आजबाट दसै बजार सुरु, सुपथ मुल्यमा खाद्यन्न उपलब्ध
सारांश
- काठमाडौ ।
- दसै तिहारलाई लक्षित गरी सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
- सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।
काठमाडौ । दसै तिहारलाई लक्षित गरी सरकारले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई छुट दिने लक्ष्यसहित खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् ।
आजदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म चल्नेछ । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्ने छ ।
आजदेखि सञ्चालनमा आएका सुपथ मूल्य पसलमा सबै प्रकारका चामलमा प्रतिकिलोग्राम ७ रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । यस्तै, सबै प्रकारका दालमा प्रतिकिलो ७ रुपैयाँ नै छुट दिइएको छ । यसैगरी, क्वाँटी र कर्णालीको सिमीमा प्रतिकिलोग्राम १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।
यसका साथै, घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिज र पनिरमा प्रतिकिलोग्राम २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँको छुट दिइने कम्पनीहरूले बताएका छन् । यसका साथै, गहुँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने व्यवस्था छ । यता सबै प्रकारका खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट व्यवस्था हुँदा नुनमा प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको बताइएको छ ।
यसैगरी, जिउँदा खसीबोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिइने छ । बजारको मूल्य नियन्त्रण गर्ने र उपभोक्तालाई सस्तो मूल्यमा सामान उपलब्ध गराउने लक्ष्यसहित कम्पनी र कर्पोरेसनले प्रत्येक वर्षको दसैँदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्दै आइरहेका छन् । यी कम्पनीले दिने छुट बजारमा प्रचलित सम्बन्धित वस्तुको मूल्यको तुलनामा हुने गरेको छ ।
यद्यपि, यस पटकको दसैँमा चिनी र घिउको बिक्री वितरण भने हुनेछैन । बिक्रीका लागि वस्तु उपलब्ध नभए पनि छुट दिने निर्णय भने भइसकेको छ । दुग्ध विकास संस्थानले बिक्रीको जिम्मेवारी पाएको घिउ यस वर्ष मौज्दात नभएकाले बिक्री हुने छैन । यस्तै, अर्थ मन्त्रालयले अनुमति नदिएकाले यस वर्ष चिनीको बिक्री समेत हुने छैन ।
प्रतिक्रिया