… कि गीत गाएर ?
सारांश
- विष्णु फडेरा त्यत्तिकैमा नजिकैबाट आवाज आयो ।
- यही बर्ष तिमीलाई बेहुली बनाउँथे ।
- केही बर्ष पर्ख, दुःखमा पर्याछु ।
विष्णु फडेरा
त्यत्तिकैमा नजिकैबाट आवाज आयो । यही बर्ष तिमीलाई बेहुली बनाउँथे । केही बर्ष पर्ख, दुःखमा पर्याछु । गायक यशकुमारको शब्द, स्वर रहेको यो गीत नजिकैबाट सुनिएपछि म एकछिन रोकिए । उनले पनि यताउता हेरिन् । नजिकैको अर्को घरको छानामुनि एक जोडी ओत लागिरहेका रहेछन् । शायद पानी परेको भएर र अँध्यारो भएर पनि उनीहरुलाई देख्न र चिन्न त सकिएन तर उनीहरु प्रेमिका र प्रेमी भनेर अनुमान लगाएँ मैले । शायद उनले पनि । उनीहरुको गीतले प्रष्टै बोल्थ्यो कि शायद दाल मे कुछ काला है ?
तिर्खा एल्बमको उक्त गीतले केहीछिन ध्यान केन्द्रीत गरे तापनि मेरो लागि भने ध्यान भंग गरेको महसुस भएको थियो मलाई । हुन त भोगको अर्थ हुने भावनाको अर्थ नहुने यो जमानामा कता कता मलाई लाग्यो । मैले भावनाको कुरा उसलाई पानी रोकिन्जेलसम्म चासो हुने होइन जस्तो लागेको थियो । तर त्यसपछि उनले भनिन् “तँ कसरी यो पेशामा लागिस् ? अनि बल्ल खुशीले मन प्रफुल्ल भयो ।
सुर्खेतमा बस्न थालेको करीब दुई बर्षपछि त्यँहाको सामुदायिक टेलिभिजनमा कर्मचारी खोजेको रैछ । त्यो खबर मैले म बस्ने घरबेटीको टेलिभिजन हेरेर थाहा पाएँ । टेलिभिजनले मागेको मापदण्ड मैले पूरा गरेको थिएँ । आमसञ्चार र पत्रकारितामा निजी स्कुलमा पहिलोेपटक पढाई हुने उषा बालबाटिका उच्च माध्यमिक विद्यालयमा आइए दोस्रो बर्ष अध्ययन गर्दै थिँए । मैले त्यति नै बेला एक महिने उद्घोषण कला तालिम लिएर सकाएको थिएँ । आफूले पढ्दै गरेको विषय र आफूले चाहेको जागिर मिल्ने भएपछि को नै खुशी नहोला र ? मैले पनि फर्म भरे न्यूज रिपोर्टरमा । अफिसले समय तोक्यो । २ जना रिपोर्टर माग रहेकोमा मसहित २५ जनाले आवेदन दिएका थियौँ । मलाई लाग्थ्यो, म नै त्यो पोस्टको लायक छु । म नै छानिन्छु । तर बिडम्बना ! लिखितमा नाम निस्क्यो, मौखिकमा बोलाइयो । अन्तर्वार्ता पनि सकियो । तर मेरो नाम चाहिएको नम्बरमा निस्केन । अर्थात म नाम निकाल्न असमर्थ भएँ । मलाई लाग्यो कतिपय कुराहरुमा आफूमात्र सबै थोकले परिपक्व छु भनेर नहुँदो रहेनछ । कतिपय थाहा नपाएको बाहिरी बिषयबस्तुहरुले जिन्दगीलाई हार्न बाध्य तुल्याउँदो रहेछ । हो यही भएको रहेछ मलाई मेरो जिन्दगीको पहिलो परीक्षामा । मौखिकमा सोधिएको थियो, “तपाई कुन पार्टीको ?” मैले सहजै जवाफ दिएको थिएँ, मेरो घरमा सात जना सदस्य छौँ । मेरो बुवा एमालेमा आस्था राख्नुहुन्छ । आमा माओवादीको अन्धभक्त हुनुहुन्छ । किनकि मेरो आमाको भाइ अर्थात मेरो मामा पर्ने तत्कालीन