ ३० गते भव्य कार्यक्रमकाबीच नागरिक अभिनन्दन गरिने भएको छ । मूल कार्यक्रम अगाडी करिव एक दर्जन कार्यक्रमको आयोजना गरी उहाँले फरक क्षेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गरिरहेको हो । सोही क्रममा पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आह्वान तथा नेवाः पत्रकार राष्ट्रिय दबूले भाद्र २ गते कार्यक्रम गरेको छ । भाद्र १ गते उहाँसँग मानवअधिकार सम्बन्धित कार्यक्रम भएको थियो भने अन्य बाँकी कार्यक्रमलाई भदौ महिनाभर सम्पन्न गरिसक्ने पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिले जनाएको छ ।

प्रतिक्रिया