गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी
सारांश
- काठमाडौँ ।
- नेपालगञ्ज- २० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ ।
- यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ ।
काठमाडौँ । नेपालगञ्ज- २० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ।चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्न आउनेको भीड लाग्ने गरेको छ । “अब त चेतनास्तर पनि बढेको छ, घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्”, स्वास्थ्यचौकीकी अनमी आशा सार्कीले भने । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पुर्याएको छ ।
“पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ”, अनमी सार्कीले भने । तर, स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा सुत्केरी हुन आउने महिलाका लागि लडिया र बुकी भरपर्दो सवारी साधन बनेका छन् । मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगञ्जभन्दा केही टाढा रहेकाले सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया – गाडा, बुकी (टाँगाजस्तै)को भर पर्नुपर्ने बाध्यता छ ।
त्यसो त एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले उनीहरूको प्राथमिकतामा लडिया र बुकी नै पर्दछन् । अनमी सार्कीले भने, “एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।” सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताए ।
“कुनै दिन त स्वास्थ्यचौकीमा बुकी र लडियाको लाइन लाग्छ”, अनमी सार्कीले भने । स्वास्थ्यचौकीका इन्चार्ज सरोजकुमार मिश्रले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताए । “जनशक्ति, साधन र स्रोत पुगेकै छ”, इन्चार्ज मिश्रले भने, “सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।”
इन्चार्ज मिश्रले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताए । “चौथोपटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ”, उनले भने । नयाँ कानून आएपछि अलिकति जटिल देखिनेबित्तिकै सिफारिस गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् ।
स्वास्थ्यचौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत जाँच गरिरहेका छन् । मनिकापुर स्वास्थ्यचौकीअन्तर्गत १५ स्वास्थ्य स्वयंसेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित जाँचका लागि आउने गरेको इन्चार्ज मिश्र बताउँछन् ।
उनी भन्छन्, “बर्थिङ सेन्टरमा स्थानीयवासीले अपनत्व महसुस गरेकै कारण प्रसूति सेवा प्रभावकारी देखिएको छ ।” यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तीमा पनि चार महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इन्चार्ज मिश्रले बताए । “सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढङ्गबाट सञ्चालन गरी अझै सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ”, उनले भने ।
गर्भवती उत्प्रेरणाबापत चारपटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिइँदै आएको छ । सरकारले प्रोत्साहन भत्ता दिन थालेपछि गर्भवती महिला नियमित जाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी सार्कीले बताए । “नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तर बढेको छ”, सार्कीले भने । टोलमा को गर्भवती छ र कसले जाँच गराएको छैन भन्ने महिला स्वयंसेविकाले निगरानी गरिरहेका हुन्छन्।
“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनू भनेर लेख्छौँ”, अनमी सार्की भन्छन्, “गर्भवती जाँच गराऊ, घरमा सुत्केरी नहोऊ भन्ने सन्देश निकै फलदायी भएको छ ।” मनिकापुरमा रहेको बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको बताउँछन्, अनमी सार्की ।
जयसपुरबाट मनिकापुर पुग्दा बीच बाटोमा ठूला र सुविधासम्पन्न अस्पताल छन् । “बर्थिङ सेन्टरप्रति गर्भवती महिलाको बढी विश्वास छ । हुन त हामीले पनि जोखिममा रहेका गर्भवती महिलालाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उनीहरुको विश्वास हामीले जितेका छौँ”, अनमी सार्कीले भने ।
स्वास्थ्यचौकीमा हरेक वर्ष सुत्केरी हुने दर बढ्दो क्रममा रहेको उहाँको भनाइ छ । बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष २०७४र७५ मा १२६ सुत्केरी भएकामा आव २०७५र७६ मा १७६ सुत्केरी भएका छन् । प्रत्येक आवमा स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टरमा सुत्केरी हुने दर बढ्दो क्रममा रहेको छ । जसका कारण गाउँमा सुत्केरी हुने दर करीब शून्यजस्तै भएको छ । आव २०७६र७७ को तीन महीनामा ५८ सुत्केरी भएका छन् । यस तथ्याङ्कले आगामी आवमा सुत्केरीको सङ्ख्या अझै बढ्ने अनुमान छ ।
प्रतिक्रिया