इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
इन्काउन्टरमा मारिएका मनोज पुनका ५ सहयोगी यसरी समातिए, माओवादी केन्द्रका नेता पनि

सारांश

  • काठमाडौं, ५ बैशाख ।
  • इन्काउन्टरमा मारिएका गुण्डानाइके मनोज पुनका पाँचजना सहयोगीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
  • प्रहरीद्वारा पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह– ५ का तुलसी न्यौपाने, देवदह– ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार– ४ घर भई रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् ।

काठमाडौं, ५ बैशाख । इन्काउन्टरमा मारिएका गुण्डानाइके मनोज पुनका पाँचजना सहयोगीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

प्रहरीद्वारा पक्राउ पर्नेहरुमा रुपन्देहीको बुटबल उपमहानगरपालिका–७, शिवनगरका उत्तम आचार्य, देवदह– ५ का तुलसी न्यौपाने, देवदह– ४ का लेखनाथ न्यौपाने, स्याङ्जाको पुतलीबजार– ४ घर भई रुपन्देहीको बुटवल–४ बस्दै आएका हरिप्रसाद श्रेष्ठ र देवदह–६ का रोशन खड्का छन् । पक्राउ परेका लेखनाथ न्यौपाने माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेको बताइएको छ ।

यसैगरी पक्राउ परेका उत्तम आचार्य युथ फोर्सका पूर्व जिल्ला नेता हुन् । यसका साथै प्रहरीले बुटवल– ४ का मदिरा उद्यमी हरि श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका तुलसीराम न्यौपाने हरि श्रेष्ठको उद्योगका म्यानेजर हुन् ।

प्रहरीले पक्राउ परेकाहरुले मनोज पुनको सहयोगीको रुपमा काम गरेको प्रमाण फेला पारेको बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्यामलाल ज्ञवालीले मनोज पुनको सहयोगीको भूमिकामा रहेको देखिएपछि उनीहरुलाई नियन्त्रणमा लिएको बताएका छन् । उनीहरुले मनोज पुनका लागि सुराकी गर्ने र रकम असुल्ने गरेको प्रमाण फेला परेकाले नियन्त्रणमा लिइएको ज्ञवालीले बताए । मनोज पुन र उनका सहयोगी सोम आले गत फागुन ९ गते प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

पुनको योजनामा भएको रुपन्देहीको देवदहका दुर्गा तिवारीको हत्यामा संलग्न श्यामबहादुर गोङबे, शालिकराम चापागाई, पारस भट्टराई लगायत १८ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरुमाथि संगठित अपराध ऐन अन्तरगत मुद्दा चलाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?