आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
सारांश
- चितवन, ११ चैत ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षातअघि नै सम्पन्न हुने बताएका छन् ।
- सो सडकको आज अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासेठले जेठ १६ गतेभित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए ।
चितवन, ११ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक विस्तारको काम वर्षातअघि नै सम्पन्न हुने बताएका छन् ।
सो सडकको आज अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महासेठले जेठ १६ गतेभित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए ।
मन्त्री महासेठले भने, “हिजो के भयो ? त्यतातिर जान चाहँदिन । ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही गर्ने भन्दै उनले भने, “जेठ १६ गतेभित्र सडकको काम सम्पन्न भएन भने सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उनले वर्षातमा बाटो नरोकिने बताए ।
सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उनले अब निर्माण कम्पनीको चलखेल नचल्ने बताए । यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उनले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको बताए ।
सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उनले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताए । उनले भने, “मैले पहिलो हस्ताक्षर नै यही सडकको १४ वटा पुल बनाउन गरेको छु ।” सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । उनले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
मन्त्री महासेठले देशका सबै राजमार्गमा बैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरेर सक्न निर्देशन दिएको बताए । मन्त्री महासेठले भने, “वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी देख्न पाउनु हुने छैन । कहीँ देखियो भने सोझै मलाई फोन गर्न सक्नुहुन्छ ।” उनले काठमाडौँ उपत्यकाभित्र भने १५ दिनभित्र खाल्डाखुल्डी नपुरे कारबाही गर्ने बताए ।
फरक प्रसंगमा उनले पाँच वर्षभित्र चीनबाट काठमाडौँ हुँदै पोखरा–लुम्बिनी जोड्न रेल आउने दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल आउँछ भन्ने कुरा सत्य भएको भन्दै उनले दुई वर्षभित्रमा नेपालमा जहाँ भए पनि रेल गुड्ने बताए ।
सन् २०१५ को अप्रिलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक पटकपटक गरी चारपटक मिति थपिएको छ । पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ ।
Netra Ghimire
कति हाँस्नु