कसरी भित्रिदै छ अमेरिकी डलर नेपाली संगीतमा ?
सारांश
- सोलुखुम्बुको नुनथलामा जन्मिएका आङगेलु शेर्पा खासमा गायक हुन् ।
- तर व्यवसायिक जीवनलाई पछ्याउने क्रममा उनी अहिले अमेरिका पुगेका छन् ।
- नेपाल छँदा उनको एकमात्रै चाहना वा सपना जे भनौ, धुरन्धर गायक बन्ने थियो ।
सोलुखुम्बुको नुनथलामा जन्मिएका आङगेलु शेर्पा खासमा गायक हुन् । तर व्यवसायिक जीवनलाई पछ्याउने क्रममा उनी अहिले अमेरिका पुगेका छन् । नेपाल छँदा उनको एकमात्रै चाहना वा सपना जे भनौ, धुरन्धर गायक बन्ने थियो । तर समय सँधै आफैले सोचे जस्तो भएन । नेपाल छँदा संगीतमा मरिमेटेरै लागेका थिए आङगेलु, स्वर पनि ठीकै थियो । उनीभन्दा निकै कम रेञ्जको स्वर भएका थुप्रै गायकहरु भटाभट एल्बम निकाल्दै गायकको रुपमा टीभी, रेडियो र पत्रपत्रिकामा अन्तरवार्ता अनि कहिलेकाँही विदेशका कार्यक्रममा समेत पुग्न थाले । यता, आङगेलु अलि फरक देखिए । संगीतको परिपक्व साधना बिना एल्बम निकाल्न हतारिएनन् ।
काठमाडौँमा बस्दा विभिन्न सांगीतिक प्रशिक्षण केन्द्रमा स्वर तिखार्नकै लागि उनले एक दशक भन्दा बढि समय खर्चिए । जब उनको स्वरमा परिपक्वता आउँदै थियो यता सांगीतिक क्षेत्र भने बेग्लै स्वरुपमा ढल्किसकेको थियो । पैसा बिना छिसिक्कै केही नहुने । रेकर्ड गर्दा होस वा एल्बम सार्वजनिक गरिसके पछि प्रमोसन गर्न, जता फक्र्यो पैसा नभई नहुने । पैसा कसरी जोहो गर्ने भनेर रन्थनीरहेका उनी कसो कसो च्यानेल मिलाएर अमेरिका पुगे । अमेरिका पुगे पछि भने उनले केही समय दायाँबायाँ मन डुलाएनन् । आँखा चिम्लेर श्रम गरे । धेरथोर पैसा पनि कमाए । जब उनलाई अलि अलि पैसा कमाएको महशुष भयो, पुरानो गायकी रहर मनैदेखि जुरमुराए आयो । उत्ति नै खेर हानिएर नेपाल आए अनि केही गीत आफ्नो स्वरमा रेकर्ड गरे ।
गीत त गाए तर कस्तो भने आफ्नै गाउँठाउँको वर्णन गरेर । उनले गाएको गीत यस्तो छ ‘घर मेरो सोलु नुनथला लाइदेउ माया जे होला ।’ रोज मोक्तानको शव्द र संगीत रहेको गीत सुन्ने जत्ति सबैले म्यूजिक भिडियो बनाउन दवाव दिए पछि आङगेलुले नाई भन्न सकेनन् । सोलुखुम्बुका डाँडाकाँडामा पुगेर उनले एउटा म्यूजिक भिडियो पनि बनाए । ल्हाक्पा शेर्पाले निर्देशन गरेको भिडियो सार्वजनिक भए पछि उनले सोचे ‘एकैचोटी ८,९ वटा गीत राखेर एल्बम निकाल्नु भन्दा रेकर्ड भएका गीतहरुको वर्षेनी एउटा एउटा म्यूजिक भिडियो बनाउँदै गीत सार्वजनिक गर्नु ठीक होला ।’ अहिले आङगेलु त्यस्तै गरिरहेका छन् । वर्षैपिच्छे केही हजार अमेरिकी डलर खल्तिमा हालेर नेपाल आउँछन्, साथीभाई, आफन्तसँग भेटघाट गर्छन् अनि फर्कने बेलामा एउटा म्यूजिक भिडियो पनि बनाउँछन् ।
पहिलो गीतको म्यूजिक भिडियो बनाएर गएको एक वर्षपछि नेपाल फर्किएका उनले फेरी अर्को गीतको म्यूजिक भिडियो पनि बनाइसकेका छन् । ‘गोधुली साँझ रमाइलो लाग्ने’ बोलको उक्त गीतको पनि म्यूजिक भिडियो निर्माण भइसकेको छ । यो गीतमा पनि पनि ल्हाक्पा शेर्पाकै निर्देशन रहेको छ । सिन्धुली र धुलिखेलमा छायांकन गरिएको गीतमा समृद्धी पन्तको कोरियोग्राफी, नविन के. श्रेष्ठको छायांकन रहेको छ भने सुरज राई, छिरिङ डोल्मा शेर्पा र गायक आङगेलु आफैले अभिनय गरेका छन् । 
प्रतिक्रिया