एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
६८ पटक हेरिएको
Shares
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/

सारांश

  • दुवै चरणका स्थानीय चुनावमा नेपाली कांग्रेस दोस्रो भएपछि रामचन्द्र पौडेलले कांग्रेसको विकल्प जनताले खोज्न थालेको टिप्पणी गरेका छन् ।
  • उनले चुनाव हार्नुको कारण सभापति शेरवहादुर देउवाको गलत कार्यशैली जिम्मेवार रहेकाले समिक्षा बैठक माग गरेका छन् ।
  • तर, पौडेल पक्षकै केन्द्रीय सदस्य कल्याण गुरुङको निष्कर्ष र बिश्लेषण भने अलि फरक छ ।

दुवै चरणका स्थानीय चुनावमा नेपाली कांग्रेस दोस्रो भएपछि रामचन्द्र पौडेलले कांग्रेसको विकल्प जनताले खोज्न थालेको टिप्पणी गरेका छन् । उनले चुनाव हार्नुको कारण सभापति शेरवहादुर देउवाको गलत कार्यशैली जिम्मेवार रहेकाले समिक्षा बैठक माग गरेका छन् ।

तर, पौडेल पक्षकै केन्द्रीय सदस्य कल्याण गुरुङको निष्कर्ष र बिश्लेषण भने अलि फरक छ । चुनावको बेला बिभिन्न जिल्ला पुगेका र पछिल्लो समय २ नम्बर प्रदेशमै केन्दि्रत रहेका गुरुङले अनलाइखबरमार्फत कांग्रेस हार्नुको समिक्षा यसरी गरे ।

स्थानीय तहको दुई चरणको चुनाव परिणामले नेपाली कांग्रेसलाई नेकपा एमालेले ५० सिट पछि पारेको छ । कम्तिमा ५ वा बढी साबिक गाविसहरु मिलाएर बनाइएका गाउँपालिका र ठूलो जनसंख्या ओगट्ने नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका हामी यसरी ५० सिटले पछि पर्नु भनेको अवश्य पनि धेरै ठूलो अन्तर हो । यो हामी कांग्रेसजनका लागि सुखद कुरा होइन ।

चुनाव परिणाम आइसकेको अवस्थ्ाामा जनादेशलाई सम्मान गर्नुपर्छ । यस अर्थमा हामी सन्तुष्ट छौं । अब २ नम्बर प्रदेशको चुनावमा कांग्रेसलाई पहिलो बनाउन लाग्नुपर्छ । हुन त २ नम्बर प्रदेशमा पहिलो भए पनि हामी समग्रमा एमालेभन्दा अगाडि जान नसक्ने भयौं । किनकी ५० सिट भनेको धेरै ठूलो अन्तर हो ।
अहिलेसम्म चुनाव परिणामको विषयलाई लिएर कांग्रेसभित्र औपचारिक समिक्षा भएको छैन । तर, पनि हामीले अनौपचारिक छलफल गर्दा केही कुरामा हामी चुकेका छौं, केही कुरामा एमालेले योजनाबद्ध जितेको छ । एमालेले चुनावी रणनीति जसरी अघि बढायो, कांग्रेस त्यसमा कमजोर भएकै हो ।

तालमेलमा गोलमाल

स्थानीय तहको संख्या निर्धारण गर्ने बेलामै कांग्रेस चुक्यो । एमाले र माओवादी मिलेर गाउँपालिका र नगरपालिकाको सिमाना निर्धारण गरे, किनकी त्यो बेला उनीहरु सरकारमा थिए । कतिपय सिमाना उनीहरुलाई अनुकुल हुने गरी मिलाइए, त्यसले पनि कांग्रेसलाई असर गरेकै हो । तर मूल रुपमा त्यो होइन ।

हामीले चुनावमा मूलतः माओवादी केन्द्रसँग धेरै ठाउँमा तालमेल गर्‍यौं । अन्य पार्टीहरुसँग पनि चुनावी तालमेल भयो । तर, हाम्रो तालमेलको तरिका नै मिलेन । प्रमुख र उपप्रमुखमा तालमेल गर्‍यौं तर, वडा तहमा तालमेल भएन । जसका कारण तालमेल भएका ठाउँमा धेरै ठाउँमा सफल भएन ।

