पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन

सारांश

  • स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्टसको पहिलो प्रतिस्पर्धात्मक खेलमा जितसहित नयाँ यात्रा सुरु गरेका छन् ।
  • स्पेनिस क्लब रियल मड्रिडबाट गएको जुलाईमा ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले शनिबार राति भएको खेलमा इटालियन सिरी ए फुटबलमा डेब्यु गरे ।
  • पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसले किएभोलाई ३–२ ले हरायो ।

स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले नयाँ क्लब युभेन्टसको पहिलो प्रतिस्पर्धात्मक खेलमा जितसहित नयाँ यात्रा सुरु गरेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट गएको जुलाईमा ११२ मिलियन युरोमा इटालियन क्लब युभेन्टस गएका रोनाल्डोले शनिबार राति भएको खेलमा इटालियन सिरी ए फुटबलमा डेब्यु गरे ।

पहिलो खेलमा इटालियन च्याम्पियन युभेन्टसले किएभोलाई ३–२ ले हरायो । इन्जुरी समयको गोलबाट युभेन्टसले नाटकीय जित निकाल्दै नयाँ सिजनको सुरुवात गरेको हो ।तेस्रो मिनेटमा नै सामी खिदिराले गोल गर्दै युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर ३८ औँ मिनेटमा मारिउस्ज स्टेपिन्स्कीले किएभोका लागि बराबरी गोल फर्काए । ५६ औँ मिनेटमा पाएको पेनाल्टीमा इमानुएल जाकिरीले गोल गर्दै किएभोलाई अग्रता दिलाए ।

किएभोका मातिया बानीले ७५ औँ मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भयो । इन्जुरी समयको तेस्रो मिनेटमा फेडेरिको बर्नार्डेस्कीले गोल गर्दै युभेन्टसलाई जित दिलाए ।

रोनाल्डोले गोल गरे तर मान्यता पाएन

९ वर्षको रियल मड्रिड बसाईपछि युभेन्टस पाएका पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले सिरी ए मा डेब्यु गरेको खेलमा गोल गरे । तर उनको गोलले मान्यता पाएन । इन्जुरी समयमा फेडेरिकोले गोल गर्नु केही अघि मात्रै रोनाल्डोले मारिओ मान्जुकीको प्रहारमा गोल गरेका थिए ।

तर रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरको सहायतामा रिभ्यु गरे र रोनाल्डोको गोललाई मान्यता दिएनन् । रेफ्री फब्रिजिओ पास्क्वाले रोनाल्डोको गोललाई मान्यता नदिएका हुन् । रोनाल्डो किएभोका गोलरक्षक स्टेफानो सोरेन्टिनोसँग ठोक्किएकाले गोलले मान्यता नपाएको हो । ३९ वर्षका सोरेन्टिनोले ३३ वर्षका रोनाल्डोका धेरै प्रहारको सुन्दर बचाउ गरे । रोनाल्डोले युभेन्टसका लागि परम्परागत प्रि–सिजन मैत्रीपूर्ण खेलमा गोल गरेका थिए । भिलार पेरोरामा भएको खेलमा रोनाल्डोले युभेन्टस बी विरुद्ध पहिलो गोल गरेका थिए ।

४००० बासिन्दा रहेको गाउँमा रोनाल्डोको खेल हेर्नका लागि ५००० जना उपस्थित भएका थिए । किएभोमा भएको सिरी ए को पहिलो खेलमा ३९ हजार सिट नै भरिएका थिए । सामान्यतया यहाँ आधा मात्रै सिट भरिन्थे । तर रोनाल्डोको खेल हेर्नका लागि पूरै सिट भरिएका थिए । रोनाल्डोले खेलको १९ तथा २९ औँ मिनेटमा गोल गर्ने सुन्दर प्रयास गरेका थिए । किएभोमा सबैका नजर रोनाल्डोमाथि नै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?