कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
सारांश
- काठमाडौं।
- कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ।
- पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ।
काठमाडौं। कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका संशोधनसहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनको कार्यतालिकाको विषयलाई लिएर कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद शीर्ष नेताको बैठकले टुंग्याएपछि केन्द्रीय समिति बैठक बस्न लागेको हो। यसअघि केन्द्रीय समिति बैठक बहिस्कार गर्दै आएको संस्थापन इतर समूह पनि आजको बैठकमा सहभागी हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
अर्काे वर्ष फागुन ७ देखि १० गते महाधिवेशन गर्ने मिति यतावत् राखेर आन्तरिक कार्यतालिका संशोधन गर्ने सहमति शीर्ष नेताबीच भएपछि आज बस्ने बैठकमा संशोधित कार्यतालिका पेश हुनेछ। ‘बैठकमा महामन्त्रीले पुरानै मितिमा महाधिवेशन गर्ने गरी परिमार्जन सहितको आन्तरिक कार्यतालिका प्रस्तावका रूपमा पेश गर्नु हुनेछ’, शर्माले भने, ‘मुख्यतः यही विषयमा बैठकमा छलफल हुनेछ।’
शुक्रबार बसेको शीर्ष नेताले बैठकले आन्तरिक कार्यतालिका परिमार्जन गरी प्रस्ताव पेश गर्न महामन्त्रीद्धय डा. शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिएको थियो। कांग्रेसमा भदौमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका संशोधनको तयारी भइरहेको एक नेताले बताए। पुस ११ गतेको केन्द्रीय समिति बैठकले अर्काे वर्ष मंसिरमा स्थानीय अधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको थियो। २०७७ मंसिर ९ मा गाउँ÷नगर वडा अधिवेशन, मंसिर ११ मा गाउँ÷नगरपालिका अधिवेशन, मंसिर १५ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, मंसिर १७ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, मंसिर २५ मा जिल्ला अधिवेशन, पौष १५ गते र फागुन ७, ८, ९ र १० गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ।
प्रतिक्रिया