भरतपुर र पोखरा महानगरपालिकाको कुरा गर्नुस् वा बुटवल र हेटौंडा उपमहानगरकै कुरा गर्नूस् । माथिमाथि तालमेल भयो तर, वडा तहमा माओवादी र हामीबीच मिलेन । वडामा एकले अर्कोविरुद्ध मत माग्ने भएपछि माथि सग्लै भोट आउने कुरा भएन ।

अब तालमेल गर्दा हामीले माथिदेखि तलसम्मै गर्नुपर्छ भन्ने पाठ सिकेका छौं । आउने सबै चुनावहरुमा हामी सत्तारुढ गठबन्धन भएकाले तालमेल हुन पनि सक्छ । तर, त्यस्तो तालमेल गर्दा माथिबाट लाद्ने होइन, तल स्थानीय तहको आवश्यकता अनुसार गर्नुपर्छ ।

यसपटक स्थानीय तहमा भएको तालमेल सफल भएको छ । तर, केन्द्रबाट गरिएको तालमेल असफल भएको छ । यो अनुभवबाट सिकेर आउने चुनावमा स्थानीय कमिटीहरुलाई नै तालमेलको निर्णय गर्ने अधिकार दिनुपर्छ ।

मुद्दाले चुनाव हारेको होइन

कतिपय हाम्रै नेताहरुले पनि पार्टीले लिएको नीतिका कारण चुनाव हारियो भनेका पनि सुनियो । कतिपयले चुनावको मुखमा गरिएका निर्णयहरुका कारण पनि असर परेको तर्क गरेका छन् । तर, मैले चुनावका क्रममा धेरै जिल्लामा पुगेर अनुभव गरेको छु, अधिकांश गाउँमा राजनीतिक एजेण्डा चुनावी मुद्दा बनेका छैनन् ।

काठमाडौं लगायत केही शहरमा महाअभियोग प्रकरण र यस्तै कुराले हामीलाई हराएकै हो । साझा पार्टी र विवेकशील नेपाली दलले काठमाडौंमा जुन मत पाए, अन्यत्र कतै पनि नपाउनुले त्यो पुष्टि गर्छ । अन्यत्र चुनावको बेला स्थानीय विकास निर्माणकै एजेण्डाहरुमा चुनाव भएको छ । एमालेको राष्ट्रवादी अडानले चुनाव जित्यो भन्ने कुरा पनि मलाई लाग्दैन ।

चुनाव जितेपछि एमालेको घमण्ड अझ बढेको देखिन्छ । केपी ओलीको दम्भ पनि निकै बढेको छ । तर, दम्भले मुलुकलाई फाइदा गर्दैन । चुनाव त अझै बाँकी पनि छन् । हामी आफ्नो अवस्था सधार्छौं । महागठबन्धन त नेपालमा बन्दैन तर आवश्यकता अनुसार तलसम्म तालमेल गरेर हामी एमालेको घमण्ड झार्न सक्छौं ।

एमालेको जितका आधारः बृद्धभत्ता र सामुदायिक संगठन

एमालेले कित यति धेरै जित्यो ? यो प्रश्न अहिले सबैतिर उठेको छ । मैले धेरै ठाउँमा पुगेर अनुभव गरेको कुरा के हो भने चुनावमा एमाले एकदमै अफन्सिभ ढंगले गयो । कांग्रेस शुरुदेखि नै डिफेन्सिभ भयो । चुनावको लागि एमालेको तयारी निकै अगाडि थियो । हामीले एमालेलाई शुरुदेखि नै पछि पर्न सकेनौं ।

अर्को, एमालेको बजेट र बृद्धभत्ताले हामीलाई डिफेन्सिभ बनायो । बृद्धभत्ताले हामीलाईं यसरी लखेट्यो कि, एमालेले यसलाई धेरै हदसम्म प्रयोग गरेको देखियो । बृद्धभत्ता शुरु गरेदेखि २ हजार पुर्‍याएको कुरालाई हामीले चिर्न सकेनौं । हामीलाई मुख्यतः बृद्धभत्ताले नै डिफेन्सिभ बनायो । एमालेले जित्यो भने अझ बढाउने कुरालाई जनताले पत्याइदिए ।

