एक सय साठी गोही नदीमा छोडियो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
१५ पटक हेरिएको
Shares
एक सय साठी गोही नदीमा छोडियो

सारांश

  • काठमाडौं ।
  • चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ ।
  • चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो ।

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय साठी गोही राप्ती नदीमा छोडिएको छ । चालु आर्थिक वर्षमा केन्द्रमा हुर्काइएका गोही नदीमा छोडिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार कसरा घाटबाट एक सय, खगेन्द्रमल्ली नजिकबाट २० र सौराहाघाटबाट ४० वटा गोही राप्ती नदीमा छोडिएको हो । वन्यजन्तु सप्ताहको पाँचौँ दिन आज १० वटा गोही छोडिएसँगै एक सय साठी गोही छाडिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको उपस्थितिमा आज गोही छाडिएको तिवारीले बताए । अहिलेसम्म निकुञ्जको प्रजनन केन्द्रमा हु्र्काइएका एक हजार आठ सय ५२ वटा गोही नदीमा छाडिएको छ । तिवारीका अनुसार झण्डै पाँच वर्ष उमेरका गोहीलाई नदीमा छाडिन्छ ।

उनको भनाइमा एक दशमलव पाँच मिटर लम्बाइ भएपछि गोहीलाई नदीमा छाड्ने गरिएको छ । गत आर्थिक वर्षमा एक सय सात वटा गोही नदीमा छाडिएको थियो । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

प्रजनन केन्द्रमा हुर्काएर राप्ती, नारायणी, कालीगण्डकी, सप्तकोशी, कर्णाली र बबईमा गोही छाडिँदै आएको छ । हालसम्म सबैभन्दा बढी राप्ती नदीमा छाडिएको छ । नेपालमा धेरै गोही पाउने नदीमा राप्ती पर्दछ ।

चैत वैशाख महिनामा नदी किनारमा गोहीले पारेका अण्डा सङ्कलन गरेर कसरामा रहेको प्रजनन केन्द्रमा कोरलेर बच्चा हुर्काउने गरिन्छ । हाल प्रजनन् केन्द्रमा छ सय ४९ भन्दा बढी विभिन्न उमेरका गोही रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?