कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोनाभाइरसको लक्षणलाई लिएर ब्रिटिश प्रधानमन्त्री अस्पताल भर्ना

सारांश

  • बीबीसी।
  • ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
  • आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै“ देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो।

बीबीसी। ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।

आइतवार साँझ उनलाई “लक्षणहरू उस्तै“ देखिएको र तापक्रम पनि रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो।

उनका डाक्टरको सुझावपछि यो कदम “सावधानीको रुपमा“ चालिएको बताइएको छ।

सरकारको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हालिरहेका छन् तर सोमवार बिहान हुने कोरोनाभाइरससम्बन्धी बैठकको अध्यक्षता भने विदेशमन्त्रीले गर्ने ठानिएको छ।

उपचारका लागि अस्पताल पुगेका जोनसन रातभरि अस्पताल नै बस्ने ठानिएको छ।

बीबीसीकी राजनीतिक सम्पादक लोरा कुन्सबर्गका अनुसार प्रधानमन्त्री अस्पतालमा हुने परीक्षणलाई नियमित परीक्षणका रुपमा व्याख्या गरिएको छ।

डाउनिङ्ग स्ट्रीटले निकालेको विज्ञप्तिमा भनिएको छस् “चिकित्सकको सल्लाहमा प्रधानमन्त्री आज राती परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ।“

“कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको हो।“

प्रधानमन्त्री कार्यालयकी प्रवक्ताले थपिन्स् “प्रधानमन्त्रीले राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका सबै कर्मचारीहरूलाई उनीहरूको कडा परिश्रमका लागि धन्यवाद दिएका छन् र सर्वसाधारणलाई घरभित्रै सुरक्षित बस्न सरकारले दिएको सुझाव मान्न पनि भनेका छन्।“

मार्च २७ तारिखमा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको घोषणा भएयता जोनसनले निवासमै बसेर काम गर्दै आएका थिए।

उनी पछिल्लो पटक बिहीवार डाउनिङ्ग स्ट्रीटको आफ्नो फ्ल्याटमा देखापरेका थिए।

त्यतिबेला एनएचएस र त्यहाँका मुख्य कामदारको ताली बजाएर उनले प्रशंसा पनि गरे।

उनले कोरोनाभाइरससम्बन्धी बैठकमा पनि घरमै बसेर सहभागिता जनाएका थिए।

शुक्रवार ट्वीटरमा एउटा भिडिओ पोष्ट गर्दै उनले आफूमा अझै पनि सामान्य लक्षणमात्रै देखिएको बताएका थिए।

“मेरो तापक्रम अझै पनि उस्तै छ। त्यसैले सरकारको सल्लाह अनुसार मैले अझै यो लक्षण नजाँदासम्म आफैँ एक्लिएर बस्ने कामलाई जारी राख्नुपर्छ,“ उनले भने।

“तर भाइरसलाई पराजित गर्नका लागि हामी स्पष्ट रुपमा पूरै समय काम गरिरहेका छौं।“

शनिवार उनकी प्रेमिका क्यारी सिमोन्ड्जले मुख्य लक्षणहरू सहित आफूले एक साता ओच्छ्यानमै बिताएको भनेर ट्वीट गरेकी थिइन्।

उनले आफूमा भाइरसको परिक्षण नभएको पनि बताएकी छन्।

ब्रिटिश स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई पनि कोरोनभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

महारानी एलिजावेथले कोरोनाभाइरसको महामारीविरुद्धको लडाइ यूकेले जित्ने बताएको केहीबेर पछि प्रधानमन्त्री जोनसन अस्पताल भर्ना भएको समाचार आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?