कर्णाली पुग्यो कोरोना खोप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ ।
  • सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।
  • प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार (भोलि) देखि खोप लगाउन शुरु गर्ने तयारी थालेको छ । निर्देशनालयका निर्देशक डा रविन खड्काले कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने बताए । उनका अनुसार आठवटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाइनेछ ।

कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने जनाएको छ ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा हालसम्म ९६ हजार ९३६ जनाको पिसीआर परीक्षण भएको छ । तीमध्ये सात हजार ४९५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुनुका साथै २९ जनाको मृत्यु भइसकेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?