कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
कृषि विकास : इजरायलबाट केहि सिक्ने हो कि ?

सारांश

  • गणेश शाक्य नेपालमा कृषि विकासको कुरा गनुपर्दा विगत केहि वर्ष यता कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान क्रमशः घट्दो क्रममा रहेको तथ्य सर्वविदितै छ ।
  • तर पनि अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसंथ्याको करिव ६८ प्रतिशत नेपालीहरु अझैपनि कृषि पेशामा आश्रित छन भने कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३४ प्रतिशत रहेको छ ।
  • सायद यसै तथ्याङ्कको आधारमा नेपाललाई ‘कृषि प्रधान देश’ भनेको पो हो की ?

गणेश शाक्य

नेपालमा कृषि विकासको कुरा गनुपर्दा विगत केहि वर्ष यता कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान क्रमशः घट्दो क्रममा रहेको तथ्य सर्वविदितै छ । तर पनि अन्तर्राष्ट्रिय श्रम संगठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल जनसंथ्याको करिव ६८ प्रतिशत नेपालीहरु अझैपनि कृषि पेशामा आश्रित छन भने कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान ३४ प्रतिशत रहेको छ । सायद यसै तथ्याङ्कको आधारमा नेपाललाई ‘कृषि प्रधान देश’ भनेको पो हो की ?

पाँचौं पञ्चवर्षीय योजनादेखि निरन्तररुपमा कृषि क्षेत्रले प्राथमिकता नपाएका पनि हैन । कृषि विकासको लागि विनियोजित बजेटको आकार पनि बढेकै हो । विभिन्न कृषि योजना, आयोजना, कार्यक्रम, नीति नियम तर्जुमा पनि भएकै हो । यति हुँदाहुँदै पनि कृषिमा क्षेत्रमा जुन प्रगति हुनुपर्ने हो त्यो भने सोचे अनुरुपको छैन । बरु, कृषिवस्तुमा परनिर्भरता बढैको बढ्यै छ । खाद्यवस्तुको मूल्य बढैको बढ्यै छ । किन यस्तो स्थिति आयो भन्नेबारे राज्यले समिक्षा गर्नु पर्ने हैन र ? अब एकैक्षण इजरायलले कृषिमा गरेको प्रगतिबारे बुझ्ने प्रयत्न गरौं ।

नेपाल भन्दा इजरायल ३ वर्षले मात्र अगाडि स्वतन्त्र भएको मुलुक हो । सन् १९४८ मा स्वतन्त्र भएपश्चात मात्र इजरायलमा कृषिक्रान्ति भएको हो तर आजसम्म आईपुग्दा इजरायलले कृषिमा गरेको प्रगति देखेर संसार चकित छन । त्यतिकै चमत्कार भएको हैन । इजरायलमा कृषिलाई शुरुदेखि नै उद्योगको रुपमा विकास गरेका थिए, त्यो पनि अति विकसित उद्योगको रुपमा । भूगोलकै कुरा गर्ने हो भनेपनि इजरायल मरुभूमी देश हो । देशको कुल भूभागमध्ये आधाभन्दा वढी भाग त मरुभूमी नै छ र जलस्रोतको कुरा गर्नुपर्दा पनि खेती गर्ने अनुकुल वातावरण नै छैन इजरायलमा ।

त्यहाँको हावापानी शुष्क तथा अर्धशुष्क प्रकारको छ । पानी निकै समस्या छ । तर पनि सफल भएको छ इजरायल कृषि क्षेत्रमा । आफूसँग उपलव्ध पानीको पुरा वैज्ञानिक ढंगले सदुपयोग गरेका छन पौरखी इजरायलीहरुले । वार्षिक पुनः प्रयोग गर्न सकिने ५६ लाख क्युविक फुट जलस्रोतमध्ये ७५ प्रतिशत पानी कृषिमा प्रयोग गरेको छ । भौगोलिक कठिनाईलाई चिर्दै कृषिमा वैज्ञानिकिकरण गर्न सफल भएको छ । कृषि प्रविधि विकासमा पनि इजरायल विश्वमै अब्बल दर्जामा रहेको छ । विश्वकै अति विकशित देशहरु पनि इजरायलको प्रविध प्रयोग गरिरहेका छन अहिले ।

हुनतः इजरायलमा पनि खेतीमा लाग्ने कृषकहरुको संख्या विगतका समयको दाँजोमा कमी हुँदै आइरहेको पाइन्छ । त्यहाँको श्रम बजारमा अहिले ३.७ प्रतिशत मात्र कृषकहरुको संलग्नता छ । नेपालमा जस्तै त्यहाँ पनि कृषियोग्य भूमी २० प्रतिशत मात्रै छ । पानीको अभाव त छँदैछ । तर पनि, आफूलाई आवश्यक ९५ प्रतिशत खाद्यान्न आफैँ उत्पादन गर्छ इजरायल । देशभरी अंगुर उत्पादन गरिएको छ । ताजा अंगुर, वाइन, सुन्तलाजात फलफूल, दुध तथा दुधजन्य पदार्थ निर्यातमा पनि अग्रणि छ इजरायल ।

