काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौँ–तराई द्रुतमार्ग काम कहाँ पुग्यो त!

सारांश

  • काठमाडौं, २६ फागुन- बहुप्रतीक्षित काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) निर्माणले थप गति लिने भएको छ ।
  • निर्माण कम्पनीहरू छनोट कार्य अगाडि बढेकाले गति लिने भएको हो ।
  • द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी पाएको नेपाली सेनासँग दक्ष जनशक्ति र उपकरण सीमित भएको हुनाले निर्माण कम्पनीहरू संलग्न गराउँदै काम अगाडि बढाइएको छ ।

काठमाडौं, २६ फागुन- बहुप्रतीक्षित काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) निर्माणले थप गति लिने भएको छ । निर्माण कम्पनीहरू छनोट कार्य अगाडि बढेकाले गति लिने भएको हो । द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी पाएको नेपाली सेनासँग दक्ष जनशक्ति र उपकरण सीमित भएको हुनाले निर्माण कम्पनीहरू संलग्न गराउँदै काम अगाडि बढाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले उक्त द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी नेपाली सेनाले पाए पनि सेनासँग आवश्यक जनशक्ति र उपकरण नभएको हुनाले निर्माण कम्पनीहरूलाई समेत संलग्न गराउनु परेको स्पष्ट पार्नुभयो ।

विशेष गरी सुरुङ तथा ‘हाई ब्रिज’ निर्माणमा स्वदेशी तथा विदेशी प्राविधिक र प्रविधिको आवश्यकता पर्नसक्ने सेनाले जनाएको छ । “निर्माण कम्पनीहरूले विशेष ‘ट्र्याक कटिङ र फिलिङ’ तथा ‘माइनर सिभिल कन्स्ट्रक्सन’को काम गर्नेछन्”, प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठवटा निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ भने सम्झौताका लागि १४ वटा निर्माण कम्पनीको आश्यपत्र लिई सम्झौताका लागि प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।
सबै कम्पनी स्वदेशी नै रहेको तथा आवश्यकताअनुसार अरू कम्पनीसँग पनि सम्झौता गर्न सकिने उहाँले बताउनुभयो । सेनासँग भएको सम्झौताअनुसार निर्माण कम्पनीहरूले द्रुतमार्गको तोकिएको विभिन्न खण्डमा निर्माण कार्य गर्नेछन् ।

एसियाली विकास बैङ्क (एडीबी)ले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनको आधारमा नै अहिले नेपाली सेनाले द्रुतमार्ग निर्माण अगाडि बढाइरहेको बताउँदै उहाँले आवश्यक परेमा सोही प्रतिवेदनकै आधारमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)समेत तयार पार्ने जानकारी दिनुभयो । यसअघि सेनाले भारतीय कम्पनी ‘इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्स सर्भिसेज लिमिटेड’द्वारा तयार पारिएको डीपीआर खरिद नगर्ने निर्णय गरिसकेको छ ।

अहिले बारा जिल्लामा पर्ने सात किलोमिटर दूरीमा सडक निर्माण भइरहेको तथा मकवानपुर जिल्लाको लेनडाँडा र बुदुनेमा रूख कटान भइरहेको जानकारी उहाँले दिनुभयो ।

यसअघि काठमाडौँको मक्खुबेँसी; मकवानपुरको लेनडाँडा, बुदुने र सिस्नेरी तथा बाराको बागदेव भन्ने स्थानमा स्थायी रूपमा बेस क्याम्प र ललितपुरको खोकना, मकवानपुरको राजदमार तथा बाराको निजगढमा अस्थायी बेस क्याम्प खडा गरी निर्माणकार्यलाई तीव्रता दिइएको सेनाले जनाएको छ । भविष्यमा थप एक ठाउँमा समेत बेस क्याम्प निर्माण गरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?