दोस्रो कुरा चाहिँ एमालेले सामुदायिक संघ संस्थाहरु लामो समयदेखि आफ्नो पकडमा राखेको थियो । स्थानीय चुनावमा तीनै संस्थाहरु एमालेलाई जिताउन प्रयोग भए । एनजीओहरुमा एमालेको यस्तो पकड रहृयो कि जिल्लादेखि गाउँ तहसम्म सन्जाल भएका ती ठाउँमा एमालेका कार्यकर्ता सेट छन् । चुनाव जिताउने माध्यम उनीहरु बने ।

गाउँ गाउँमा वन उपभोक्ता समिति, सहकारी, विद्यालय व्यवस्थापन समिति, बिभिन्न उपभोक्ता समितिहरुमा एमालेले आफ्ना क्याडर छिराएर राखेको छ । स्थानीय तहमा राम्रो काम गरेका, सधैं साथ दिएकाहरुलाई जनताले रोज्दा एमालेका मान्छे परे । जहाँ हाम्रा मान्छे पनि त्यस्ता संस्थामा थिए उनीहरुले जिते । धेरै ठाउँमा एमालेले प्राकृतिक स्रोत साधनहरु कब्जा गरेको छ । त्यस्ता ठाउँमा एमालेका मान्छे पहिलेदेखि नै समुदायमा स्थापित छन् । चुनावमा त्यो देखियो ।

मधेशमा एमाले प्राविधिक रुपमा पहिलो

एमाले मधेस बिरोधी पार्टी हो भने र हामीले पनि भन्यौं । वास्तवमा एमालेले मधेशको इस्युमा आफूलाई सच्याउनैपर्छ । तर, मधेसमै एमाले किन पहिलो भयो भन्ने प्रश्न पनि उठेका छन् । मलाई लाग्छ, मधेसमा एमाले मधेसी जनताको भावनात्मक मत पाएर पहिलो भएको होइन । प्राविधिक रुपमा एमालेले मधेशमा कांग्रेसको भन्दा बढि सिट जित्यो ।

कोर मधेस भनेको २ नम्बर प्रदेश हो, त्यहाँ चुनाव हुन बाँकी नै छ । जहाँसम्म ११ जिल्लाको कुरा छ, त्यहाँ मिश्रति बसोबास हो । पहाडे, थारु, मधेसी र मुस्लिमको बसोबास भएको ठाउँमा एमाले किन पहिलो भयो भन्दा त्यहाँ कांग्रेसको भोट फोरम र फोरम लोकतान्त्रिकले काटे । अनि एमाले प्राबिधिक रुपमा माथि आयो ।

भारतीय सिमाक्षेत्र सुस्ता महेशपुरदेखि त्यत्रो घटना भएको टीकापुरसम्म एमालेले जितेको कुरा पनि प्राबिधिक हो । सुस्तामा धेरैले नागरिकता पाएका छैनन् । नागरिकता नभएपछि मतदाता नामावली हुने कुरा भएन । जतिको मतदाता नामावली थियो, त्यहाँ एमालेले बढि मत पाएकै हो । टीकापुरमा हाम्रो र फोरम लोकतान्त्रिकको मत बाँडिदा एमालेले थोरै मतले जितेको हो ।

यसपटक कैलाली र कञ्चनपुरका धेरै स्थानीय तहमा फोरम लोकतान्त्रिकले कांग्रेसको मत प्रशस्त काट्यो, जसका कारण एमाले फुत्तफुत्त उम्कियो । दाङमा हामी हाम्रै आन्तरिक कारणले हारेका हौं । नवलपरासी र कैलालीको समग्र नतिजा हाम्रो पक्षमै छ । सुनसरी र मोरङमा पनि कांग्रेसको राम्रो भएकै हो ।

समग्रमा कुरा गर्दा एमालेले मधेसमा पहिलो पार्टी बने पनि उसले मधेसी जनताको भावनात्मक प्रतिनिधित्व गर्दैन । हामी अब २ नम्बर प्रदेशमा जितेर त्यसको क्षतिपूर्ति गर्छौं । एमालेले मधेसी जनताको भावना बुझेर संविधान संशोधनमा सघाउनुपर्छ । नत्र चुनाव जितेरमात्र मधेसमैत्री हुन सकिन्न ।

