एकता प्रक्रिया विश्वकै असाधारण घटनाः अध्यक्ष दाहाल
सारांश
- काठमाडौँ, ५ जेठ ।
- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिस्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना भएको बताएका छन् ।
- संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई ठूला कम्युनिस्ट पार्टी एकता प्रक्रिया नेपालको मात्र नभएर विश्वकै असाधारण घटना भएको बताएका हुन् ।
काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिस्ट पार्टीबीचको एकता विश्वकै असाधारण घटना भएको बताएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई ठूला कम्युनिस्ट पार्टी एकता प्रक्रिया नेपालको मात्र नभएर विश्वकै असाधारण घटना भएको बताएका हुन् ।
दाहालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०को एकता महत्वपूर्ण रहेको बताए ।
उनले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको र दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिए ।
“जनताको अपेक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको दिशामा लैजान पनि एकता इतिहासकै महत्वपूर्ण घटनाक्रमका रुपमा स्थापित भएको छ ,” आफूहरुको काँधमा महत्वपूर्ण जिम्मेवारी आएको उल्लेख गर्दै उनले भने ।
उनको इतिहास, नेपाली जनता र देशले दिएको जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ आफूहरु एकीकृत रुपमा अगाडि बढ्ने संकल्प गरेको र त्यो पूरा भएको भनाइ थियो ।
विकास समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउने दायित्व समेत नेपाल कम्युनिष्ट पार्टी र वर्तमान सरकारको काँधमा आएको अध्यक्ष दाहालले स्पष्ट पारे ।
वर्तमान सरकारको नीति तथा कार्यक्रम केही दिनभित्रै आउने र नयाँ सरकारको बजेट समेत प्रस्तुत हुने उल्लेख गर्दै उनले ठूला ठूला परियोजना र राष्ट्रिय गौरवका आयोजनालाई पूरा गरेरै छाडिने दृढता व्यक्त गरे ।
विगतको भन्दा जनताको विकास प्रतिको चाहनालाई केन्द्रमा राखेर सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भन्दै उनले नयाँ सरकार बनेको अनुभूति दिइने स्पष्ट पारे।
सरकारको सबै तहलाई सन्तुलनमा राखेर जनताको अपेक्षा पूरा गर्ने तथा गराउने तर्फ आफूहरु प्रतिबद्ध भएर लाग्ने समेत उनको भनाइ थियो । दुई पार्टीको एकता पछि आज तत्कालीन एमाले र माओवादी केन्द्रका सांसदको संयुक्त बैठक बसेको हो ।
बैठकले संसदीय दलको प्रमुख नेता, प्रमुख सचेतक, सचेतकलगायतका पदाधिकारी चयन गर्ने र संसदीय समिति समेत गठन गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया