गोरखा पुगेर आफ्नो घटना सुनाउँदै नारायणकाजीले गरे बाबुरामबारे यस्तो खुलासा
सारांश
- गोरखा, १३ माघ ।
- निर्वाचनको समीक्षाको क्रममा शनिबार गोरखा आएका माओवादी नेता नारायणकाजी श्रेष्ठले एउटा घटना सुनाए ।
- आफ्नो पूर्वसहकर्मी बाबुराम भट्टराईलाई लक्षित गर्दै उनले म भित्र लुकेका सबै कथाव्यथा चाहिँ बताउन चाहन्न, एउटा घटना चाहिँ सुनाउँछु भन्दै यस्तो घटना सुनाए ।
गोरखा, १३ माघ । निर्वाचनको समीक्षाको क्रममा शनिबार गोरखा आएका माओवादी नेता नारायणकाजी श्रेष्ठले एउटा घटना सुनाए । आफ्नो पूर्वसहकर्मी बाबुराम भट्टराईलाई लक्षित गर्दै उनले म भित्र लुकेका सबै कथाव्यथा चाहिँ बताउन चाहन्न, एउटा घटना चाहिँ सुनाउँछु भन्दै यस्तो घटना सुनाए ।
उनले सुरु यसरी गरे, ‘तपाइँहरुले मलाई हिजोको दिनमा जिल्ला आउने काम कम भयो भन्नुभयो । तपाइँहरुले भन्नुभएको कुरा एक अर्थमा सही नै हो तर त्यसभित्र लुकेका सबै कथाव्यथा चाहिँ म बताउन चाहन्न’, बाबुरामका कारण आफू जिल्ला आउन नसकेको उनले स्वीकारे ।
‘म माओवादी पार्टीको उपाध्यक्ष, बाबुरामजी नि उपाध्यक्ष । एकचोटी गोरखाको माओवादी पार्टीले के निर्णय गर्यो भने जिल्ला परिषदको उद्घाटन सँधै एउटा उपाध्यक्षलाई मात्र किन गर्न लगाउने ? अर्को उपाध्यक्ष पनि हुनुहुन्छ भनेर मलाई बोलाउने निर्णय गर्यो । तर, बाबुरामजी हुलहुज्जत, जत्थाबत्था लिएर बलजफ्ती मञ्चमा पसेर ‘म भीमसेन थापा झै सेरिएर मर्न तयार छु, तर छोड्दिन’ भनेर आफैले उद्घाटन गरेर जानुभयो ।’
बाबुराम भट्टराईसँगको टकरावका कारण आफू जिल्ला कम आउने बाध्यतामा परेको उनको भनाइ थियो । ‘मेरो चिन्तन अली फरक छ । पार्टी आफ्नै हो । बेकारको छिनाझप्टी किन गर्ने ? लौ गरिखाऊ भनेर मैले छोड्दिएको हुँ’, श्रेष्ठले आफ्नो पीडा थप पोख्दै भने, ‘के के गर्न आएको जस्तो, भाग छोप्न आएको जस्तो किन गर्ने ?’ श्रेष्ठले भने ।
आफ्ना आफू पूर्वसहकर्मी बाबुराम भट्टराईका कारण जिल्लाको र आफ्नो सम्बन्ध सुमधुर हुन नसकेको खुलासा समेत श्रेष्ठले गरे । जिल्लासँग कम सम्बन्ध र सम्पर्क भएकाले पराजित भएको तर्कको जवाफ दिँदै उनले यस्तो रहस्य खोलेका हुन् ।
उनले अब भने राष्ट्रिय आवश्यकताले पनि जिल्लाको आवश्यकताले पनि गोरखाको क्रान्तिकारी वामपन्थीको नेतृत्व आफूले नै गर्नुपरेको बताए । ‘यो आम नेपाली, आम गोरखालीको आशा र आकांक्षा हो, यसमा कहिल्यै तुषारापात हुन दिन्न । अबदेखि म निक्कै घनिभूत सम्पर्कमा रहनेछु, छलफलमा रहनेछु, यसकै आधारमा काम गर्ने मेरो प्रतिवद्धता छ’, उनले भने, ‘निर्वाचनको पराजयपछि अब झन वैचारिक, राजनीतिक र सांगठिनक सुदृढीकरणका लागि तीब्र रुपमा लाग्नु पर्नेछ ।’
उनले गोरखा २ मा संगठनै नभएकाले आफूले पराजय बेहोर्नु परेको खुलाए । ‘पहिलो कुरा, गोरखा २ मा हाम्रो त संगठनै रहेनछ’ उनले जिल्ला नेतृत्वतर्फ इंगित गर्दै भने ‘वैचारिक, राजनीतिक कुरा प्रष्ट पार्न र त्यसको आधारमा संगठन निर्माण गर्न, अनुशासित पार्न, विस्तार गर्न, विकास गर्न, सुदृढ पार्न र व्यवस्थित पार्नु पहिलो आवश्यकता हो । त्यसलाई पहिलो लक्ष्य बनाएर अब निरन्तर गोरखा आउनेछु ।’
Ashok Gahatraj
Chor