उपनिर्वाचनको तयारीमा जुट्यो कांग्रेस
सारांश
- काठमाडौं।
- सरकारले आगामी मंसिरमा देशभरका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको गरेसँगै राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन्।
- उपनिर्वाचनलाई नै लक्षित गरेर शुक्रबार मुख्य विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू कास्कीको पोखरा पुगेका थिए।
काठमाडौं। सरकारले आगामी मंसिरमा देशभरका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको गरेसँगै राजनीतिक दलहरूले चुनावी अभियान सुरु गरेका छन्। उपनिर्वाचनलाई नै लक्षित गरेर शुक्रबार मुख्य विपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू कास्कीको पोखरा पुगेका थिए।
कांग्रेसको गण्डकी प्रदेशस्तरीय महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सहभागी हुन सभापति शेरबहादुर देउवा शीर्ष नेताहरूका साथ पोखरा पुग्नुलाई उपनिर्वाचनको तयारीका रूपमा हेरिएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा सभापति देउवाले आउँदो उपनिर्वाचनमा एकजुट भएर कांग्रेसका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए ।
‘टिकट एकजनाले पाउँछ तर उसलाई कांग्रेस एकजुट भएर सघाउँछ, जसरी भए पनि चुनाव जित्नुपर्छ,’ उनले भने, ‘कांग्रेसजनहरू एक भएर लाग्ने हो भने कसैले चुनाव हराउन सक्दैन।’ देउवाले गत वर्षको चुनावमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एक पार्टी बन्दा कांग्रेस एउटै पार्टी भएर पनि दुई समूहमा विभाजित भएको उल्लेख गर्दै अबको उपनिर्वाचनसँगै पार्टी एक हुने घोषणासमेत गरे।
‘उपनिर्वाचनमा कांग्रेस दुई पार्टीजस्तो हुनु भएन । कम्युनिष्टको दुई पार्टी एउटाजस्तो देखिएको छ । तर, सिंगो कांग्रेस दुईवटा जस्तो देखिएको छ । अब कुनै पनि हालतमा दुई पार्टीजस्तो हुनु भएन,’ उनले भने, ‘चुनावमा टिकट एउटाले पाउँछ । टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ ।’
सभापति देउवाले कास्कीमा कांग्रेस उम्मेदवारलाई जिताएर कांग्रेसमा एकताको सन्देश दिनुपर्नेमा जोड दिए। गत चुनावमा कम्युनिष्ट पार्टीले कहिल्यै पूरा नहुने नारा अघि सारेर झुठको राजनीति गरेको कुरा अहिले आएर जनताले बुझिसकेको भन्दै देउवाले आगामी दिनमा त्यस्ता झुठा नाराको पछाडि नलाग्न मतदाताहरूलाई आग्रह गरे।
कास्की–२ मा उपनिर्वाचन हुने भएकाले पनि कांग्रेसले सो क्षेत्रलाई निकै महŒवका साथ हेरेको छ । सो क्षेत्रबाट निर्वाचित नेकपा सांसद एवं तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकाले सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा सम्पूर्ण शक्ति लगाएर जित हासिल गर्ने लक्ष्य बनाएको कांग्रेसले उम्मेदवार भने टुंगो लगाइसकेको छैन ।
प्रशिक्षण कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतको प्रशिक्षणले कांग्रेस पहिलो पार्टी बनेको स्मरण गर्दै अबको प्रशिक्षणको चुनौती पनि पहिलो पार्टी कसरी बन्ने भन्नेमा केन्द्रित रहेको बताए। उनले झुठको खेती गर्ने पार्टीलाई मतदान गरेर गल्ती भएको कुरा अहिले आएर जनताले महसुस गरेको उल्लेख गरेका थिए।
प्रतिक्रिया