जनमुक्ति सेना नेपाल अर्थात माओवादी लडाकु हुनुहुन्थ्यो । अनि मेरो हजुरआमा (बच्चु हुम्लातिरको भाषामा) माओवादीमा आस्थावान हुनुहुन्छ । किनकि मेरो हजुरआमाका माइतिहरु माओवादी थिए र उहाँहरुले हजुरआमालाई माओवाद रटाएका थिए । जसले गर्दा हजुरआमाका लागि माओवादी माइति पार्टी थियो । अनि एउटामात्र बहिनी छन्, उनी हामीलाई सूर्य भएन भने घाम लाग्दैन, चिसो हुन्छ भनेर सूर्यलाई आफ्नो बनाएकी थिई । तर उसलाई पार्टी के हो ? थाहा थिएन । भाइ सानो छ । तर पनि उसलाई मेरो जेठानले एउटा कलम दिएर कांग्रेस बनाई सक्नुभएको थियो । भाइले यदि भोट हाल्न पाएको दिन रुख बाहेक कतै नहाल्ने प्रमिस गरेबापत उसले ३ कक्षा पढ्दै गर्दा लेख्न चाहिने कलम पाएको थियो, मेरो जेठानबाट । मेरो जीवन संगिनी अर्थात बूढीको घरका सबै जना कट्टर कांग्रेस । यहाँसम्म कि माओवादी समयमा कर्णाली अञ्चलनै माओवादीमय भएको बेला कांग्रेसको साख जोगाइदिनेमा मेरो ससुराली पनि पर्नुहुन्थ्यो । अब मेरो पालो आयो । मैले भने आज पहिलो संविधानसभाको चुनावमा जसलाई भोट हालें त्यो पार्टीले जित्यो । सांसद भए । तर यो पटकको चुनावमा भोट हाल्न पाइँदैन होला । किनकि मैले घर जान पाउँदिन । तर पनि यदि मैले भोट हाल्न पाएँ भने मेरो समर्थन पहिलेको पार्टीलाई हुन्छ ।
यति बोलिसकेपछि मेरो अन्तर्वार्ता सकिएको थियो नै सँगसँगै जागिर खाने बाटो पनि सकिएको रहेछ । कारण बुझ्दा म माओवादी समर्थक भएर त्यो पोस्टको लागि अयोग्य भएको रे !!! केही समयपछि फेरि त्यही पोस्टमा त्यही टेलिभिजनले भ्याकेन्सी खुलायो अर्थात कर्मचारी माग्यो । मैले हिम्मत हारेको थिइन । मैले फेरि आवेदन दिएँ । पहिलेकै प्रक्रिया चल्यो । परीक्षा दिएँ । नाम निस्क्यो । मौखिकमा बोलाइयो । लाइनमा लागेर मेरो पालो आएपछि फेरि त्यही कोठामा पसे । जुन कोठामा केही समय अगाडि पसेको थिएँ । मलाई लाग्यो त्यो कोठामा म दिनहुँ आइराखेको हुन्छु । अनि अन्तर्वार्ता लिने सरहरु सधै भेटेका हुन् । मैले प्रक्रिया पुराएर सोफामा बसें । प्रश्न सोध्ने क्रम सुरु भयो । पहिलो प्रश्न थियो, तपाई पहिले पनि आउनु भएको थियो हो ? मैले जवाफ दिएँ, हो सर । बीचमा पत्रकारिता सम्बन्धी केही औपचारिक प्रश्न सोधियो । अन्तिममा मलाई एउटा अचम्मको प्रश्न थियो । एउटा देउडा गीत सुनाऊ अनि जाऊ । मैले पनि एउटा गीत गाएँ जुन गीत थियो, साउनकी अँध्यारी रात काँ पड्यो हो जुन, बनाऊँ कि हातको औँठी असरुपी सुन । केही समयपछि परिणाम आयो । मेरो नाम ९ जनामा जागिर गर्ने लिस्टमा निस्क्यो । तर मलाई लाग्दै छ मेरो नाम चाहिं कसरी निस्क्यो ? पहिलेको चिनजान भएर कि ? मेरो क्षमता भएर कि गीत गाएर ?
प्रतिक्रिया