सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सारांश
- सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि उत्पादित परिमाणको ठूलो हिस्सा औपचारिक बजार प्रणालीमा जोडिन नसक्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् ।
- बजार व्यवस्थापनको यही कमजोरीलाई चिर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र दुग्ध विकास बोर्डले रणनीतिक बजार विस्तार एवं उद्यमशीलता विकासको नयाँ योजना अघि सारेका छन् ।
- बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काका अनुसार प्रदेशमा वार्षिक तीन लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भर बन्दै गए पनि उत्पादित परिमाणको ठूलो हिस्सा औपचारिक बजार प्रणालीमा जोडिन नसक्दा किसान र उपभोक्ता दुवै मारमा परेका छन् । बजार व्यवस्थापनको यही कमजोरीलाई चिर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र दुग्ध विकास बोर्डले रणनीतिक बजार विस्तार एवं उद्यमशीलता विकासको नयाँ योजना अघि सारेका छन् ।
बोर्डका कार्यकारी निर्देशक श्यामसिंह खड्काका अनुसार प्रदेशमा वार्षिक तीन लाख ५६ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन भइरहेको छ । यसमध्ये कैलाली र कञ्चनपुर जिल्लाले मात्रै आधाभन्दा बढी हिस्सा ओगटेका छन् । सुदूरपश्चिममा प्रतिव्यक्ति दूधको उपलब्धता वार्षिक १३० लिटरसम्म पुगे पनि दैनिक उत्पादन हुने १० लाख लिटरमध्ये जम्मा दुई लाख लिटर मात्रै औपचारिक बजारमा आउन सकेको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष भूपेन्द्र थापाका अनुसार आधा जति दूध गाउँघरमै खपत हुने र बाँकी अनौपचारिक बजारमा जाने गरेकाले गुणस्तर परीक्षण र पारदर्शी भुक्तानी जस्ता प्रक्रिया प्रभावित भएका छन् । उत्पादन बलियो भए पनि वितरण, प्रशोधन र मूल्य अभिवृद्धिको फितलो संरचनाका कारण निर्वाहमुखी अवस्था अन्त्य हुन नसकेको विज्ञहरूको निष्कर्ष छ ।
मन्त्रालयका सचिव शङ्कर साहले दुग्ध क्षेत्रलाई व्यावसायिक लाभको स्रोत बनाउन र परम्परागत प्रणाली सुधार्न सरकारले बजारीकरण र विविधिकरणमा जोड दिएको स्पष्ट पार्नुभएको छ ।
अबका दिनमा गाउँस्तरमै दूध सङ्कलन केन्द्र स्थापना, चिस्यान पूर्वाधार विकास र उद्योग–सहकारी समन्वयमार्फत किसानलाई औपचारिक बजार शृङ्खलामा आबद्ध गरिने बोर्डले जनाएको छ । दूध उपयोग रणनीति बनाएर अघि बढ्ने सरकारी प्रतिबद्धताले सुदूरपश्चिमलाई दुग्ध उत्पादनमा मात्र नभई आर्थिक समृद्धिको मार्गमा समेत अगाडि बढाउने देखिन्छ ।
प्रतिक्रिया