कविता : मेरो लोकतन्त्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कविता : मेरो लोकतन्त्र

सारांश

  • मनोज आठपहरिया लोकतन्त्र समानता, स्वतन्त्रता जस्ता मिठा सिद्घान्त विकास र समृद्धिका मिठा सपना बास्नाले मुख रसाउने गरी वरिपरि सजाएर राखिएका तर सामाजिक सद्भावको जञ्जिरले देशभक्तिको किलाले बाँधेर मलाई राखिएको आहा क्या मिठो !

मनोज आठपहरिया

लोकतन्त्र
समानता, स्वतन्त्रता जस्ता मिठा सिद्घान्त
विकास र समृद्धिका मिठा सपना
बास्नाले मुख रसाउने गरी
वरिपरि सजाएर राखिएका
तर
सामाजिक सद्भावको जञ्जिरले
देशभक्तिको किलाले
बाँधेर मलाई राखिएको
आहा क्या मिठो !
मेरो लोकतन्त्र

त्यही समानताको सिद्घान्तमा रहेर
आफूलाई नियाल्छु
अनि संविधान, ऐनमा खोज्छु
अनि दंग पर्छु
आहा म पनि अरु समान मानिस
पहिचान बोकेको मानिस
भाषा अनि धर्म समान भएको मानिस
यही समानताको जगमा उभिएर
अस्तित्व खोज्न थाल्दा
राज्य विप्लवको कानूनले समात्छ
सामाजिक सद्भाव बिथोलेको आरोप लाग्छ
अनि आफै बाध्य हुन्छु
उही जञ्जिरमा बाँधिन्छु
मेरो लोकतन्त्र

लोकतन्त्रको उकाली चढ्दा
तिम्रो लठ्ठी बनिरहें
मिठो लोकतन्त्रको स्वाद चाख्न
तिम्रो साथ दिइरहें
उकालोपछिको समथर तिमीलाई
विकास र समृद्घिले कुरिरहेको रहेछ
मेरो सिमाना कोरिरहेको रहेछ
म फेरि कारवाहीको जञ्जिरले बाधिन पुगें
अर्को बटुवालाई कुरिरहें
मेरो लोकतन्त्र

म मैनको बत्तीलाई मैनबत्ती भन्दै थिएँ
तिमी तेलको बत्तीलाई दियो भन्दै थियौ
जसरी तिमीले भिराएको पहिचानलाई बुझें
त्यसलाई तिमीले जातीय राज्य बनाइदियौ
पहिचानसहित समान छु भनें
तिमीले कोटा छुट्टाई दियौ
कोटाबाट पस्न खोजें
मेरो क्षमतामाथि नै प्रश्न खडा गर्यौ
तिमीले देखाएको बाटो पछ्याउनु पर्ने
तिमीले दिएको थाप्नुपर्ने
आखिर तिमी दिने म लिने
यसैमा सीमित
मेरो लोकतन्त्र

विकास र समृद्घिमा देश दौडिरहेको बेला
उल्झनै उल्झनमा अल्झेर
लोकतन्त्र दिवस मनाइरहेछु
कोही पछि नपरुन् भन्ने तिम्रो नारा सम्झी
दौडिन खोजिरहेछु
तर जञ्जिरको चावी तिमीसँग रहेछ
मेरो रिमोट त तिमीसँग रहेछ
म त उही कठपुतली रहेछु
तिम्रो ईसारामा लोकतन्त्र मनाइरहेछु
मेरो लोकतन्त्र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?