सन् १९४८ ताका ४ लाख ८ हजार एकड भूमिमा सिमित खेती अहिले आएर ११ लाख एकड भन्दा बढि भूमिमा खेती विस्तार भईसकेको अवस्था छ । उत्पादन उ बेलाको तुलनामा १६ दोब्बरले वृद्धि भएको छ जुन जनसंख्या वुद्धिको दाँजोमा ३ गुणाले बढि छ । स्मरण रहोस, इजरायलमा कृषि विकासको आधार भनेको सामुदायिक खेती प्रणाली हो । त्यहाँ २ प्रकारका अद्वितिय कृषि समुदायहरु कृषि क्षेत्रमा कार्यरत छन । पहिलो किबुज (Kibbutz)  समुदाय र दोश्रो मोसभ (Moshav)  । किबुज समुदायमा उत्पादनको सबै माध्यमहरुको मालिक समुदाय नै हुन्छन ।

प्रत्येक व्यक्तिगत सदस्यले गरेको कामबाट पुरै समुदाय लाभान्वित हुन्छन् । मोसभ समुदायमा भने ग्रामिण खेतीको विकास गरिएको हुन्छ जहाँ प्रत्येक परिवार आफ्नो घरुधरीको आफैँ हेरचाह गर्छन र आ–आफ्नै खेतमा काम गर्छन तर खेतीको लागि आवश्यक सामाग्री खरिद र वजारीकरण गर्ने कार्यमा भने आपसी सहयोगौ गर्ने गर्छन । यसप्रकारको समुदाय संख्या हाल एकहजारको हाराहारीमा पुगिुकेका छन जुन शुरुवातीमा ४ सयको संख्यामा मात्र थिए ।

इजरायलमा कृषि क्षेत्रमा भएको चमत्कारिक प्रगतिमा सहकारी सिद्वान्तको ठूलो योगदान छ । उत्पादनदेखि बजारीकरणसम्मको हरेक मूल्य श्रृंखलामा सहकारीले खेलेको भूमिका प्रशंसनीय छ । वैज्ञानिक ढंगबाट सिंचाई व्यवस्थापन गर्न सक्नु अर्को महत्वपूर्ण पक्ष हो । खेतीको लागि प्रतिकुल पानीलाई प्रशोधन गरी अनुकुल बनाउनु, आकासे पानीलाई सञ्चय गरी खेतीको लागि उपयोग गर्नु कम चुनौतीपूर्ण कार्य हैन तर चुनौतीलाई अवसरमा बदलीकन देखाइदिएको छ इजरायलले । सबैभन्दा सिचाईंमा गरेको प्रगति भनेको थोपा सिचाईं पद्धतिको विकास हो । जलस्रोतको अभाव भएको क्षेत्रको लागि त वरदान नै सावित भएको छ यो पद्वति । यस पद्धतिको विकासले पानीको फारो त भएकै छ, साथै व्यवस्थित ढंगले सिचाईं हुने भएकोले उत्पादन र उत्पादन दर समेत वृद्धि हुन गएको छ ।

जे हुन्छ प्रविधि विकासले हुन्छ भन्ने कुरा छर्लङ्गै देखाइदिएको छ । समय अनुसार प्रविधि विकासमा पनि परिवर्तन भईरहेको हुन्छ । परिवर्तित समय अनुसार नयाँ–नयाँ प्रविधि विकास गर्न आवश्यक हुन्छ । यसको लागि अति महत्वपूर्ण विषय भनेको अनुसन्धान र विकास ( R & D)  मा लगानी हो । हो, इजरायलमा कृषिमा प्रगति हुनु भनेकै अनुसन्धान र विकासको लागि गरेको लगानीको फल हो । कृषि अनुसन्धान र विकासका लागि इजरायलले ठूलो लगानी गरिसकेको छ र अहिले पनि यसलाई निरन्तरता दिइरहेको छ ।

अहिले, इजरायली सरकारले कृषिमा अनुदान दिन छाडिसकेको छ । कुन ठाउँ, कुन वालीको लागि कस्ता उन्नत जात उपयोगी हुन्छ ? उत्पादन प्रविधि, वाली कटानी प्रविधि आदिका लागि अझैँ के गर्ने सकिन्छ भन्ने विषयमा अनुसन्धान गर्ने कार्यमा लागिपरेका छन् इजरायल । यति मात्र नभई सिमित पानीको स्रोतलाई अधिकतम प्रयोग गर्न कस्ता नौला प्रविधि विकास गर्न सकिएला भन्नेमा लागि परेका छन ।

