कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणाः प्रचण्ड

सारांश

  • चितवन, ८ फागुन ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् ।
  • भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए ।

चितवन, ८ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिकरुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने कार्यदलले प्रतिवेदन दिएपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्ने बताए ।

“हामीले हिजो दुईवटा कार्यदल बनाएको छौं । यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ” अध्यक्ष प्रचण्डले भने, “त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउछौं ।” नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिकरुपमा नयाँ दलका रुपमा निर्वाचन आयोगमा दर्ता गरिने जानकारी पनि उनले दिए ।

अध्यक्षले प्रचण्डले थपे, “सैद्धान्तिक र व्यवहारिक किसिमले हामी एकै कम्युनिष्ट पार्टी भइसक्यौं । तर कानुनीरुपमा निर्वाचन आयोगमा दल दर्ता गरेपछि मात्रै हामी नयाँ पार्टी हुन्छौं ।” अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रियरुपमा समेत स्थापित मान्यताका आधारमा एकता महाधिवेशनसम्म दुबै पार्टीका अध्यक्ष “सह–अध्यक्ष”का रुपमा रहने बताए । बैठकको अध्यक्षता आलोपालो गरिने र नयाँ पार्टीमा दुबै अध्यक्ष रहने र सोही अनुरुप हस्ताक्षर समेत रहने उनले बताए ।

अध्यक्ष प्रचण्डले भने, “हामीले निर्वाचनअघि जनतासँग चुनावपछि पार्टी एकता हुनेछ, देशमा राजनीतिक स्थायित्वका लागि सम्पूर्ण तागत लगाइनेछ र आर्थिक विकास र समृद्धिमा ध्यान केन्द्रीत गरिने छ भनेर प्रतिबद्धता र संकल्प गरेका थियौं । आज तपाईहरुसँग एकता हुने निर्णय भएपछि भेट भएको छ । यो ऐतिहासिक परिघटना र नेपाल राष्ट्रका लागि दूरगामी परिघटना हो । यसले २०१९ साल देखि टुटफूट हुँदै आएको कम्युनिष्ट आन्दोलनमा गुणात्मक फड्को मारेको छ ।”

पार्टी एकताले नेपालमा मात्र नभएर दक्षिण एशिया र विश्वका न्यायपूर्ण तथा प्रगतिशील आन्दोलनमा समेत ठूलो सकारात्मक प्रभाव पार्ने प्रचण्डको बुझाई छ । नेपालको समृद्धि विकासको चासो र चिन्ता पार्टी एकतामा केन्द्रीत रहेको बताउँदै अध्यक्ष प्रचण्डले एकता साधारण र सामान्यरुपमा सम्पन्न नभएको उल्लेख गरे । “नेपाली आम जनताको मनमा निकै ठूलो कौतुहल र जिज्ञासा निर्वाचनपछि सबैको ध्यान, बामपन्थीको बलियो सरकार बन्छ कि बन्दैन ? स्थायित्व र समृद्धितर्फ देश जान्छ कि जाँदैन ? पार्टी एकता भएन भने समृद्धि पनि हुन्न, अरु कुरा पनि धरापमा पर्छ भन्ने ठूलो चिन्ता थियो”, अध्यक्ष प्रचण्डले भने, “दुबै पार्टी नेतृत्वका सबै कमरेडहरुले यो परिस्थितिको धेरै कोणबाट आँकलन, मूल्यांकन र समीक्षा गरेर कुनै पनि मूल्यमा यसलाई टुंगोमा पुराउनु पर्छ भनेर लाग्यौं र हिजो सफलता पायौं ।”

विचारमा फरक मत राख्ने कांग्रेसलगायतका साथीहरुलाई पनि सुशासन, समृद्धि र विकासका हितमा यो कदम सबैका निम्ति गर्व गर्न लायक रहेको सन्देश अध्यक्षले दिए । पार्टी एकतालाई लिएर दुबै पार्टीभित्रका सबै असन्तुष्टि समेत समझदारीसँगै अन्त्य भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?