आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४२ पटक हेरिएको
Shares
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने

सारांश

  • काठमाडौं, माघ १७ ।
  • माघ शुक्ल पूर्णिमाका दिन आज(बुधबार) बेलुकी खग्रास चन्द्रग्रहण लाग्दछ ।
  • माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

काठमाडौं, माघ १७ ।माघ शुक्ल पूर्णिमाका दिन आज(बुधबार) बेलुकी खग्रास चन्द्रग्रहण लाग्दछ । माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उनले भने । धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ । यी राशि भएकाहरुले पनि खुला आँखाले ग्रहण हेर्नुहुँदैन ।

समितिले स्वीकृत गरेका यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।

यस वर्षको चन्द्रग्रहणमा खग्रास, चन्द्रमा पृथ्वीको नजिक आउने (सुपर मुन) र ग्रेगोरियन पात्रोअनुसार एकै महिनामा दुई पटक पूर्णचन्द्र देखिने ‘ब्लु मुन’ को योग परेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो दुर्लभ खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिखका दिन देखिएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । “बेलुकी ६ बजेर ३६ मिनेटदेखि एक घण्टा १६ मिनेट अर्थात् बेलुकी ७ बजेर ५२ मिनेटसम्म खग्रास चन्द्रग्रहण लाग्छ, त्यसपछि खण्डग्रास हुँदै चन्द्रग्रहण सकिन्छ”, उनले भने ।

चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देख्न सकिने सोसाइटीले जनाएको छ । आधुनिक विज्ञानअनुसार चन्द्रग्रहण हेर्न टेलिस्कोप अथवा अन्य कुनै यन्त्रको सहयोग लिनुपर्दैन । खुला आँखाले पनि हेर्न सकिन्छ । जुनसुकै राशि भएकाहरुले पनि चन्द्रग्रहण हेर्दा वैज्ञानिक आधारमा केही असर नपर्ने सोसाइटीका अध्यक्ष भट्टराईको मत छ ।

स्वस्थानीको उद्यापन बिहानै
पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एकमहिने स्वस्थानी व्रत बुधबार बिहान ८ बजेर ५५ मिनेटअघि नै गर्नुपर्ने प्रा डा गौतमले बताए । आठ बजेर ५५ मिनेटपछि ग्रहणको सुतक लाग्ने भएकाले त्यसअघि नै स्वस्थानी व्रत उद्यापन गर्नुपर्नेछ ।

मध्याह्नकालमै उद्यापन गर्न चाहनेले फागुन कृष्ण पञ्चमीसम्म अर्थात् माघ २२ गतेसम्म स्वस्थानी व्रत उद्यापन गर्न सक्ने समितिले जनाएको छ । काठमाडौँ उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत ग्रहण लाग्नुअघि नै समापन गर्ने गरी तयारी शुरु गरिएको माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले जानकारी दिए ।

बिहान ७।३० बजेदेखि नै नित्य पूजापाठ गरेर व्रत समापन शुरु गरिने समितिले जनाएको छ । यही माघ १८ गते वर्तालुलाई भोज खुवाएपछि एकमहिने माधवनारायण मेला समापन हुनेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sanjit Kunwar

    खान नमिले पनि सुत्नत मिल्न पर्ने हाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?