२ नम्बर प्रदेशमा एमाले तेस्रो वा चौथो

२ नम्बर प्रदेशमा पनि एमाले नेताहरुले हामी नै पहिलो हुन्छौं भनेको सुनियो । तर, त्यसमा कुनै दम छैन । २ नम्बर प्रदेशमा एमालेको संगठन नै छैन । राजमार्ग क्षेत्रमा एमालेको राम्रो छ, तर त्यहाँ हामी मुख्य प्रतिस्पर्धी हौं । कोर मधेसमा एमालेको संगठन नै छैन ।

अर्को कुरा मधेश मुद्दामा एमाले अनुदार भएकाले पनि २ नम्बर प्रदेशमा एमालेले चुनाव जित्न सक्दैन । कांग्रेस पहिलो हुनेछ । दोस्रो स्थानमा लागि संघीय समाजवादी फोरम, राजपा र फोरम लोकतान्त्रिक प्रतिस्पर्धामा आउनेछन् । समग्रमा एमाले तेस्रो वा चौथो स्थानमा रहने हो ।

मधेसमा कांग्रेसले चुनाव जित्छ तर, हामीले २ नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले संविधान संशोधनको छिनोफानो गर्नुपर्छ । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्छ । यति गर्न सकिएन भने कांग्रेस फेरि पनि डिफेन्सिभ हुनुपर्छ । किनकी त्यो अवस्थामा मधेसवादी अफेन्सिभ हुनेछन् । एमालेले हाम्रो जित भयो भन्छ । अनि कांग्रेस अप्ठेरोमा पर्छ ।

जनताको रिस पोखियोः अब योजना बनाऊँ

अब दुई चरणको चुनावको समिक्षा पार्टीले केन्द्रीय समिति बैठक बोलाएर गर्नेछ । २ नम्बरमा कसरी जाने भन्ने पनि टुंगो लगाउनुपर्छ । हामीले दुई चरणका चुनावमा जुन कमजोरी भयो त्यो दोहोरिन नदिन पनि सचेत हुनुपर्छ ।

अब तेस्रो चरणका र अन्य दुई चुनावको अगाडि कांग्रेसले गर्नुपर्ने मुख्य काम भनेको संविधान संशोधन टुंगो लगाउनुपर्छ । टिकट वितरण समयमै गरेर आन्तरिक व्यवस्थापन गर्नुपर्छ ।

तालमेलका सन्दर्भमा केन्द्रबाट होइन, स्थानीय कमिटीहरुलाई नै जिम्मा दिनुपर्छ । प्रचारको योजना व्यवस्थित गर्न नसक्दा एमालेले हामीलाई शुरुदेखि नै पेल्यो । अब पार्टीले योजना बनाएर चुनावको परिचालन गर्नुपर्छ । गाउँ गाउँका विद्यालय, वन-जंगल जस्ता सामुदायिक संगठनहरुमा सचेत ढंगले कांग्रेसका मान्छे प्रवेश गराउन सकिएन भने एमालेले पेल्ने रहेछ । हाम्रो ध्यान त्यहाँ पुगेन । माथिमाथि हिड्दा तल गुम्यो ।

स्थानीय चुनावमा हामी हारेकै हौं । जनताको आक्रोश थियो त्यो रिस स्थानी चुनावमा पोखियो । अब जनताको रिस सकियो, हामी प्रदेश र संघीय चुनावमा फेरि पहिलो हुन्छौं । त्यसका लागि योजना बनाउनुपर्छ ।

(wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
ओलीले लगाएको राष्ट्रवादको नक्कली जलप खुइलियो : प्रदीप पौडेल
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
अब बन्ने वाम गठबन्धनको सरकारले विकासको गति लिन्छ :अध्यक्ष प्रचण्ड
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे  माैसम !
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे माैसम !
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक  (भिडियो सहित)
अक्षय कुमार र रजनी कान्तको कडा टकराव, रोबट २ ‘टु पाेइन्ट अाे’ को टिजर सार्वजनिक (भिडियो सहित)
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
पूर्व राजा हेर्न पोखरामा लडाई, बलियाले मात्र देखे अरु त्यसै फर्किए (भिडियो)
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली
शिखर सम्मेलन पाकिस्तानमा गराउन नेपालको समर्थन छः प्रधानमन्त्री ओली