लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट गर्न बैठक शुरु
सारांश
- ९ कात्तिक, काठमाडौं ।
- नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सीट बाँडफाँटको अन्तिम कसरत शुरु भएको छ ।
- सीट बाँडफाँटका लागि गठन गरिएको कार्यदलको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ।
९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको सीट बाँडफाँटको अन्तिम कसरत शुरु भएको छ ।
सीट बाँडफाँटका लागि गठन गरिएको कार्यदलको बैठक बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ। बैठकमा नेपाली कांग्रेसका नेताहरु बिमलेन्द्र निधी, मिनेन्द्र रिजाल, पूर्णबहादुर खड्का, राप्रपा बुद्धिमान तामाङसहितका नेताहरुको सहभागिता रहेको प्रधानमन्त्रीका वरिष्ठ प्रेस विज्ञ गोविन्द परियारले बताएका छन् ।
कार्यदलको बैठकपछि कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ ।
कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, लोकतान्त्रिक गठवन्धननिकट रहेका दलहरुसँग छलफल गर्ने र आजै सिट बाँडफाँट गर्ने गृहकार्य गरिएको छ ।
कांग्रेस नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहभागी छन् ।
सिट बाँडफाँटबारे दुई राप्रपासँग कांग्रेसले छलफल गरेपनि राजपा र संघीय फोरमसँग ठोस छलफल हुन सकेको छैन । फोरम र राजपाले छलफलका लागि बिहीबारको समय मागेकाले यो विषय टुंगिन नसकेको नेताहरुले बताएका छन् । सिट बाँडफाँटमा ढिलाइ भएपछि कांग्रेस अलमलमा परेको छ । उसले बिहीबारको बैठकबाट सिट बाँडफाँट टुंगो लगाएर आफ्ना उम्मेदवारहरु छनोट गर्ने सोच बनाएको छ ।
यद्यपि, लोकतान्त्रिक गठबन्धनमा सिट बाँडफाँट सहजै टुंगिने सम्भावना भने कम छ । संघीय फोरम र राजपाले प्रदेश नं. २ मा धेरै सिट मागेकाले यो पेचिलो बन्ने अनुमान गरिएको छ ।
दोस्रो चरणको उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएकाले गठबन्धनमा सहभागी दलहरु उम्मेदवार टुंगो लगाउन दबावमा परेका छन् । दोस्रो चरण निर्वाचनको उम्मेदवार मनोनयन दर्ता कात्तिक १६ का लागि तोकिएको छ । दोस्रो चरणको चुनाव ४५ जिल्लामा मंसिर २१ गते हुँदैछ ।
यसअघि ३२ जिल्लामा पहिलो चरणमा हुने निर्वाचनको मनोनयन दर्ता भइसकेको छ ।
प्रतिक्रिया