कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कार्यालयले सरुवापत्र दिन नमान्दा स्वास्थ्यकर्मीलाई समस्या

सारांश

  • बैतडी, २ असोज ।
  • सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।
  • गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन ।

बैतडी, २ असोज । सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय नहुँदा जिल्लाका स्वास्थ्यकर्मी समस्यामा परेका छन् ।गत भदौ १७ गते कर्मचारी जिल्लाबाट सरुवा भएपनि हालसम्म उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले सरुवापत्र उपलब्ध गराएको छैन । कार्यालयले सरुवापत्र दिन नमान्दा २२ स्वास्थ्यकर्मीलाई समस्या भएको छ । स्वास्थ्य सेवा विभागले सरुवा गरेपनि स्वास्थ्य कार्यालयले सरुवापत्र दिन नमानेको कर्मचारीको आरोप छ ।

“सरुवा भएपनि अन्योलमा छौँ,” दोगडाकेदार गाउँपालिका–३ श्रीकोट स्वास्थ्यचौकीका अहेव प्रेम चन्दले भनेका  छन् । गाउँपालिकाले समेत सहमति दिएको अवस्थामा जिल्लाले रोकेको उहाँको गुनासो छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जगदीशचन्द्र विष्ट विभागबाट सरुवा गरिएकोबारे आधिकारिक पत्र प्राप्त नभएको बताएका छन् । उनले भने, “प्रदेश नं ७ सरकारले सरुवापत्र नदिनु भन्ने निर्देशन दिएको छ ।”प्रदेश नं ७ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका प्रमुख, स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले बैतडीमा मात्र नभइ प्रदेशभरिका सबै जिल्लाका सरुवा भएका स्वास्थ्यकर्मीलाई सरुवापत्र नदिन निर्देशन दिएको बताए । तीन हजार १७७ स्वास्थ्यकर्मीको दरबन्दी भएको प्रदेश नं ७ मा झण्डै २०० पद रिक्त रहेको छ । उनले भने, “यही प्रदेशबाट १५० स्वास्थ्यकर्मीको सरुवा गर्दा स्वास्थ्य संस्था बन्द हुन्छन् ।”

डा अवस्थीका अनुसार सङ्घीय सरकारले प्रदेश नं ७ बाट सरुवा मात्रै गरेको र अन्यत्रबाट यहाँ स्वास्थ्यकर्मी नपठाएको बताए । सङ्घीय सरकारले अन्य प्रदेशबाट प्रदेश नं ७ मा स्वास्थ्यकर्मी नपठाउँदासम्म सरुवापत्र नदिइने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?