एकातिर मरुभूमि जस्तो देशमा कृषि क्षेत्रमा चमत्कार भइरहेको छ भने अर्कोतिर नेपाल जहाँ कृषि विकासको लागि अवसरै अवसर भएतापनि झन–झन कृषि वस्तुमै परनिर्भरता बढ्दै गईरहेको अवस्था छ । प्रत्येक ३०/४० किलोमिटरको दुरीमा फरक फरक प्रकारका भू–वनौट, फरक–फरक हावापानी, फरक–फरक कृषि उत्पादन गर्न सकिने अवस्था विद्यमान रहेतापनि किन कृषिले आजसम्म काँचुली फेर्न नसकेको ? के सबै दोष अस्थिर सरकारकै कारण मात्र हो कि वा अन्य पनि कारणहरु छन ? प्रश्न अवश्य गम्भिर छ ।

जे होस, अब आरोप प्रत्यारापमै मात्र समय खेर नफालौं, बरु इजरायलबाट केहि पाठ सिकौं । मुख्य कुरा भनेको अनुसन्धान र विकासमै समय खर्चिनुप¥यो, अब । नेपालमा कृषि अनुसन्धान नभएकै हैन भन्न खोजेको हैन । वर्षमा २÷४ वटा नयाँ जातको वीउ सिफारिस गर्दैमा अनुसन्धान कार्य पुरा भएको मान्न सकिन्न । महिनौं मेहनत गरि बल्ल वाली लाग्ने बेलैमा विभिन्न रोगकिरा लागि वाली नै सखाप हुने अप्रिय घटनाहरु नदेखिएका पनि हैन । त्यसैगरि, वाली हुर्केर अन्न लाग्ने बेलामा अन्नै नलाग्ने जस्ता घटना पनि नदेखिएका हैन । खै त बेलैमा यस्तो अप्रिय घटनाबाट जोगिन गरेका अनुसन्धात्मक कार्य भएको ?

सधैँ । यति माात्र हैन, भिरालो, पाखो, समथर सबै जग्गा जोत्न खन्न सक्ने विभिन्न प्रकारका मेसिन औजार बजारमा उपलव्ध छन । यस्ता मेसिन औजारहरुको व्यापक प्रयोग गरि कृषिमा यान्त्रिककरण गर्नुप¥यो । थोपा सिचाईंलाई व्यापकता दिनुप¥यो । हावापानी, भू–वनौट, माटोको गुण अनुसारको उन्नत जातको बीउबिजन उत्पादनको लागि अनुसन्धान गर्नुप¥यो । यसो भन्नुको तात्पर्य नेपालमा अनुसन्धान र विकास कार्यको लागि राज्य तर्फबाट कञ्जुस्याई भएकै हो । यदि बजेट अभावकै कारण यस्ता भएको हो भने अब उप्रान्त राज्यले बजेट विनियोजन गर्दा अनुसन्धान कार्यको लागि उदार हुनैपर्छ ।

कृषि विकासको लागि इजरायलबाट केहि सिक्नैपर्ने कुरा गरिरहँदा नेपालले इजरायल सरकारसँग प्राविधिक सहयोगको लागि हात बढाउनै पर्नेहुन्छ । हुन त इजरायल सरकारले ३० औं वर्ष अगाडिदेखिनै केहि न केहि प्रकारले सहयोग गर्दै आइरहेकै अवस्था हो । कतिले इजरायलमै गएर तालिम लिइआईसकेका छन भने इजरायल सरकारले नेपालमै प्रदान गरेका तालिम कार्यक्रममा पनि सहभागिता जनाईसकेका छन ।

त्यसमध्ये, थोरैले आफूले सिकेका सिप ज्ञानलाई व्यवहारमा उतारेर लाभान्वित पनि भएका छन भने धेरैजसोले सिकेर आएका सिपलाई प्रयोग गरेको पाइदैँन, यो राम्रो कुरा हैन । आफूले सिकेर आएका सिपलाई व्यवहारमा उतार्नुपर्छ र अरुलाई पनि सिकाउनुमा नै बुद्धिमता हुन्छ । उत्पादन तथा बजार विकासका लागि समुदाय र सहकारीमार्फत गर्दा उत्तम हुनेछ । यसका लागि, समुदाय निर्माण गठनको बलियो आधार विकास गनुपर्छ साथै विद्यमान कृषि सहकारीहरुलाई पनि प्रभावकारी बनाउन अत्यन्त जरुरी छ । अन्तमा, नेपालले पनि कृषि क्षेत्रमा छर्लाङ्ग मार्ने हो भने इजरायलवाट केहि सिक्नु आजको माग हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?