कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह सम्पन्न
सारांश
- काठमाडौं, १३ माघ ।
- सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.
- कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते श्रद्धाञ्जली समारोहको आयोजना गरिएको छ ।
काठमाडौं, १३ माघ । सशस्त्र प्रहरी बल नेपालका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते श्रद्धाञ्जली समारोहको आयोजना गरिएको छ ।
कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित स्मृति बाटिकामा आयोजित ‘कृष्णमोहन–नुडुप १५ औं श्रद्धाञ्जली समारोह’मा सुरक्षा निकाय तथा अन्य विभिन्न क्षेत्रका महानुभावहरुले हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक प्रकाश अर्यालले स्मृति बाटिकामा रहेको स्व. कृष्णमोहन श्रेष्ठको प्रतिमामा पुष्पगुच्छा चढाउनुका साथै हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।
उक्त श्रद्धाञ्जली समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु बासुदेव वली, सनतकुमार बस्नेत, किशोरकुमार लामा र शैलेन्द्रकुमार श्रेष्ठ तथा अवकाश प्राप्त प्रहरी महानिरीक्षक धुब्र बहादुर प्रधान, प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सिमा अर्याल, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता श्रेष्ठलगायत संघका पदाधिकारीहरु एवं नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत तथा कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानका पदाधिकारी लगायत अन्य विभिन्न क्षेत्रका महानुभावहरुले समेत हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए ।
वि.सं. २०५९ साल माघ १२ गते ललितपुरको बागडोलमा प्रातभ्रमणमा रहेको अवस्थामा सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व.नुडुप श्रेष्ठ एवं अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व. सुर्य रेग्मीले गोली प्रहारबाट बीरगति प्राप्त गरेका थिए । उनीहरुको सम्झनामा सो प्रतिष्ठानले हरेक वर्ष श्रद्धाञ्जली समारोहको आयोजना गर्दै आएको छ ।
सो श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले सशस्त्र प्रहरी बल नेपालको व्यावसायीक छवि स्थापित गर्ने कार्यमा स्व.कृष्णमोहन श्रेष्ठको अतुलनीय योगदान रहेको चर्चा गरे ।
उनले स्व. श्रेष्ठलाई आफूले कुशल, सालिन, इमान्दार, व्यावसायीक, संगठनप्रति सेवाभाव र स्नेह राख्ने अब्बल राष्ट्रसेवकको रुपमा लिएको स्मरण गर्दै राष्ट्रसेवामा उनले पु¥याएको योगदानको सधैं कदर हुनुपर्ने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले कर्तव्य पालनाको क्रममा बीरगति प्राप्त गरेका संगठनका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ, उनकी धर्मपत्नी स्व.नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व. सुर्य रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै दिवंगत आत्माको चिरशान्तिको कामना समेत गरे ।
उनले स्थापना अवधिको निकै चुनौतीपूर्ण घडीबाट सशस्त्र प्रहरी बल नेपाललाई कुशल ढंगले डो¥याएका स्व. श्रेष्ठको ओजस्वी नेतृत्व, पेशागत निष्ठा र उच्च व्यावसायीक क्षमता प्रेरणादायी रहेको स्मरण गर्दै उनका पथ छापहरुलाई पछ्याउँदै आगामी दिनमा समेत राज्य प्रदत्त जिम्मेवारीहरुलाई अझैं उत्कृष्ट तवरबाट पुरा गर्नेतर्फ संगठन अनवरत रुपले लागिरहने उल्लेख गरे ।
सो प्रतिष्ठानका अध्यक्ष गोविन्द दास श्रेष्ठले चक्रपथ विस्तारका कारण श्रेष्ठ दम्पतीको हत्या भएको स्थान बागडोलमा रहेको ‘कृष्णमोहन–नुडुप स्मृति उद्यान’ लाई त्यस वरपर सार्ने कार्य भइरहेकोले उक्त स्थानमा गर्दै आएको श्रद्धाञ्जली कार्यक्रम यसपटक हलचोकमा गरिएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपालबाट यथेष्ट सहयोग प्राप्त प्रतिष्ठानले आगामी दिनमा प्रहरी संगठनको व्यावसायीक बृद्धि एवं अन्य समसामयिक क्षेत्रमा कार्यक्रम संचालन गर्ने प्रयास गरिरहेको चर्चा गरे ।
कार्यक्रममा प्रतिष्ठानका सचिव महेश श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै स्वं कृष्णमोहन श्रेष्ठको राष्ट्रप्रतिको देनलाई विर्सन नहुनेमा जोड दिए ।
सो अवसरमा कृष्णमोहन–नुडुप कार्यदक्षता पुरस्कार सशस्त्र प्रहरी सहायक निरीक्षक रविना राई र प्रहरी सहायक निरीक्षक तारादेवी दर्लामी थापालाई प्रदान गरिएको छ भने सशस्त्र प्रहरी नायव निरीक्षक भुवन घिमिरेलाई सूर्य रेग्मी अंगरक्षक पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
यसैगरी ललितपुरको बागडोलमा रहेको महेन्द्र भृकुटी माध्यमिक विद्यालयबाट गत वर्षको कक्षा ८ को परीक्षामा उकृष्ट अंक हासिल गर्ने सीमाकुमारी कुस्वाहा र विकल शाक्यलाई कृष्णमोहन नुडुप छात्रवृत्ति प्रदान गरिएको छ ।
श्रद्धाञ्जली समारोहमा सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीका अधिकृत जवान एवं कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानका पदाधिकारी लगायत अन्य विभिन्न क्षेत्रका महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया